• बुधबार, १२ बैशाख, २०८१
  • १२:४३:०२

बौद्धिक चोरी रोक्न त्रिविको डिजिटल डण्डा !

गीता अधिकारी 
काठमाडौँ, ३ फागुन । पछिल्लो समयमा बौद्धिक चोरीको बिगबिगी बढेर गएको छ । खासगरी विश्वविद्यालयमा बुझाउँनुपर्ने शोधपत्रको चोरी अत्यधिक रुपमा बढ्दै गएको छ । त्रिभुवन विश्वविद्यालयले शैक्षिक उपाधि प्राप्तिका लागि विद्यार्थीहरुले तयार गर्ने यस्ता शोधपत्र तथा अनुसन्धान लेखहरुमा बढ्दै गएको बौद्धिक चोरी नियन्त्रणका लागिन याँप्रविधिको सुरुवात गरेको छ । अमेरिकन ट्रनिटिन सफ्टवेर नामक प्रविधिमार्फत शोधपत्र तथा अनुसन्धानमा कति हिस्सा नक्कल गरेको छ भन्ने तथ्य यो प्रविधिमार्फत सजिलै पत्तालगाउन सकिने विश्वविद्यालयले जनाएको छ । 

गतवर्षदेखि त्रिविमा भित्रिएको उक्त प्रविधि त्रि.वि केन्द्रिय पुस्तकालय मार्फत संचालन गरिएको छ । यसबाट कुन लाईनमा कति प्रतिशतसम्म चोरी गरिएको हो भन्नेसमेत जानकारी पाउन सकिन्छ । गुगल या अन्य स्रोतहरुबाट नक्कल गरिएका विषयवस्तुलाई सिस्टमले रातो, निलो र हरियो रंगमा देखाउँछ । 

विद्यार्थीको संख्या बढि हुनु र नियन्त्रण संयन्त्र प्रभावकारी नभएका कारण त्रि.विमा यस्ता खाले गतिविधि बढ्दै गएकोत्रि.वि केन्द्रिय पुस्तकालय प्रमुख पूर्णलाल श्रेष्ठ बताउनुहुन्छ । 

के हो बौद्धिक चोरी पत्ता लगाउँने सफ्टवेर ?

विश्वविद्यालयले अखबार, सोधपत्र, अनुसन्धान लेखलगायतका वौद्धिक चोरी नियन्त्रण गर्न ‘ट्रनिटिन सफ्टवेर’ को प्रयोग गरेको जनाएको छ । उक्त सफ्टवेरले कुन भागमा कसले कति नक्कल गरेको छ भन्ने सजिलै पत्ता लगाउन सक्छ । विश्वविद्यालयले औसत २० प्रतिशतसम्म नक्कल गरिएका सोधपत्र, अनुसन्धानपत्रहरुलाई  स्वीकार गर्छ । त्यसभन्दा बढि हिस्सा चोरी भएको पाइए अस्वीकार गर्छ र फेरी सुधार गरेर ल्याउँन भन्छ । 

तर विभिन्न अध्याय र शीर्षकमा फरक फरक मापदण्ड तोकिएको छ । जस्तो कि परिचय, साहित्य समीक्षामा २५ प्रतिशतभन्दा कम नक्कल भएमा त्यसलाई चोरी गरेको मानिंदैन । त्यस्तै सारांस, सिफारिस, खोज र निष्कर्षमा १० प्रतिशतभन्दा कमलाई मात्र मान्यता दिईन्छ । समान नक्कल गरिएका १० प्रतिशतसम्म सोधपत्रलाई सफ्टवेरले अनुमोदन गर्छ भने त्यसभन्दा बढी भेटिए उक्त सोधपत्र सिस्टमले स्विकार गर्दैन र पुन: सच्याउनुपर्ने हुन्छ। 
 

कहाँ कहाँ लागु छ यो सिस्टम ?

शोधपत्रमा हुने गरेका वौद्धिक चोरी नियन्त्रण गर्न केन्द्रिय पुस्तकालयलाई संचालन जिम्मेवारी दिइए पनि त्रिविले ६ हजार युजर आइडी बनाएको छ । त्यसमध्ये १० ओटा युजर आइडी डिन अफिसलाई, ५ ओटा अनुसन्धान केन्द्रलाई, ४२ ओटा केन्द्रियविभागलाई  र त्रिविका ६२ वटा आंगिक क्याम्पसहरुलाई ५-५ वटा युजर आइडी दिएको छ । 

केन्द्रिय पुस्तकालयबाहेक काठमाडौँ युनिभर्सिटीले सफ्टवेरमार्फत परिक्षण गर्न थालेको छ भने अन्य विश्वविद्यालयमा उक्त सिस्टम लागु भएको छैन । त्रिवि केन्द्रिय पुस्तकालयले असाइनमेन्ट, सोधपत्र, अखबार, अनुसन्धानपत्र लगायत सबै सिस्टममार्फत परिक्षण गर्दै आइरहेको छ । ट्रनिटिन मार्फत विद्यार्थीको कागजात परिक्षण गर्ने सिस्टम आएपछि विद्यार्थीमा चोरी गर्ने प्रवृत्ति हटेर जाने श्रेष्ठ बताउनुहुन्छ । तर, बौद्धिक चोरीलाई नियन्त्रण गर्न अन्य विश्वविद्यालयहरुले  यस प्रतितदारुकता देखाउँनुपर्ने श्रेष्ठको भनाइ छ । 

शुल्क कति लाग्छ ?

यो सिस्टम एमफिल र पिएचडीका सबै संकायमा लागु गरिएको छ। स्नातकोत्तर तहका भने इन्जिनियरिङ, चिकित्सा विज्ञान र व्यवस्थापन संकायमा लागु भएको छ । मानविकी तथा सामाजिक संकायमा पनि छिट्टै लागु गरिने तयारी भईरहेको प्रमुख श्रेष्ठ बताउनुहुन्छ  ।

सोधपत्र जाँच गराएवापत विद्यार्थीले शुल्क तिर्नुपर्ने हुन्छ । विद्यार्थीमा एउटा प्रणाली विकास होस् भन्नकालागिपनिशुल्कलिने गरिएको प्रमुखश्रेष्ठको भनाइ छ। जसमा एमफिल, पिएचडीका टर्मपेपरका लागि ५०० रुपैंया, स्नातकोत्तरको शोधपत्रका लागि १००० रुपैंया, एमफिलको शोधपत्रका लागि २००० रुपैंया, विद्यावारिधि शोधपत्रको लागि २५०० रुपैंया र अन्य अनुसन्धानपत्रको लागि २००० रुपैंया तोकिएको छ । विद्यार्थीले जतिपटक सोधपत्र बुझायो त्यति नै पटक त्रिविले तोकेको अनुसारको रकम तिर्नुपर्ने हुन्छ । 

अन्य वाहिरी देशहरुमा भने सोधपत्र परिक्षण निःशुल्क छ । हाल सफ्टवेर मार्फत शोधपत्र जाँच गरिरहेको त्रि.विले छिट्टै थेसिस स्क्यानर मेसिनसमेत ल्याउने योजना बनाएको छ । 

चोरी नियन्त्रण कसरी गर्ने ?

त्रिवि केन्द्रिय पुस्तकालयले वौद्धिक चोरी नियन्त्रणका लागि थालेको यो कदम तारिफयोग्य रहेको प्रा डा विद्यानाथ कोइराला बताउनुहुन्छ । यद्यपी सफ्टवेर मात्र सबैथोक नरहेको उहाँको धारणा छ । उहाँ भन्नुहुन्छ ‘शोधपत्र तथा अनुसन्धानपत्रमा हुने गरेका चोरीलाई रोक्न विद्यार्थीहरुलाई सकेसम्म आफ्नै बिषयमा लेख्न दिन सकिन्छ।’ जस्तो कुनै कृषिकार्यमा संलग्न विद्यार्थी छ भने उसलाई इच्छ्याएको बिषयमा लेख्न दियो भने उसले आफ्नो लेखाईलाई मौलिक रुप दिन सक्छ । यसले अरुको चोरी राख्नुपर्ने अवस्था नआउने कोइराला बताउनुहुन्छ । 

‘विद्यार्थीहरुले कुन बिषयमा के लेख्ने भन्ने नै थाहा नपाएर पनि चोरी गर्ने गरेका छन् । साहित्य समिक्षा, व्याख्या तथा उद्धरणहरुमा उनिहरु बढी झुक्किने गरेका छन् । त्यसकारण विद्यार्थीहरुलाई राम्रोसँग बिषयवस्तु र नमुनाका बारेमा बुझाएको खण्डमा पनि चोरी केहि हदसम्म नियन्त्रण हुन सक्छ’, उहाँले भन्नुभयो । बौद्धिक चोरी हुनुमा विद्यार्थी मात्र नभई शिक्षकको समेत कमिकमजोरी हुन सक्ने प्रा डा कोइराला बताउनुहुन्छ । 
‘यसका अलावा विद्यार्थीलाई चोरी फेला परेको खण्डमा डिग्री नै खेर जान सक्ने जानकारी पनि गराउनु आवश्यक छ’, कोइराला थप्नुहुन्छ, ‘विद्यार्थीलाई आफ्नो अगाडी राखेर आफुले बोलेका कुराहरु लेख्न लगाउनाले पनि विद्यार्थी कतिको क्षमतावान छ भन्ने बुझ्न सकिन्छ । उसको लेखाइबाट नै चोरेको छ कि आफै लेखेको छ भन्ने थाहा हुन्छ।’

बौद्धिक चोरी नियन्त्रणका लागि त्रिविले थालेको यो प्रविधि समय सान्दर्भिक र परिणाममुखी भएको मनोविद तथा त्रिविका प्राध्यापक खेमराज भट्ट बताउनुहुन्छ । ‘त्रिविले सुरु गरेको प्रविधिमार्फत विद्यार्थीले जानी जानी गर्ने चोरी नियन्त्रणका लागि मदत पुग्छ । तर नेपाल जस्तो मुलुकमा कुन माध्यम या कसरी परिक्षण गरिन्छ भन्दा पनि बौद्धिक चोरीलाई कसरी न्यूनीकरण गर्ने भनेर अन्य कदमहरु चाल्दा अझै प्रभावकारी हुने देखिन्छ’, उहाँले भन्नुभयो । साथै विद्यार्थीमा चेतना या आफैंमा जागरण आउन जरुरी छ । यसका साथै, ब्याचलरदेखि नै लेखाई तथा सिकाइको विकास गर्नाने पनि मास्टर्सको अध्ययनमा सोधपत्र तथा लेख सामाग्रीहरु तयार पार्न विद्यार्थीलाई सहज हुन्छ र चोरी गर्नुपर्ने जरुरत नै नहुने उहाँ बताउनुहुन्छ । 

वेबसाइटमा सोधपत्र

नेपाल भित्र भएका बौद्धिक सम्पतिहरुलाई पनि डिजिटलाईज गर्नुपर्ने र पुस्तक या अन्य सन्दर्भ सामग्री अनलाईनमा खोजेको बेला भेटिनुपर्ने आवाज उठ्दै गएको अवस्थामा त्रिभुवन विश्वविद्यालयले डिजिटल पुस्तकालयका रुपमा विकास गरिरहेको छ । त्यसका लागि एमफिल र पिएचडीका शोधपत्रहरुलाई निरन्तर आधुनिकिकरण गरिएको केन्द्रिय पुस्तकालय प्रमुख श्रेष्ठले बताउनुभयो । पछिल्लो २ वर्षमा पुस्तकालयले ५० लाख ६ हजार ४५० थेसिस अनलाईनमा अपलोड गरिसकेको र पुस्तकालयमा गएर सोधपत्र हेरिरख्नु पर्ने प्रवृत्तिको समेत अन्त्य भएको उहाँले बताउनुभयो । 

त्रिभुवन विश्वविद्यालय केन्द्रिय पुस्तकालयमा ’ट्रनिटिन सफ्टवेर’ को अवधारणा आउनु अघि विद्यार्थीहरुले सिडी किनेर लैजानु पर्ने तथा पुस्तकालयले इमेल गरिराख्नुपर्ने झन्झटको पनि अन्त्य भएको छ। विद्यार्थीले पुस्तकालयबाट सोधपत्र लगेवापत ५० रुपैंया तिर्ने गरेको त्रिवि प्रमुख पूर्णलाल श्रेष्ठले बताउनुभयो। यस सिस्टमले पैसासंगै विद्यार्थीको समयको पनि बचत भएको छ । अनलाइनबाट निशुल्क सोधपत्र हेर्न पाईने भएपपछि पुस्तकालय धाईरख्नु पर्ने अवस्थाको पनि अन्त्य भएको छ । 

सुरुमा सबैभन्दा बढी वैद्धिक चोरी हुने एमफिल पिएचडीका सोधपत्रहरु अपलोड गरिएको र पछि मास्टर्सको पनि गरिने श्रेष्ठले बताउनुभयो । नेपालभर त्रिविका ६२ वटा आंगिक कलेजहरु छन । उनीहरुलाई पनि डिजिटल रुपमा अगाडी बढाउन त्रिविका विभिन्न निकायमा रहेका पुस्तकालयका आइटी विज्ञहरुलाई तालिम पनि दिइएको छ । तालिमको उदेश्य देशका विभिन्न कलेजका सोधपत्रहरु वेबसाइटमा अपलोड गर्नु हो । 

त्रिविको वेबसाइटमा अहिले ५ करोडभन्दा बढी अन्लाईन स्रोतहरु छन् भने केन्द्रिय पुस्तकालयका वेबसाइटमा ४ लाख ३० हजार किताब छन ।