• शुक्रबार, २१ असोज, २०७९
  • ०२:३२:१७

मिटरब्याजीको दिन सकिएकै हो त ? 

देशभरका मिटरब्याज पीडितहरुलाई उजुरी गर्न सरकारको आग्रह

  • Netizen Nepal
  • शनिबार, २८ श्रावण, २०७९- १३:२२:००/ Saturday 08-13-22

नेटिजन संवाददाता 
काठमाडौँ, २८ साउन । सरकारले देशभर रहेका सबै मिटरब्याज पीडितहरुलाई उजुरी गर्न आग्रह गरेको छ । सरकारले गठन गरेको ‘मिटरब्याजी अपराध नियन्त्रणका उपायहरू सिफारिस गर्ने कार्यदल’ले शनिबार एक सूचना प्रकाशन गर्दै एक हप्ताभित्र जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन आग्रह गरेको छ ।

कार्यदलका संयोजक डा.भिष्मकुमार भुसालले एक सूचना प्रकाशन गर्दै मिटरब्याज पीडितलाई तथ्य प्रमाण सहित अगामी भदौ ५ गतेसम्म उजुरी गर्न आग्रह गर्नुभएको छ ।  

कार्यदल गठन भएको एक घण्टाभित्रै नवलपरासी पश्चिमको प्रतापपुर र सुस्ता गाउँपालिकाबाट सङ्गठित भई काठमाडौं माइतीघर मण्डला क्षेत्रमा धर्ना दिँदै आएका मिटर ब्याज तथा ठगी विरुद्ध किसान मजदुर सङ्घर्ष समितिसँग जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारी समेतको उपस्थितिमा कार्यदलले वार्ता गरेको सुचनामा उल्लेख छ ।  

मिटरब्याजीहरूले निरक्षर, गरिब तथा आर्थिक रूपले अप्ठ्यारो परिस्थितिमा रहेका व्यक्तिहरूमाथि गरेको शोषणको श्रृङ्खलाले सयौं परिवारको बिचल्ली भएका समाचारहरू सार्वजनिक भैरहेको उल्लेख गर्दै  त्यस्ता आर्थिक अपराधीहरूलाई कानूनको दायरामा ल्याई कारवाही गर्ने प्रकृया पनि चलिरहेको  बताइएको छ । 

हाल काठमाडौंको माइतीघर मण्डलामा नवलपरासीबाट आएका मिटर व्याज पीडितहरुले धर्ना दिएका थिए । नवलपरासीमा मात्र नभै तराईका अधिकांश जिल्लाहरूबाट समेत गुनासो प्राप्त भएको र देशैभरी मिटरब्याजीको जालो फैलिएको हुन सक्ने अवस्थालाई मध्यनजर गरी देशैभरका मिटरब्याज पीडित व्यक्तिहरूबाट त्यस्ता मिटरब्याजीले गरेका अपराध र शोषण विरुद्ध उजुरी मागिएको सुचनामा भनिएको छ ।