• सोमबार, २३ माघ, २०७९
  • ०४:०४:१६

बर्दीधारीका सडक नियम

  • Netizen Nepal
  • शुक्रबार, १५ पौष, २०७९- १७:१४:००/ Friday 12-30-22

डा सुरेश आचार्य
काठमाडौँ, १५ पुस। टेकुबाट त्रिपुरेश्वर हुँदै नयाँ बानेश्वरतिर फर्कदै गर्दा त्रिपुरेश्वरको ट्राफिक बत्तीमा गाडी रोकेर जाने पालो कुरिरहेको थिएँ । जाडो मौसममा झ्यालको सिसा लगाउनु स्वाभाविक थियो । अचानक झ्यालको सिसामा एक ट्राफिक युवतीले टकटक गरिन् । परिवारका सदस्यसँग निस्केको म आफ्नै सुरमा थिएँ । मैले उनीतिर ध्यान दिएँ र सिसा खोल्दै सोधेँ–के भयो ? उनले सिधै गाडीको कागजपत्र मागिन् । मैले फेरि सोधेँ– किन के भयो र ? उनले ‘गाडीको बम्पट’ मात्र भनिन् । हतारमा एउटा कागज उनको हातमा थमाइदिएँ । मलाइ लाग्यो–कुनै गाडीले पार्किङ गरेको ठाउँमा मेरो गाडीलाई ठक्कर दिएर बम्पट फुटाइदिएछ क्यारे । ट्राफिक प्रहरीलाई मैले कसैलाई ठक्कर दिएर आएँ भन्ने परे छ कि ?

कुरा अर्कै रहेछ । गाडीको पछाडि सुरक्षाका लागि सेफ्टी गार्ड राखेको थिएँ । त्यो राख्नु प्रहरीका लागि आपत्तिजनक भएछ । एक महिनादेखि उनीहरु ‘सेफ्टी मेजर’ अपनाउने गाडीलाई खोज्दै दुःख दिँदै बसेका रहेछन् । म यसबारे विल्कुल जानकार थिइन् । मैले के यसले गाडी नम्बर छोप्यो भनेर सोधेँ । त्यो पनि होइन रहेछ । ट्राफिक लाइटमा हरियो बत्ती बलिसकेको थियो । पछाडिका गाडीहरु अड्किरहेका थिए । उनले अर्को ट्राफिक युवतीलाई मेरो गाडीमा हतारहतार चढ्न भनिन् र ट्राफिक कार्यालय जानुपर्ने उर्दी सुनाइन् ।

अगाडि बढ्दै गर्दा मैले गाडीमा बसेकी युवतीलाई ट्राफिक कार्यालय कहाँ छ भनेर सोधेँ । पुरानो ब्लुबर्डको अगाडि रहेछ । त्यहाँ जाने ट्राफिकसम्मत बाटो थिएन । त्रिपुरेश्वरबाट सिधै अगाडि थापाथली, प्रसूतिगृह वा कोपुण्डोल जानुबाहेकको विकल्प ट्राफिकले दिएको छैन । मैले उनै युवतीलाई सोधेँ, उनीसँग पनि जवाफ थिएन । उनले चोक नपुग्दै मोड्न पाइने ठाउँ हो वा होइन भन्ने जवाफ दिन सकिनन् । थापाथली चोक नजिकबाट ‘यु टर्न’ गरेर उनको कार्यालयमा गएँ ।

एक जना प्रहरी सहायक निरीक्षक रहेछन् हाकिम । ती युवतीले म र मैले दिएको कागज (हतारमा बीमाको कागज परेको रहेछ) हस्तान्तरण गर्दै भनिन्, “उहाँले बम्पट झिक्नु भएको रहेनछ, कागजपत्र पनि यति मात्रै रहेछ ।”

यसलाई बम्पट भन्छन् कि सुरक्षा कवच ? मलाई अहिले पनि थाहा छैन । मसँग कागज सबै थियो तर उनलाई दिएको मात्रै त्यति थियो । प्रहरी सहायक निरीक्षकले कागजको खास खोजी गरेनन् । मैले उल्टै प्रश्न गरेँ– मेरो गल्ती के हो ? उनले फेरि त्यही सेफ्टी गार्ड निकाल्न भने । मैले कारण जान्न चाहेँ । उनले त्यो राख्दा सेन्सरले काम नगर्ने भएकाले झिक्न लगाइएको बताए । मैले मेरो गाडीमा सेन्सर नै छैन, यो नियम त सेन्सर हुनेका लागि होला नि भनेँ । तर उनले सबैलाई एउटै व्यवहार गरिएको दाबी गरे ।

म उनीसँग सहमत हुने कुरै थिएन । मैले खरिद गरेको वस्तु अर्थात् मेरो सम्पत्तिको सुरक्षा गर्नु कसरी गल्ती भयो ? यसले न बाटो रोक्छ, न नम्बर छेकेको छ । बरु हुर्रिएर आउने बाइकबाट सुरक्षा भइरहेको छ । मेरो गाडीमा सेफ्टी गार्ड निकालेपछि कसैले ठोक्यो भने त्यसको जवाफदेही प्रहरी हुन्छ ? उनले मलाई गाडीको स्वरुप परिवर्तन गर्न नपाइने कानुन पढाउन खोजे । मैले के परिवर्तन पाउनुभयो भनेर सोध्न छाडिनँ । उनी धेरै तर्क गर्न चाहिरहेकै थिएनन् । बरु आदेश गरे– कागजपत्र यहाँ छाडेर जानोस्, कुनै वर्कशपमा लगेर यो खोलेर कागजपत्र लिन आउनु होला । म पनि आफ्नो जिद्दी छाडिरहेको थिइन् । पछि उनलाई के लाग्यो कुन्नि ? उनले भने, “भैगो तपाईले कागजपत्र छाड्नु परेन तर यसलाई निकाल्नु होला ।”

यति साँघुरो ठाउँमा यो कार्यालय रहेछ, सडकमा गुड्नेमध्येका सबैभन्दा सानो मेरो गाडी मोड्ने ठाउँ पनि थिएन । गाडी मोड्दै गर्दा त्यो सेफ्टी गार्डले गाडी कोरिनबाट जोगाइरहेको त्यहाँ रहेका अरु ट्राफिक प्रहरीले देखिरहेका थिए । पछि उनीहरुकै सहयोगमा गाडी निकालेर म निस्केँ। शनिबारको त्यो दिन म कुनै वर्कशपमा गइन । घरमा आएर ट्राफिक प्रहरी कार्यालयको वेबसाइटमा त्यस्तो सूचना कतै छ कि भनेर खोजेँ । कतै फेला पारिनँ । ट्राफिक प्रहरीको आदेश मान्ने कि नमान्ने भन्ने दोधार भइरह्यो ।

आइतबार मलाई कामका लागि निस्कनै थियो, आदेशको पालना गरेको थिइन् । सबै गाडीहरु ख्याल गर्दै गएँ । कतिमा ती सुरक्षा कवच थिए तर धेरैमा नभएको आभास भयो । केही सरकारी गाडीमा समेत निकालिएका थिएनन् । कामबाट घर फर्केर मैले प्रहरी आदेश पालन गरेँ । अर्को आइतबार धोवीखोलाको पुलबाट भाटभटेनी मार्केट निस्कनेतिर गाडी मोड्दै थिएँ, यति लामो जापानी मोडलको सरकारी नम्बरको पिकअप भ्यान मेरो अगाडि पर्यो । बा २ झ बाहेक अरु केही नबुझिने गरी हालेको उसको सुरक्षा कवच यथावत थियो । मैले उसको नम्बर प्लेट पढ्न निकै कोसिस गरेँ । अहँ, सम्भव नै भएन । मभन्दा अगाडि गुडिरहेको त्यो गाडी सिंहदरबार दक्षिण ढोकाको मुखैमा रहेको राष्ट्रिय अनुसन्धान विभागको कार्यालयमा छिर्यो । सुरक्षा कवच निकालेर प्रहरी ज्यादतीबाट ढुक्क भएको म पनि सिंहदरबारभित्र छिरेँ ।

त्यो दिन ट्राफिक युवतीले ट्राफिक लाइटमा रोकिएको गाडीमा आएर जुन व्यवहार गरिन्, त्यो मेरा लागि अनौठो थियो । उनलाई मसँग कुरा गर्नु थियो भने पहिला साइड लगाउन भन्नुपथ्र्यो । बीच बाटोमा अरु साधनलाई समेत असर पर्ने गरी रोक्नु ट्राफिक प्रहरीको अधिकार हो ? अरुको साधनमा ट्राफिक प्रहरीलाई बस्ने अधिकार कहाँबाट मिल्यो ? उनले मेरो अनुमतिविना अर्की ट्राफिक युवतीलाई गाडीमा बस्न लगाइन् । मेरो गाडीमा परिवारका अरु सदस्य थिए । ती ट्राफिक युवतीमा कुनै सरुवा रोग भए वा मेरा परिवारका सदस्य बिरामी भएको भए उनको बसाईले प्रभाव पाथ्र्यो कि पार्दैनथ्यो ? गाडी मेरो व्यक्तिगत सम्पत्ति हो, मैले राज्यलाई तिर्नु बुझाउनुपर्ने सबै कर तिरेर चलाएको छु । त्यसमा सडकमा उभिने बर्दीधारीको स्वतःअधिकार हुने हो ? म उनको कार्यालय पुगेपछि ती प्रहरी सहायक निरीक्षकले अन्त्यमा जे भने, त्यो कुरा ती ट्राफिक युवतीले नै त्यहीँ भनेको भए हुन्नथ्यो ?

त्रिपुरेश्वर र थापाथलीका ट्राफिक प्रहरीको ‘स्मार्टनेश’का नाममा भएको व्यवहारले नागरिकलाई अनाहकमा दुःख दिएको छ । जसै कानुन पालना नगर्ने यातायातको साधन चलाउने धनी वा चालक दण्डित हुन्छ, उसैगरी अनाहकमा दुःख दिने बर्दीधारीले चाहिँ दण्डित हुनुपर्ने होइन ? नागरिकले तिरेको करबाट तलब खाएर म सेवा गर्न सडकमा उभिएको छु, कसैलाई सताउन होइन भन्ने चेत यिनीहरुमा फिर्नु पर्दैन ? 

आज प्रहरी आदेश मानेर मैले मेरो सम्पत्तिको सुरक्षा कवच निकालीरहँदा अझै चित्त बुझ्दो कारण फेला पारेको छैन । तपाईलाई यसबारे केही थाहा थियो कि ? (आचार्य नेपाल पत्रकार महासङ्घका पूर्वसभापति हुनुहुन्छ)