बियर पोखिँदा राजमार्ग अवरुद्ध
- Netizen Nepal
- बिहीबार, ६ असोज, २०७९- १८:२५:००/ Thursday 09-22-22
नेटिजन संवाददाता
काठमाडौँ, ६ असोज । अमेरिकाको फ्लोरिडा राज्यमा बुधवार बियर बोकेको ठूलो ट्रक पल्टँदा हजारौँ क्यान बियर पोखिएपछि एउटा राजमार्ग नै अवरुद्ध हुनपुग्यो । बियर बोकेको उक्त सेमी ट्रेलर सडकका छेउमा रहेका ट्रकहरूमा गएर ठोक्किएको थियो।
हजारौँ क्यान पोखिएपछि राजमार्गको सबै लेन बन्द भयो । फ्लोरिडाको हाइवे पेट्रोलले लिएको तस्बिरहरूमा छरपस्ट बाकस तथा क्यानहरूका कारण सडक नै पुरिएको देखिन्छ । केही घण्टापश्चात् बल्ल राजमार्ग खुलेको थियो । घटनामा केही सामान्य घाइते भएका थिए।
त्यहाँको स्थानीय सञ्चारमाध्यम ट्याम्पा बे टाइम्सका अनुसार व्यस्त राजमार्गमा दुईवटा सेमी ट्रेलर जुधेका कारण तिनलाई बुधवार बिहानै सडकको किनारामा राखिएको थियो । थप दुईवटा सेमी ट्रेलर तथा एउटा पिकअप ट्रकलाई ती गाडी तान्न त्यहीँनेर राखिएको थियो । त्यतिनै बेला बियरले भरिएको पाँचौँ सेमी ट्रेलर त्यहीँनेर आइपुग्यो ।
तीव्र गतिको उक्त गाडी समयमै रोकिन नसक्दा त्यही पार्क गरेर राखिएका गाडीमा ठोक्किन पुग्यो । बियरका साथसाथै अर्को ट्रकमा भएका कंक्रिट पनि सडकभरि पोखिएको थियो । विविसी।