• सोमबार, २३ माघ, २०७९
  • ०३:०४:५६

किन फर्केर हेरिँदैन ?

  • Netizen Nepal
  • मंगलबार, १९ पौष, २०७९- १५:३७:००/ Tuesday 01-03-23

उत्तम विचार भेटुवाल
भनिन्छ समय सबैभन्दा बलवान् हुन्छ । देखाइ र भोगाईले यही द्रिष्टान्तलाई पुष्टि गर्दै आएका पनि छन् । के उसो भए समय बलवान् छ भनेर कुनै पनि चुनौतीको समाना गर्नु अघि नै समयसँग हार मानेर उसकै पछिपछि लतारिनु उचित हो त ? अवश्य पनि हैन । समयलाई बसमा पर्न नसके पनि आफ्नो अनुकुल समय नहोला र पनि समय अनुकुल आफुलाई ढाल्न/हिँडाउन त सकिन्छ नि । यसतर्फ भने समाजका हरेक मानिस सजग र सचेत हुनु जरूरी छ ।

"विगतका कमी कमजोरीलाई पाठको रुपमा लिई भोलिको सुनौलो भविष्यको माग कोर्दै वर्तमान ज्युँदै गर्दा अघि मात्र हिँडियो भने, जिदगिले लक्ष्य भेट्नु पहिले नै गन्तव्य हराउन सक्छ । जसका लागि पछाडि फर्केर हेर्नु पनि उत्तिकै जरूरी हुन्छ जति अगाडि बढ्ने उत्कट अभिलाषा हुन्छ हामीमा"

अर्को कुरा भविष्यको चिन्तामा वर्तमानमा आफुलाई हिँडाउने बानी परेका हामी नेपालीको भविष्यलाई फेरी एकपटक हेर्ने र विगतका गल्ती र कमजोरीबाट पाठ सिकेर वर्तमान ज्युँदै सुन्दर भविष्यको रेखा कोर्नेतर्फ हामी कमैका ध्यान आकृष्ट हुने गरेको पाईन्छ । उज्ज्वल भविष्यको सपना देखेर वर्तमानमा भोकै मर्न पनि त सकिँदैन । भनिन्छ भोली कसैले देख्या छैन । जब उसैको भविष्य अनिश्चित छ त त्यै भोलिका लागि आज खाइ नखाई केलाई चिन्ता जताउनु ? यसैको अर्को पाटो पनि केलाएर र्हेर्नुपर्ने हुन्छ । भोलि अनिश्चित छ भन्दैमा भए भरका धन सम्पत्ति अन्नपात आजै सिध्याएर भोलि भोकै मर्नु पनि त भएन । यसैले त आजको गर्जो टार्दै भोलिका लागि जोहो गर्नुपर्ने आजको आवश्यकता हुन आउँछ । 

नयाँ पाएपछि(बच्चाले खेलौना पाएजस्तै) पुरानालाई वास्तै नगर्ने पारीपाटीले हामीमा नयाँको भोक मात्र जगाउँदैन बरू पुरानाप्रतिको वितृष्णा पैदा गराउँछ ।

भनिन्छ पछि हट्नु पछौटेपना सिवाय केही हैन, जस्ले अघि बढ्ने पाइलाहरूलाई विराम लगाउँछन् । ठिकै छ गन्तव्य चुम्न चालिएका पाइलाहरू रुक्नु हुँदैन, यस्मा सबैले सहमती जनाउलान पनि तर यसो भन्दैमा पछाडि फर्केर हेरिनु पर्ने अपरिहार्यतालाई नकार्न मिल्दैन । सँगै यात्राारत सहयात्राीहरू छुट्दा पनि पत्तो नपाएजस्तै लक्ष्य भुलेर एकनास गन्तव्य भेट्न् लम्किनु पनि त्यती उचित नहोला । यहाँ उठाउन खोजिएको बिषय पनि यही नै हो कि हामीमा विगतलाई फर्केर हेर्ने आदतको विकास हुनु जरूरी छ । भर्खरै बिदा लिएर जाँदै गरेको सन २०२२ लाई फर्केर नहेर्ने हो भने समयका दौरान भए र गरेका गल्तिले २०२३ मा निरन्तरता पाउने छ जुन अन्तत: हाम्रै लागि घातक सावित हुने छन् ।

विभिन्न  बुंँदा र फुँदा गाँसेर पछि मिलाउँला भन्दै गरिएका कथित सम्झौता र सहमतीका पोका पन्तुराहरू समयको कालखण्डमा नखोलिने हो भने, फेरि त्यो अवस्थालाई फर्केर मनन गर्दै अघि नबढ्ने हो भने नयाँ राजामार्ग बनाउने लहडमा पुराना गोरेटाहरू सबै माँसिने खतरा बढ्ने छ । यस् तर्फ समाजका सचेत अगुवावर्ग संवेदनशील भएर अघि बढ्नुपर्ने आजको अपरिहार्य आवश्यकता हो । गन्तव्यतर्फ अघि बढ्दै गर्दा सँगै फर्केर हेर्ने बानीको पनि बिकास गरौँ भन्दै विश्राम माग्दछु । -अस्तु ।

मुक्तकीय भावमा यसो भन्न मन लाग्यो,
---- 
पुराना भुल्दै जाँदा नयाँको आशयले 
भविष्यप्रतिको चिन्ता र व्याप्त भयले ।      
हेरिएन यदि भने 'पछाडि फर्किएर'...  
पत्तो छैन कहाँ पुर्याउला यो समयले ।।
   

लेखक -कवि, गीतकार एवम् सामाजिक चिन्तक हुनुहुन्छ)