• शनिबार, १५ बैशाख, २०८१
  • ०७:४७:०५

मुटु रोगको जोखिम बढ्दै

  • Netizen Nepal
  • शुक्रबार, १४ असोज, २०७९- ०७:३५:००/ Friday 09-30-22

नेटिजन संवाददाता 

काठमाडौँ, १४ असोज। जीवनशैलीमा आएको परिवर्तनसँगै मुटु रोगको जोखिम बढ्दै गएको छ । अस्वस्थकर जीवनशैलीका कारण कोलेस्टेरोल, उच्च रक्तचाप, मधुमेहलगायतका समस्या हुने गरेका छन् । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले अस्वस्थकर जीवनशैलीका कारण मुटु रोगी बढेको बताउनुभयो । उहाँले मानिसमा कोलेस्टेरोलको समस्या बढ्दै गएको भन्दै कोलेस्टेरोल बढ्दै जाँदा त्यसले विस्तारै मुटुमा समस्या ल्याउने बताउनुभयो । मानिस स्वस्थ छ भने पनि वर्षमा एक पटक मुटु परीक्षण गराउन सुझाव दिँदै डा. रेग्मीले उच्च कोलेस्टेरोलबाट बच्न सके मुटु रोग लाग्नबाट बच्न सकिने बताउनुभयो । 

उहाँले मुटु रोगबाट बच्नका लागि नियमित शारीरिक अभ्यास गर्ने, बिहानको समयमा हिँड्ने र पसिना निकाल्ने गर्दा मुटु रोगबाट बच्न सकिने बताउनुभयो । डा. रेग्मीले धूमपान, मदिरा सेवन, जङ्क फुडलगायतबाट टाढै रहन आग्रह गर्नुभयो । 

विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा कुल जनसङ्ख्याको २५ प्रतिशतलाई कुनै न कुनै किसिमको मुटु रोग रहेको छ । सङ्गठनका अनुसार करिब ३० प्रतिशत वयस्कलाई उच्च रक्तचाप, २५ प्रतिशतलाई कोलेस्टेरोल, १० प्रतिशतलाई मधुमेह र एक प्रतिशत बालबालिकालाई बाथ मुटु रोगको समस्या रहेको छ । यस्तै ९० प्रतिशत नेपालीले मुटुमैत्री खाना नखाने, ५० प्रतिशत सहरियाले आवश्यक व्यायाम नगर्ने र ४० प्रतिशतले सुर्तीजन्य पदार्थको प्रयोग गर्ने उल्लेख छ । बर्सेनि करिब एक हजार बालबालिकाको बाथ मुटु रोगका कारण मृत्यु हुने गरेको छ । मुटु रोग विशेषज्ञ डा. अनिल भट्टराईले नेपालमा मुटु रोगी बढ्दै जानुको प्रमुख कारण अस्वस्थकर जीवनशैली रहेको बताउनुभयो । 

खानेकुरामा अत्यधिक चिल्लो, गुलियो र नुनको मात्रा बढ्नु तथा हरियो सागपात, फलफूल कम खानुले मुटु रोगीको सङ्ख्या बढ्दै गएको उहाँको भनाइ छ । 

विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा बर्सेनि एक करोड ८० लाख मानिसको मृत्यु मुटु रोगका कारण हुने गरेको छ । तीमध्ये विकासोन्मुख राष्ट्रमा मुटु रोगबाट मर्नेको सङ्ख्या ८० प्रतिशतभन्दा बढी छ । सङ्गठनका अनुसार सन् २०३० सम्ममा मुटु रोगबाट विश्वभर मर्नेको सङ्ख्या बर्सेनि दुई करोड ५० लाख पुग्ने अनुमान छ । विकासोन्मुख राष्ट्रमा हृदयाघातका कारण मृत्यु हुनेको सङ्ख्या २५ प्रतिशत रहेको छ । सन् २०३० सम्ममा यो सङ्ख्या बढेर ३५ प्रतिशत पुग्ने अनुमान गरिएको छ । 

स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले सरकारले विपन्न, बालबालिका तथा ज्येष्ठ नागरिकको उपचारमा ठूलो लगानी गरेको बताउँदै रोग लाग्न नदिनतर्फ ध्यान जानुपर्ने सुझाव दिनुभयो । गोरखापत्र दैनिक