• शनिबार, ६ पौष, २०८१
  • ०६:०६:३४

प्लाष्टिकको फोहोरबाट विदेशी मुद्रा आर्जनको ढोका खोल्दै 'ग्रीन रोड'  

ओमप्रकाश घिमिरे  
पोखरा।  पोखरा महानगरपालिका वडा नं १२ माटेपानीस्थित वडा कार्यालय परिसरसंग जोडिएको पश्चिमपट्टिीको सडकबाट यात्रा गर्नुभएको छ भने तपाईंले पक्कै पनि प्लास्टिकले पिच गरिएको सडक हुँदै यात्रा गर्नुभयो । सुन्दा अचम्म लाग्न सक्छ, करिब ७० मिटर सडक पुनः प्रयोग गर्न नसकिने खालका खेर गएको प्लास्टिक सङ्कलन गरेर कालोपत्रे गरिएको हो ।  झट्ट हेर्दा अन्य ठाउँका सडकजस्तै देखिने यो सडक स्थानीय युवाहरुले चलाएको प्लास्टिकको फोहोर व्यवस्थापन अभियानअन्तर्गत सङ्कलन गरिएको पुनः प्रयोग गर्न नमिल्ने प्लास्टिक जस्तै चाउचाउको खोल, खाना तथा उपहार र्यापर, लेज, गुठ्काका खोल आदी जस्ता प्लास्टिकबाट बनाइएको छ ।


नेपालमा पहिलो पटक प्रयोग गरिएको आस्फाल्ट प्रविधिबाट बनाइएको यो सडक हेर्न आजभोली वातावरणविद्, सडक प्राविधिक, फोहोर व्यवस्थापनमा काम गर्नेदेखि विकासकर्मीहरुसमेत आउन थालेका छन् । यसका अभियन्ता मेकानिकल इन्जिनीयर विमल बाँस्तोला उनीहरुलाई यो नयाँ प्रविधिको बारेमा जानकारी दिन व्यस्त देखिन्छन् ।    

वास्तवमा समस्याले नविनताको श्रृजना पनि गर्छ भने झैं यात्राका क्रममा एकदिन खाल्डाखुल्डी परेको सडकमा बाइक दुर्घटना भएपछि बिमल बाँस्तोलालाई यो सोच फुरेको हो । राजधानी काठमाडौंबाट प्रकाशित एक राष्ट्रिय दैनिक पत्रिकामा छापिएको एउटा लेख पढेर प्लास्टिकको फोहोर व्यवस्थापनबाट सडक कालोपत्रे गर्न सकिने प्रविधिसम्बन्धी जानकारी मिल्यो उनलाई । पत्रिबाट केहि  जानकारी पाएका आधारमा उनी यसको थप तालिम लिनका लागि आफ्नै खर्चमा एक जना सिभिल इन्जिनीयरसहित भुटान गए । त्यहाँ १० दिनको तालिम लिएर स्वदेश फर्किएपछि प्लास्टिक सङ्कलन गरेर सडक कालोपत्रे गर्ने प्रविधिको शुरुवातमा जुटे । उनको यही लगाव, अध्ययन र साधनाको परिणाम हो पोखरा महानगरपालिका–१२ मा बिटुमिनको विकल्पमा प्लास्टिक प्रयोग गरेर कालोपत्रे गरिएको सडक ।

यो प्रविधिलाई अभियानका रुपमा संगठित रुले अघि बढाउन बिमलले साथीहरुको समूह बनाएर  ग्रीन रोड वेष्ट म्यानेजमेन्ट नामक संस्थाबाट काम गर्न थाले। विमल बाँस्तोला संगै  विमल बसेल, सञ्जीव बास्तोला  ग्रीन रोड वेष्ट म्यानेजमेन्ट संस्था  स्थापनामा जोडी।  त्यस्तै  कम्पनीमा प्राविधिक साझेदारका रुपमा  इन्जिनियरद्वय राजीव सुवेदी र रिकेश गुरुङ पनि जोडिएका छन् । यसरी साथीहरुको समूह बनेपछि उनीहरु प्लास्टिक जन्य फोहोर व्यवस्थापनको नयाँ प्रबिधिको परिक्षण तथा विकासमा लागेको र  यो समूहले अहिले खासगरी शहरी क्षेत्रको प्लास्टिकजन्य फोहोर व्यवस्थापनका नविन प्रविधिहरुमा काम गरिरहेको बिमल बास्तोलाले बताए । 

 ग्रीन रोड मार्फत अहिले प्लास्टिकजन्य फोहोरको व्यवस्थापन गरी सडक पिच गर्ने, इट्टा बनाउँने लगायत फोहोरको लेखाजोखा गर्ने काम  गरिरहेको छ ।  प्लास्टिकको फोहोरबाट गर्न सकिने यी कार्यलाई व्यापकता दिनका लागि यो संस्थाको टिम नीति निर्माणका लागि पहल गर्ने लगायतका काममा पनि निरन्तर लागिरहेको छ । 

सुरुमा प्लाष्टिकबाट पनि कालोपत्रे गर्न सकिन्छ भन्ने कुरामा धेरैले विश्वास गरेनन् । विस्तारै उनको अवधारणा उपयोगी देखेपछि स्थानीय सरकारले वडा कार्यालयकै छेउमा कालोपत्रे गर्नका लागि स्थान छनोट गरेको थियो । परीक्षणकै रुपमा ८० मिटर सडकमध्ये तीन भागको एक भागमा प्लास्टिक नमिसाई र दुई भागमा प्लास्टिक प्रयोग गरेर  सडक निर्माण गरिएको छ । बिमल भन्छन्, ‘‘रिसाइकल नहुने प्लास्टिकले कालोपत्रे गरिएको बाटोको आयु कति हुन्छ, यसले अलकत्राको मात्रा घटाउँछ कि घटाउँदैन भन्ने कुरा पनि प्रमाणित गरेर देखाउनु छ । यसमा हामीले अझ विस्तृत अध्ययन गरिरहेका छौं ।’’

प्लास्टिकको सडक  : कति फरक ?   
विमलका अनुसार  प्रिमिक्स प्रविधिअनुसार सडक कालोपत्रे गर्दा बिटुमिनजस्ता केमिकल मिसाएर बनाइएको लेदो सडकमा छापिन्छ भने आस्फाल्ट कंक्रिटमा प्लास्टिकको मिश्रणसहितको लेदोलाई सडकमा बिछ्याएर कालोपत्रे गरिन्छ । वडा कार्यालय अगाडि बनाइएको सडक यहि आस्फाल्ट प्रविधिबाट बनाइएको हो । सडकको छेउमा पनि नेपालकै पहिलो आस्फाल्ट रोड भनेर बोर्ड टाँगिएको छ । 

सामान्य कालोपत्रेभन्दा प्लास्टिकको सडक दुईदेखि साढे दुई गुणासम्म बढी टिकाउ हुने भारत तथा विभिन्न मुलुकहरुमा गरिएको अध्ययनले देखाएको बिमल बताउँछन् । भारत, बेलायत, भुटान, जर्मनी लगायतका मुलुकमा यो प्रविधिको उच्चतम प्रयोग भएको छ ।

आस्फाल्ट प्लान्टबाट बनाउँदा र नर्मल रोड बनाउँदा कार्वन उत्सर्जनको मात्रा कुन स्तरमा हुन्छलगायतका कुराहरुको अध्ययनका लागि उक्त सडक निर्माण गरिएको बिमलको भनाइ छ ।  ल्याब परीक्षणमा पनि यो प्रविधिले बिटुमिनले भन्दा कार्बन उत्सजनको मात्रा घटाएको बिमल बताउँछन् । ‘प्लास्टिक जलाउँदा कार्बन उत्सर्जन अत्याधिक हुने भएकाले हामीलाई यो प्रणालीबाट वातावरणमा थप हानी पुग्ने हो कि भन्ने डर थियो । तर नतिजा सोचेभन्दा राम्रो आयो । यसले अलकत्राको मात्रा पनि घटाएको छ ।’उनले भने ।  
सामान्य कालोपत्रेभन्दा प्लास्टिकको सडक दुईदेखि साढे दुई गुणासम्म बढी टिकाउ हुने भारत तथा विभिन्न मुलुकहरुमा गरिएको अध्ययनले देखाएको बिमल बताउँछन् ।

यस्तो प्रबिधिबाट काम गर्दा प्लास्टिक मसिनो गरी काटेपछि तातो गिटी–बालुवामा हालि १ सय ७० डिग्री सेल्सियस तापक्रममा तताउनु पर्छ, जसले गर्दा प्लास्टिकका टुक्रा पग्लिएर गिटीमै टाँसिदै जान्छन् । उक्त मिश्रणलाई अलकत्रामा हालि त्यही घोलबाट सडक कालोपत्रे गरिन्छ । प्लास्टिक १ सय ७० डिग्रीसम्म तताउँदा त्यसले अरु प्रदूषण पनि नहुने बिमलको भनाइ छ । 
बिमलका अनुसार १० देखि १५ प्रतिशतसम्म प्लास्टिक प्रयोग गर्न सकिन्छ । यसरी प्रयोग गर्दा १ किलोमिटर सडक पिच गर्दा अलकत्रामा प्रयोग हुने २ लाख रुपैयाँ जोगिन्छ भने सय किलोमिटमा २ करोड रुपैयाँ जोगाउन सकिन्छ ।  भारतमा सन् २००२ मा  पत्ता लागेको यो प्रविधि ‘प्लास्टिक म्यान’ का रूकपमा चिनिने प्राध्यापक राजागोपालन बासुदेवनले विकास गरे पछि अन्य देशले पनि यसप्रति चासो राखेका थिए । भारतमा अहिलेसम्म एक लाख किलोमिटर सडकमा यो प्रविधिको प्रयोग भएको छ । भुटान, बेलायत र अस्ट्ेरलियालगायत मुलुकमा  यो प्रविधिको उच्चतम प्रयोग भएको छ ।

प्लास्टिकले पिच गरिएको सडक 

वल्र्ड इकोनमिक फोरमको सन् २००१८ को एक प्रतिवेदन अनुसार भारतमा ३३ हजार ७ सय किलोमिटर सडक प्लास्टिकबाट पिच गरिएको छ । नेपालमा पनि केहि समय अघि जीआरडब्लु नाम संस्थाले कृतिपुर, पोखरा लगायतका स्थानमा प्लास्टिकबाट पिच गर्ने प्रविधिको परिक्षण गरेको थियो, यद्यमी यो आस्फाल्ट प्रविधि थिएन । तर सरकारको उचित नीति नभएका कारण प्लास्टिकको बारेमा सचेतना जगाउँन र संकलन गर्ने झण्झट भएकाले यसलाई विस्तार गर्न नसकिएको विज्ञहरु बताउँछन् । 

प्लास्टिकबाट सडक कालोपत्रे गर्ने कार्यलाई बढावा दिएमा विदेशबाट करोडौं खर्च गरेर आयात गरिने  बिटुमिन घटाउन समेत सकिने विमलको भनाइ छ । ‘यसले फोहोरको सदुपयोग मात्र गर्दैन, वातावरणमा प्लास्टिकजन्य फोहोरले पार्ने असरलाई समेत कम गर्न मद्दत गर्दछ’, उनले भने ।   ‘ग्रीन रोड’ नामक संस्थामार्फत बिमलको नेतृत्वमा पाँच युवाले विभिन्न संघसंस्थासँगको सहकार्यमा प्लास्टिकको सडक निर्माण तथा प्लास्टिक फोहोर व्यवस्थापनमा शुरुवात गरेको  नयाँ प्रविधिकोे विस्तारलाई निरन्तरता दिइरहेका छन् । 
 
फोहोरबाट विदेशी मुद्रा आर्जन 
प्लास्टिक व्यवस्थापनको अर्को विकल्पका रुपमा ब्लक बनाउने र सिमेन्ट तथा ईंटा उद्योगका लागि ब्रिकेट बनाउने पनि रहेको छ ।  यस कार्यमा पनि विमलले सफलता पाइसकेका छन् । सिमेन्ट उद्योगमा वातावारणीय पक्षलाई ख्याल गर्दै धुवाँमार्फत पर्ने प्रभावलाई कम गर्ने र कार्वन उत्सर्जन न्यूनीकरण गर्ने प्रविधि अपनाइएको हुन्छ । त्यसैले सङ्कलन गरेको प्लास्टिकबाट ब्रिकेट बनाई सिमेन्ट उद्योगहरुलाई पनि बेच्ने गरेको उनी बताउँछन् । यसले फोहोरको व्यवस्थापन त भइहाल्यो, सिमेन्ट उद्योगले पनि ऊर्जाका रुपमा अन्य सामग्रीहरुको सट्टा प्लास्टिक प्रयोग गर्न सक्छन् । बिमलले केहि निजि सिमेन्ट उद्योगलाई प्लास्टिकको ब्रिकेट समेत बिक्रि गरेका छन् । 

प्राविधिक रुपमा यो काम गर्न संभव भएको र यसको बजार समेत भए पनि मुख्य चुनौती भनेको प्लास्टिक सङ्कलन कार्य हो । फोहोर मिसिएर ल्याण्डफिल्ड साइटमा पुगिसकेपछि प्लास्टिक छुट्याउन सम्भव हुँदैन । टोलवासीमा  सचेतना  फैलाएर घरघरबाटै कुहिने, नकुहिने तथा प्लास्टिकजन्य फोहोरलाई छुट्याएमा सिमेन्ट कारखानाका लागि उर्जा तथा सडक बनाउने काममा सदुपयोग गर्न सकिन्छ । यसबाट रोजगारी श्रृजना, वातावरण  संरक्षण र आय आर्जनसँगै विदेशी मुद्रासमेत आर्जन गर्न सकिने विमलको भनाइ छ   ।  

वातावरणमा असर नपर्ने गरी सडक कालोपत्रे र सिमेन्ट उद्योगका लागि इन्धनको रुपमा रिसाइकल नहुने प्लास्टिक प्रयोग गरेको आधिकारिक प्रमाण पेश गरेमा कार्बन क्रेडिट जस्तै प्लास्टिक क्रेडिट गर्न सकिन्छ । यो तरिका अपनाएर विमलले प्लास्टिक क्रेडिटमार्फत जर्मनीको एक संस्थाबाट  प्रतिटन ५५० युरोका दरले झण्डै दुई हजार युरो नेपाल भित्र्याएका छन् । 

यस किसिमको प्लास्टिकजन्य फोहोर व्यवस्थापनलाई प्लास्टिक क्रेडिट गरेर विदेशी मुद्रा आर्जन गर्ने काममा समेत विमलले सफलता पाइसकेका छन् । वातावरणमा असर नपर्ने गरी सडक कालोपत्रे र सिमेन्ट उद्योगका लागि इन्धनको रुपमा रिसाइकल नहुने प्लास्टिक प्रयोग गरेको आधिकारिक प्रमाण पेश गरेमा कार्बन क्रेडिट जस्तै प्लास्टिक क्रेडिट गर्न सकिन्छ । यो तरिका अपनाएर विमलले प्लास्टिक क्रेडिटमार्फत जर्मनीको एक संस्थाबाट  प्रतिटन ५५० युरोका दरले झण्डै दुई हजार युरो नेपाल भित्र्याएका छन् । 

नेपालमा पहिलोपटक प्लास्टिक क्रेडिट मार्फत विदेशी मुद्रा भित्र्याइएको उनको भनाइ छ । परिमाण ठूलो नभए पनि यो कार्यले थप काम गर्नका लागि बाटो खोलेको विमल बताउँछन् । यदि यो कार्यलाई बृहत्तर रुपमा अघि बढाउन सकिएको खण्डमा प्लास्टिकजन्य फोहोर व्यवस्थापनमा दिगो समाधानको उपाय हुने यसले बिटुमिनको आयात समेत घटाउने तथा विदेशी मुद्रा आर्जन गर्ने नयाँ माध्यम समेत हुने देखिएको छ ।  
 

वडाको साथले सहज 
संयुक्त राष्ट्र सङ्घको विश्व वातावरण कोषअन्र्तगत साना अनुदान कार्यक्रमको सहयोगमा  सेन्टर फर इनर्जी एण्ड इन्भाइरोमेन्ट नेपाल (सिन नेपाल) सँग सहकार्य गरी यो नवीन कार्यको शुरुआत गरिएको थियो । उनीहरुको यो थालनीलाई वडा कार्यालयले पनि सहयोग गरेको छ । प्लास्टिकजन्य फोहोर व्यवस्थापनको नयाँ प्रविधिको प्रयोगमा सफल भएपछि अब वडाभरि नै स्थानीय स्तरमा जनचेतना जगाउने र प्लास्टिकजन्य फोहोरलाई वडामा पूर्णरुपले व्यवस्थापन गर्ने अभियान चलाउने विमलको तयारी छ ।   

यो अभियानलाई सहयोग गर्नका लागि वडाले रु. सात लाख बजेट छुट्याएको वडाध्यक्ष सन्तोष बाँस्तोलाले बताए ।  यो अभियानले वडा नं १२ मा बसोबास गर्ने ३४ सय घरधुरीमा प्लास्टिकको फोहोर बारेमा सोच र व्यवहारमा परिवर्तन ल्याउन सफलता प्राप्त हुने अपेक्षा राख्दै वडाध्यक्ष बास्तोलाले भने, ‘असोज महिनाभित्रमा हामी हरेक टोलटोल, पार्क र सार्वजनिक स्थानहरुमा टोल विकास संस्थाका अध्यक्षको जिम्मामा रहने गरी डस्टबिन उपलब्ध गराछौं । त्यसमा बेच्न मिल्ने र नमिल्ने फोहोर छुट्याई राख्न लगाएका छौं । यो कार्यले घरघरमै प्लास्टिकजन्य फोहोर व्यवस्थापनको अभियान शुरु हुने विश्वास गरेका छौं । ’ वडाले वडा कार्यालय परिसरमा प्लास्टिक संकलन स्थान पनि बनाएको छ । त्यहाँ वडावासीले पुनः प्रयोग नहुने प्लास्टिकहरु ल्याए भने पुरस्कारका रुपमा केही रकम या सामान दिई यसको सङ्कलनका लागि प्रेरित गरिने वडाध्यक्षको भनाइ छ ।   वडा अध्यक्ष सन्तोष बास्तोला 

पोखरा महानगरपालिकामा दैनिक दुई सय टन फोहोर उत्पादन हुन्छ । त्यसमध्ये झण्डै २० प्रतिशत प्लास्टिकजन्य फोहोर हुन्छ, जुन २० प्रतिशत मात्र पुनः प्रयोग हुने गरेको विश्व बैंकको २०१९ को तथ्याङ्कले देखाउँछ । वडा नं १२ मा फोहरको अवस्थासम्बन्धीको विस्तृत अध्ययन भइरहेको र अध्ययनले देखाएको नतिजाका आधारमा वडाका सबै टोल विकास संस्थामार्फत जनचेतना फैलाउने काम गरिने अध्यक्षको भनाइ छ । यो कार्यबाट प्लास्टिकलगायतका सम्पूर्ण फोहोरलाई स्रोतमा नै व्यवस्थापन गरी फोहोरको समस्या समाधानका नयाँ उपायलाई प्रोत्साहन गरिने र यसबाट  विमल जस्ता युवाले शुरु गरेको नवीन अभियानलाई विस्तार गर्न समेत सहयोग पुग्ने वडाध्यक्ष वास्तोलाको विश्वास छ ।

महानगरकै नीतिमा परिवर्तन   
प्लास्टिकजन्य फोहोर व्यवस्थापनका लागि वडा नं १२ मा भएको अभ्यासपछि पोखरा महानगरपालिकाले पनि महानगर अन्तर्गतका सबै कार्यालयमा प्लास्टिकका बोतल निषेध गरेको छ । बैठक, छलफल तथा कार्यक्रमहरुमा अहिले प्लास्टिकको बोतल विस्थापन गरेर जग तथा अम्खराहरुको प्रयोग गर्ने गरिएको छ । यो सानो शुरुआत भए पनि यसले ठूलो अर्थ राख्ने अध्यक्ष बाँस्तोला बताउछन् ।   

अध्ययनहरुले देखाएअनुसार विश्वमा जम्मा नौ प्रतिशत प्लास्टिक पुनः प्रयोग हुन्छ । बाँकी ९१ प्रतिशत ल्याण्डफिल्ड, खोला, नदी र महासागरमा फ्याँकिन्छ । प्लास्टिकका विशाक्त रसायनहरुले पानी दूषित मात्र बनाउँदैन, जलचर प्राणी, वनस्पति र जमिनको भित्री सतहसम्म असर पु¥याउँछ । यसले मानव स्वास्थ्यमा समेत जटिलता थप्दैछ ।

सामाजिक, आर्थिक, स्वास्थ्य तथा वातावरणीय हिसाबले पनि यो काम निकै उपयोगी भए पनि सरकारी स्तरबाटै यसमा समर्थन नभएसम्म आफुहरुले गरेको प्रयासले उत्कृष्ट नतिजा दिन नसक्ने बिमल बताउँछन् । अन्य देशहरुमा प्लास्टिक व्यवस्थापनसम्बन्धी स्पष्ट नीति बनिसकेको भएपनि नेपालमा अझै स्पष्ट नीतिको अभाव छ ।

अध्ययनहरुले देखाएअनुसार विश्वमा जम्मा नौ प्रतिशत प्लास्टिक पुनः प्रयोग हुन्छ । बाँकी ९१ प्रतिशत ल्याण्डफिल्ड, खोला, नदी र महासागरमा फ्याँकिन्छ । प्लास्टिकका विशाक्त रसायनहरुले पानी दूषित मात्र बनाउँदैन, जलचर प्राणी, वनस्पति र जमिनको भित्री सतहसम्म असर पु¥याउँछ । यसले मानव स्वास्थ्यमा समेत जटिलता थप्दैछ । विश्व बैंकको तथ्याङ्कअनुसार नेपालमा दैनिक निस्कने छ सय टन प्लास्टिकमध्ये जम्मा आठ प्रतिशत मात्र पुनः प्रयोग हुन्छ । बाँकी प्लास्टिकले वातावरणलाई दूषित बनाएको छ । 

पृथ्वीमा बढ्दै गएको यो समस्याको समाधानमा एउटा प्रयासको रुपमा  प्रेरणादायी नमूना काम गरेका विमलका लागि प्लास्टिक सङ्कलन र व्यवस्थापनको काम सोचेजस्तो सजिलो भने छैन । अहिले देखिएको नतिजा पनि उनीहरुको दिन रातको मिहेनतका कारण सम्भव भएको हो । यति धेरै अप्ठ्याराका बावजुद पनि यस्तो काममा किन लाग्नुभयो भन्ने प्रश्नमा उनले भने, ’मलाई भित्रैदेखि केही गरौँ भन्ने लाग्यो । अझ वातावरणका क्षेत्रमा योगदान दिने विषयले त झनै आकर्षित भएँ । यदि सरकारले उचित नीति बनाएको खण्डमा यो कार्यमा उच्च सफलता पाउँन सकिन्छ । ’ 

सम्बन्धित समाचार: 

प्लास्टिकजन्य फोहोर, ताप उर्जाको श्रोत 

साना अनुदान कार्यक्रम : सानो पाइलाबाट ठूलो यात्रा

किन बढ्दैछ प्लास्टिक साम्राज्य ?

गाउँ चम्काउने अभियानको आँटिलो अगुवाइमा महिला