• शनिबार, १५ बैशाख, २०८१
  • ०१:१२:४७

एङ्गोलामा भेटियो गुलाबी रङ्गको हीरा, कति पर्छ मूल्य ? 

  • Netizen Nepal
  • शुक्रबार, १३ श्रावण, २०७९- १४:५७:००/ Friday 07-29-22

नेटिजन संवाददाता 
काठमाडौँ, १३ साउन। मध्यपश्चिमी अफ्रिकाको एङ्गोलामा गुलाबी रङ्गको एउटा अतिदुर्लभ हीरा फेला परेको छ। चौतीस ग्राम तौल रहेको यो हीरा विगत ३०० वर्षमा भेटिएको त्यस खालको सबैभन्दा ठूलो हीरा भएको बताइएको छ।

लुलोस्थित खानीमा फेला परेको १७० क्यारटको यो हीरालाई "लुलो रोज" नाम दिइएको छ। यसअघि १८५ क्यारटको "दरिया-ए-नूर" फेला परेको थियो। त्यसपछि भेटिएको यो नै सबैभन्दा ठूलो हीरा भएको ठानिएको छ।

दरिया-ए-नूर एउटा ठूलो पत्थरबाट काटेर निकालिएको थियो। उक्त हीरा इरानी राजमुकुटमा भएका रत्नमध्ये पर्छ।

यो कस्तो खालको हीरा हो?

लुलो रोज "टूए" वर्गको हीरा हो। यस वर्गको हीरामा अशुद्धता हुँदैन वा निकै कम हुन्छ। "लुलोमा फेला परेको यो भव्य गुलाबी हीराले विश्वमा एङ्गोलाको महत्त्वपूर्ण स्थान रहेको देखाएको छ," एङ्गोलाका खनिज स्रोतसम्बन्धी मन्त्री डियमन्तिनो अजभेदोले भने। यो उक्त खानीमा फेला परेको पाँचौँ ठूलो हीरा हो।

यो खानी अस्ट्रेलियाको लुकापा डायमन्ड कम्पनी र एङ्गोला सरकारले संयुक्त रूपमा सञ्चालन गरेका छन्। यस प्रकारका हीरा यसअघि दशौँ लाख डलरमा विक्री भएका थिए। 

कति मूल्य पर्छ?

सन् २०१७ मा पिङ्क स्टार नामक एउटा हीरा हङ्‌कङमा लिलाम बढाबढ हुँदा सात करोड १२ लाख अमेरिकी डलरमा विक्री भएको थियो। तर रत्न विशेषज्ञ जोआना हार्डी लुलो रोज नकाटिएसम्म कति मूल्यमा विक्री हुन्छ भनेर अनुमान लगाउन नसकिने बताउँछिन्। गुलाबी हीराहरू अत्यन्तै दुर्लभ हुन्। तर यही विशेषताका कारण यसलाई आकार वा बुट्टामा ढाल्न कठिन हुने गरेको छ।

हार्डीका अनुसार यो रत्न सर्वसाधारण मानिसहरूले हेर्न पाउने सम्भावना न्यून छ । यो लिलाम बढाबढमा राखिने सम्भावना पनि कम छ। किन भने पाउनासाथ किनिहाल्ने ग्राहकको कमी छैन।

यसअघि कस्ता हीरा भेटिएका थिए?

अहिलेसम्म थाहा भएको सबैभन्दा ठूलो गुलाबी हीरा दरिया-‍ए-नूर भारतमा भेटिएको थियो। त्यो पनि ठूलो पत्थरबाट काटेर निकालिएको हुनसक्ने विज्ञहरूको धारणा छ।

अहिलेसम्म भेटिएको सबैभन्दा ठूलो कच्चा हीरा दक्षिण अफ्रिकामा सन् १९०५ मा भेटिएको कुलिनन हीरा हो। आधा किलो तौलको उक्त हीरा ३,१०७ क्यारटको थियो। त्यसलाई काटेर १०५ वटा पत्थर बनाइएको थियो। तीमध्ये सबैभन्दा ठूलो टुक्रा कुलिनन-आई विश्वमै सबैभन्दा ठूलो हीराको टुक्रा हो। त्यो यूकेको शाही खजानामा छ।