• शनिबार, ६ पौष, २०८१
  • ०५:४२:४०

दशैंको चौथो दिन : कुष्माण्डादेवीको पूजा गरिदै

काठमाडौँ। बडादशैं अन्तर्गत नवरात्रीको चौथो दिन आज कुष्माण्डादेवीको पूजा गरिदै छ । यस दिन काठमाण्डौंको दक्षिणकाली, भद्रकाली, मैतीदेवी, नक्साल भगवती तथा गोरखाको मनकामना, हेटौडाको चुरियामाइ र भुटनदेवी लगायतका शक्तिपीठहरुमा पूजा गर्ने चलन छ ।


आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ताप हरिदिने भएकैले यो नामकरण भएको हो । कुष्माण्डाले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ ।

देवीको सूर्यमा वास भएपछि मात्र सूर्यको ऊर्जा पृथ्वीलोक तथा ब्रह्माण्डमा प्रसार भएको धार्मिक मान्यता छ । सूर्यको उष्ण शक्तिमा पनि विराजमान हुने शक्तिका कारण उनको नाम कूष्माण्डा रहेको मानिन्छ ।

नवग्रहमध्ये कूष्माण्डा देवीलाई सूर्यको अधिष्ठात्री देवी मानिन्छ । सिंहिनीको आसनमा कूष्माण्डा देवी विराजमान हुन्छिन् । भारतीय उपमहाद्वीपमा उनको मूर्तिमा ८ हात देखाइन्छ ।

दायाँ हातमा क्रमशः कमण्डलु, धनुष, वाद र कमलको फूल हुन्छ भने बायाँ हातमा क्रमशः अमृत कलश, जपमाला, गदा र चक्र हुन्छ । कूष्माण्डा देवीले क्षणभरमै ब्रह्माण्ड सृष्टि गर्न सक्ने शक्ति राख्छिन्, तसर्थ विशेषतः सिद्धि र निधिका लागि देवीको पूजा गरिन्छ ।

नवरात्रको पहिलो दिन असोज १७ गते बिहीबार दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरियो । दोस्रो दिन शुक्रबार पूजास्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो भने तेस्रो दिन शनिबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजाआराधना गरिएको थियो ।

दुर्गापक्ष समेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गर्ने शास्त्रीय नियम छ । यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भनिन्छ । 

नवरात्रमा देशभरका शक्तिपीठमा पूजाआराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ । काठमाडौँ उपत्यकाका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, रक्तकाली, श्वेतकाली, बिजेश्वरी, कङ्केश्वरी, कलङ्कीमाई, चामुण्डा देवी, सुन्दरीमाई, बज्रयोगिनी, इन्द्रायणीलगायत मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लाग्छ ।

यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, नाला भगवती, चण्डेश्वरी, पाल्चोक भगवती, कमलामाई, इच्छाकामना, मनकामना, गढीमाई, छिन्नमस्ता, गहवामाई, बागलुङ कालिका, विन्ध्यवासिनी, तालबाराही, शैलेश्वरी, उग्रतारा, बागेश्वरीलगायत शक्तिपीठमा पनि भक्तजनको घुइँचो लाग्छ ।

नवरात्रको पहिलो दिन असोज १७ गते बिहीबार दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरियो । दोस्रो दिन शुक्रबार पूजास्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो भने तेस्रो दिन शनिबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजाआराधना गरिएको थियो ।