• आइतबार, ११ मङ्सिर, २०७९
  • १०:१६:४०

व्यावसायिक पशुपालनमा मधेश प्रदेश पछाडि

  • Netizen Nepal
  • शुक्रबार, २ मङ्सिर, २०७९- १७:५८:००/ Friday 11-18-22

राजाराम कार्की
काठमाडौँ, २३ कात्तिक । नेपाली किसान थारा गाई पालनबाट सोचे जति दुःखी देखिँदैनन् । उनीहरुका लागि थारागाई पालन बाध्यता होइन रहर बनेको छ । गाई नेपालको राष्ट्रिय जनावर हो । राष्ट्रिय जनावर संरक्षण गर्नुलाई आम किसानले रहर सम्झेका छन् । आम नेपालीले गाईलाई लक्ष्मीको अवतारका रुपमा पुज्ने गर्छन् । त्यसैले, दूध दिन छोडेका बुढा एवं थारागाई पालनबाट किसानले यहाँ प्राङगारिक मल उत्पादन गर्ने गरेका छन् ।   

दूधालु गाईपालन भन्दा थारा गाईको सङ्ख्या ३७ प्रतिशत अर्थात नौ हजार एक सय चार छ ।  देशभर दूधालु गाईको सङ्ख्या ६३ प्रतिशत अर्थात् १५ हजार तीन सय आठ छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले पछिल्लो पटक सार्वजनिक गरेको तथ्याङ्कमा देशभर छ हजार चार सय ८६ व्यावसायिक पशुपालन फार्म छन् । जसमध्ये एकहजार दुई सय ३३ गाई, नौ सय १४ भैँसी, ४३ राँगा, दुई हजार दुई सय ९५ बाख्रा तथा च्याङ्ग्रा, पाँच सय ७२ भेडापालन व्यावसायिक रुपमा सञ्चालनमा छन् । 
    
सङ्ख्याका हिसाबले उल्लेख्य मात्रामा फार्म सञ्चालनमा आए पनि नेपाल भने अझै दूध तथा दूग्धजन्य पदार्थ एवं मासुमा आत्मनिर्भर हुनसकेको छैन । नेपालमा सबैभन्दा धेरै राँगा भैँसीको मासु खपत हुने गरेको छ । 

नेपाललाई वार्षिक तीन लाख लिटर दूध अपुग रहेको छ भने मासुमा राँगाभैँसीको मासु खपत ६० प्रतिशत हुन्छ । सबैभन्दा धेरै राँगाभैँसीको मासु उपत्यकामा खपत हुन्छ । तथ्याङ्कमा एक सय १८ मासु प्रयोजनका लागि र तीन सय ६४ पाठापाठी उत्पादनका लगि सुङ्गुरपालन फार्म सञ्चालनमा छन् । 

गाईभैँंसी (मिश्रित) फार्म चार सय ८३ भेडाच्याङ्ग्रा र बाख्रा (मिश्रित) एक सय ९८ र अन्य मिश्रित दुई सय ६५ फार्म छन् । व्यावसायिक पशुपालनमा प्रदेश नं १ मा सबैभन्दा धेरै एक हजार दुई सय ७० र सबैभन्दा कम मधेश–प्रदेशमा चार सय चार पशुपालन फार्म छन् । 

कृषि तथा पशुपक्षी विकास मन्त्रालय, विश्व खाद्य तथा कृषि सङ्गठन र केन्द्रीय तथ्याङ्क विभागको संयुक्त प्रयासमा तयार गरी सार्वजनिक गरिएको तथ्याङ्कमा जम्मा ४४ हजार आठ सय ७३ गाईगोरु व्यावसायिक पालन गरिएकोमा उन्नत गाईगोरुको सङ्ख्या ३३ हजार सात सय ५७ छ । 

तथ्याङ्कमा सबैभन्दा उन्नत गाईगोरु बागमती प्रदेशमा नौ हजार तीन सय ६४ र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा दुई हजार दुई सय ७४ छन् । त्यसैगरी देशैभर कूल ३४ हजार छ सय ५३ राँगाभैँसी व्यवसायिक रुपमा पालिएका छन् । जसमध्ये उन्नत जातका राँगाभैँसीको सङ्ख्या २४ हजार चार सय ४७ छन् । सबैभन्दा बढी गण्डकी प्रदेशमा ११ हजार चार सय ६९ र सबैभन्दा कम सूदुरपश्चिम प्रदेशमा एक हजार छ सय ३० छन् । 

त्यसैगरी एक लाख ५० हजार पाँच सय ६८ बाख्रा व्यवसायिक रुपले पालन गरिएको छ । जसमध्ये उन्नत जातका बाख्राको सङ्ख्य ६७ हजार ६७ छ । उन्नत जातका बाख्रामा बोर जातका बाख्रा सबैभन्दा धेरै ३१ हजार छ सय ३७ र जमुनापारी जातका २३ हजार छ सय ६३ बाख्रा व्यावसायकि रुपमा पालन गरिएको छ । सबैभन्दा धेरै बाख्रापालन प्रदेश नं १ मा ३३ हजार दुई सय १३ र सबैभन्दा कम मधेश प्रदेशमा छ हजार पाँच सय दुई रहेको उल्लेख छ । 

नेपालमा व्यावसायिक च्याङ्ग्रापालनको सङ्ख्या ३१ हजार सात सय ८१ र भेडा ८८ हजार चार सय २१ छ । सबैभन्दा धेरै बरुवालजातको भेडा १३ हजार तीन सय ३४ र सबैभन्दा कम छ हजार दुई सय ४८ कागे जातका छन् । सबैभन्दा धेरै भेडा तथा च्याङग्रा ३४ हजार नौ सय ७५ कर्णाली प्रदेशमा र सबैभन्दा कम मधेश प्रदेशमा तीन सय ९५ वटा पालन गरिएको छ । 

नेपालमा व्यावसायिक सुङ्गुरपालनको सङ्ख्या ३८ हजार तीन सय छ छ । सबैभन्दा धेरै सुङ्गुरपालन प्रदेश नं १ मा १६ हजार आठ सय ८४ र सबैभन्दा कम मधेश प्रदेशमा पाँच सय २८ पालन गरिएको छ । दूधालु गाई १५ हजार तीन सय ८० वटाबाट दूध दिने अवधिसम्म चार करोड ५८ लाख तीन हजार चार ५७ लिटर दूध उत्उपादन हुने गरेको छ । 

सबैभन्दा धेरै दूध बागमती प्रदेशमा एक करोड ३५ लाख ९८ हजार पाँच सय १० लिटर दूध उत्पादन हुन्छ । स्थानीय जातका गाईले सरदर नौ महिना र उन्नत जातका गाईले दश महिना दूध दिने गरेको तथ्याङ्कमा उल्लेख छ । प्रति गाई दिन सरदर १० लिटर दूध उत्पादन हुने गरको छ । नेपालमा व्यावसायिक भैँसी फार्मबाट ८३ लाख ८८ हजार एक सय ८३ लिटर दूध उत्पादन हुने गरेको छ । नेपालमा भैँसीको दूध उत्पादन गण्डकी प्रदेशमा धेरै हुने गरेको छ । भैँसीले सरदर नौ महिनासम्म दूध दिने गरेको तथ्याङ्कमा उल्लेख छ ।