• शनिबार, १५ बैशाख, २०८१
  • ०४:०८:०८

एसइई उत्तीर्ण विद्यार्थीलाई टेलिकमको नि:शुल्क सिम कार्ड

  • Netizen Nepal
  • बिहीबार, १२ श्रावण, २०७९- ११:३४:००/ Thursday 07-28-22

नेटिजन संवाददाता 
काठमाडौँ, १२ साउन। नेपाल टेलिकमले एसईई उत्तीर्ण विद्यार्थीहरुका लागि एसईई अफर ल्याएको छ । यसअन्तर्गत कम्पनीले निःशुल्क सिम (एसईई स्टुडेन्ट सिम) उपलब्ध गराउने भएको छ ।

उक्त सिम नेपाल टेलिकमका देशभरका कार्यालयहरुबाट निःशुल्क उपलब्ध हुने जनाइएकाे छ । विद्यार्थीसँग पहिलेदेखि नै नेपाल टेलिकमको सिम छ भने सोही सिममा यी अफरहरु उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ । नयाँ सिम प्राप्त गर्नका लागि विद्यार्थीहरुले प्रवेश पत्र वा मार्कसिटको फोटोकपी, एकप्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता वा अरु परिचय पत्रको फोटोकपी संलग्न गरी फाराम भर्नुपर्नेछ ।

सिम लिइसकेपछि उक्त अफर सुचारु गर्नको लागि *1600# डायल गरि प्राप्त निर्देशन बमोजिम रजिष्ट्रेशन गर्नुपर्नेछ।  यसअनुसार ३० दिनसम्म ३ हजार एमबी डेटा, ३०० मिनेट टकटाइम र ३०० वटा एसएमएसको सुविधा प्राप्त हुनेछ ।

यो अफर भएको नयाँ सिममा रिचार्ज बोनस समेत उपलब्ध गराईएको छ। यस प्याकमा रु. ५० वा सोभन्दा बढी रकम रिचार्ज गर्दा(६ महिनासम्म) प्रत्येक रिचार्जमा जुनसुकै समयमा पनि ५०० एमबी डेटा चलाउन, नेपाल टेलिकमकै नेटवर्कभित्र ५० मिनेट कल र ५० वटा एसएमएस पठाउन सकिने सुविधा रहेको छ। 

पुरानो सिममा पनि ३० दिनसम्म उपहार प्राप्त गर्न सक्ने सुबिधा रहेको टेलिकमले जनाएको छ। नयाँ सिम प्राप्त गरेका विद्यार्थीहरुले सिम कार्डमा मेन व्यालेन्सको रुपमा उपलब्ध हुने ९.८ रुपैयाँबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डेटा चलाउन सक्नेछन् भने यो बाहेक ४० मिनेट टक टाइम र २० वटा एसएमएस सहितको सुविधा एक महिनाभित्र नेपाल टेलिकमको नेटवर्कमा प्रयोग गर्न सक्नेछन् ।