• सोमबार, २३ माघ, २०७९
  • ०२:४४:१३

पराजय बेहोरेका चर्चित उमेद्वारहरु 

  • Netizen Nepal
  • शनिबार, १० मङ्सिर, २०७९- १३:३१:००/ Saturday 11-26-22

नेटिजन संवाददाता 
काठमाडौँ, १० मङ्सिर । देशभर आमनिर्वाचनको मतगणना जारि रहंदा अधिकांश क्षेत्रको नतिजा पनि सार्वजनिक भइसकेको छ । यसपालीको निर्वाचनको नतिजा अघिल्लो पटक भन्दा फरक किसिमको पनि भयो । पुराना अनुहारलाई भन्दा मतदाताले नयाँ अनुहारलाई बढी रुचाएको पाइयो । जसले गर्दा नाम चलेका उमेद्वारहरुले पनि स्वतन्त्रलगायतका दलका उमेद्वारहरुसंग पराजय भोग्नुपर्यो ।    

शुक्रबार सम्पन्न मत गणनाको नतिजाबमोजिम सहमहामन्त्रीद्वय उमाकान्त चौधरी र भीष्मराज आङ्देम्बे पराजित हुनुभएको छ। यसअघि बिहीबारको नतिजाबमोजिम कांग्रेसकै सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) पराजित हुनुभएको थियो। नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेल हुँदै उपमहासचिव प्रदीप ज्ञवाली पराजित हुनुभएको छ। 

निर्वाचन आयोगको पछिल्लो मत परिणामबमोजिम कांग्रेसका सहमहामन्त्री चौधरी बारा १ मा पराजित हुनुभएको छ। २०५६ सालको आमनिर्वाचनमा बारा १ बाट जित हात पारेर संसदीय राजनीतिमा प्रवेश गर्नुभएका चौधरीलाई यस पटक सोही निर्वाचन क्षेत्रबाट एमालेका अच्युत मैनालीले पराजित गर्नुभएको  छ। मैनालीले ३९ हजार ९९५ मत पाउँदा चौधरीले ३० हजार ५६ मत ल्याउनुभयो। बहालवाला खानेपानी मन्त्रीसमेत रहनुभएका चौधरीले २०७४ सालको आमनिर्वाचनमा बारा १ मै मैनालीलाई हराउनुभएको थियो। 

कांग्रेसकै अर्का सहमहामन्त्री भीष्मराज आङ्देम्बे पाँचथर १ बाट झिनो मतको अन्तरले हार बेहोर्नुभएको छ। आङ्देम्बेले ३२ हजार ६३ मत पाउँदा एमालेका वसन्त नेम्वाङले ३२ हजार ११० मत पाउनुभयो। 

जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी नेपाली कांग्रेसका विनोद चौधरीसँग पराजित हुनुभएको छ। २०४८ सालको आमनिर्वाचनमा नवलपरासी–३ मा नेपाल सद्भावना पार्टीको उम्मेदवार भई पहिलो पटक जित हात पारेर संसदीय राजनीति सुरु गर्नुभएका त्रिपाठीले पाँच पटक जनप्रतिनिधि निर्वाचित हुनुभएको थियो। २०७० सालबाहेकका हरेक निर्वाचन जित्नुभएका त्रिपाठीले २०७९ सालमा दोस्रो हार बेहोर्नुभएको हो। त्रिपाठीले २२ हजार ३०८ मत ल्याउँदा निर्वाचित हुनुभएका चौधरीले २९ हजार ४९५ मत पाउनुभयो। 

एमालेका उपमहासचिव ज्ञवालीले हार बेहोर्नुभएको छ। उहाँलाई कांग्रेसका नेता चन्द्रकान्त भण्डारीले गुल्मी २ मा पराजित गर्नुभएको छ। २०७४ सालमा सोही क्षेत्रमा भण्डारीलाई हराउनुभएका ज्ञवालीले दोस्रो पटक हार बेहोर्नुभएको छ। ज्ञवालीले ३२ हजार १५२ मत ल्याउँदा प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएका भण्डारीले ३३ हजार ७४४ मत पाउनुभयो। प्रदेश १ का पहिलो मुख्यमन्त्री एवं एमालेका नेता शेरधन राईले भोजपुर १ मा हार बेहोर्नुभएको छ। उहाँलाई माओवादी केन्द्रका सुदन किराँतीले पराजित गर्नुभएको हो। किराँतीले २८ हजार ५८८ मत पाउँदा राईले २६ हजार १९३ मत पाउनुभयो। 

एमालेकै अर्का चर्चित नेता लालबाबु पण्डित पराजित हुनुभएको छ। उहाँलाई नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मोरङ ६ मा पराजित गर्नुभएको छ। पण्डितले यसअघि सोही क्षेत्रमा कोइरालालाई पराजित गर्नुभएको थियो। निर्वाचनको पूर्वसन्ध्यामा लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरी एमालेमा आबद्ध भएर चर्चामा आउनुभएका उमाशङ्कर अरगरिया धनुषा २ बाट पराजित हुनुभएको छ। उहाँलाई कांग्रेसका रामकृष्ण यादवले पराजित गर्नुभयो। यादवले २० हजार ११२ मत पाउँदा अरगरियाले १९ हजार ९५५ मत ल्याउनुभयो। यसअघि अरगरिया सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो। 

लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिलकुमार झा पराजित हुनुभएको छ। उहाँलाई एमालेकी जुली महतोले धनुषा ३ मा पराजित गर्नुभएको छ। महतोले ३३ हजार ३५५ मत ल्याउँदा झाले २३ हजार ६८६ मत पाउनुभयो।

त्यस्तै एकिकृत समाजवादी पार्टीकि नेता रामकुमारी झाँकी पनि गुल्मी -२ बाट पराजित हुनुभएको छ ।  शहरी विकासमन्त्री भइसक्नुभएकी झाक्रीलाई पुर्वसहकर्मी गोकर्ण विष्टले पराजित गर्नुभएको हो ।  

त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, खानेपानी मन्त्री उमाकान्त चौधरी, युवा तथा खेलकूद मन्त्री महेश्वरराज गहतराज, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठ र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ निर्वाचनमा पराजित हुनुभएको छ । नेकपा माओवादीका महासचिव देव गुरुङ, राप्रपा नेपालका कमल थापा, एकिकृत समाजवादीका नेता विरोध खतिवडा, सुरेन्द्र पाण्डे, घनश्याम भुषाललगायतले पराजय बेहोरेका छन् ।