मृत्युको ठट्यौली
-
पार्वती अधिकारी
- मंगलबार, १७ माघ, २०७९- १४:००:००/ Tuesday 01-31-23

हामीले मृत्युलाई पछ्याउँदैनौं तर मृत्युले हामीलाई पछ्याइरहन्छ । हामी भागीरहन्छौं मृत्युले लखेटीरहन्छ । जिन्दगी केहि रहेनछ भनौं भने जिन्दगी सबै थोक हो । जिन्दगीलाई सबथोक मानौं भने जिन्दगी भन्दा पनि ठुलो पर्खाल मृत्युको छ । जसलाई आजसम्म कसैले नाघ्न सकेको छैन ।
आमा, हजुरआमा र ठुलीआमा मिलेर झिटीगुन्टा तयार पार्दै हुनुहुन्थ्यो । म फुरफुर परेर हेर्दै थिएँ ।
'हजुरआमा यो त कति ठुलो झोला, म पनि अट्छु होला', म प्वाक्क बोलिहालें ।
'बस न त तिमीलाई पनि प्याक गरेर लैजाउँला', हजुरआमाले भन्नुभयो । उहाँको फेरि पहिल्यैदेखि ठट्टा गर्ने बानी ।
हजुरआमाको कुराले केहि वर्षअघिको घटनाको याद आयो र म झस्किएँ । हाम्रो घरभन्दा माथि एउटा मन्दिर छ । जहाँ हरेक वर्ष जात्रा लाग्छ । रातभरि बत्ति बालेर भाकल हुनेहरुले भोलिपल्ट बिहान पंचवली दिन्छन् । बाजागाजा र डोलीसहित मन्दिरबाट पंचबली दिने व्यक्तिको घरसम्म जाने चलन छ । अनि त्यो डोलीमा एकजना कन्या केटीलाई पनि राखेर लगिन्छ । एकदिन बिहान त्यहि बाटो मन्दिर जाँदै थिएँ । डोली रित्तै रहेछ । बाटोबाटै मलाई उठाएर डोलीमा राखे र दौडाइहाले । डोली चढ्दा डर लाग्यो तर मेरो आवाज जति कराए पनि बाजाको अगाडी मसिनो नै सुनियो । पंचबली दिने घरमा पुर्याएपछि मलाई डोलीबाट झराले । 'धन्न बचियो', लामो सास फेर्दै म त्यहाँबाट बाटा लागें ।
त्यसपछि कसैले बोक्ने कुरा गर्यो भने मलाई भाग्न मन लाग्छ ।
हत्त न पत्त हजुरआमालाई भनिहालें, 'हुँदैन हुँदैन, म आफैं हिंडेर जान्छु ।
त्यो दिन पनि हामी जात्रा जाने तयारी गर्दै थियौं । यो पाली भने हामी पशुपतिनाथमा बत्ति बाल्न जाँदै थियौं । हाम्रोतिर घरमा कसैको मृत्यु भएको छ भने पशुपतिमा तीन वर्षसम्म मृतकको नाममा उल्टो सुल्टो बत्ति बाल्ने चलन छ । हजुरबाले हामीलाई त्यहि वर्ष छाडेर जानुभएको थियो ।
मङ्सिर महिना काठमाडौँमा चिसो सुरु भइसकेको थियो । खुला चौरमा रातभरि बस्दा टाउकोमै सित तप्प तप्प चुहिँदो रहेछ । त्यत्रो घंचमंचमा पनि म आमाको पछ्यौरा ओडेर सुतें र त्यहीं निदाएँ । भोलिपल्ट बिहान बत्ति सेलाउन बागमतीमा जानुपर्ने रहेछ । म ठुलीआमाको पछ्यौरा समाउँदै पछिपछि लागें । भिडले बाटो पाइसाध्य थिएन । धेरै अघि गइसकेपछि मैले ठुलीआमाको हात समाएँ । उहाँले फर्किएर पुलुक्क हेर्नुभयो । उहाँ मेरो ठुलीआमा नभएर अर्कैको ठुलीआमा पो हुनुहुँदो रहेछ । बल्ल थाहा पाएँ, मैले धेरै बेरदेखि अर्कैको ठुलीआमाको पछ्यौरा समाएर पो हिंडीरहेकी रहिछु ।
बाटोमा पोल्दै गरेको सेकुवाको जस्तै गन्ध मेरो नाकसम्म ठोक्कियो र अरुको नाकतिर हानियो । जल्दै गरेको लास र जल्दै गरेको सेकुवामा केहि फरक नहुने रहेछ । दुवैको सास नहुने, छाला मात्र हुने ।
एक्लै भएपछि कहाँ जाने पत्तै भएन । भिडले जता लैजान्छ, म त्यतै ठेलिएँ । जाँदाजाँदै घाटमा पुगिएछ । त्यहाँ केहि मानिस जलाईंदै थियो । केहिलाई जलाउने तयारी थियो । केहिलाई जलाउन ल्याईंदै थियो । मानिसको शरीर जल्दै गरेको धुँवा मडारिएर माथि माथि आकाशमा जाँदै थियो । सायद उसको आत्मा त्यो भन्दा पनि बेगले उडेर आकाशभन्दा माथि पुग्दो हो । बाटोमा पोल्दै गरेको सेकुवाको जस्तै गन्ध मेरो नाकसम्म ठोक्कियो र अरुको नाकतिर हानियो । जल्दै गरेको लास र जल्दै गरेको सेकुवामा केहि फरक नहुने रहेछ । दुवैको सास नहुने, छाला मात्र हुने । तर एउटा भिन्नता सेकुवा जनावरको छाला, त्यो जल्दै गरेको मानिसको छाला । मानिसको छाला जलेर सकियो, जनावरको छाला काटेर, जलाएर, मानिसले नै आफ्नो अहंकारी ओडारभित्र पुर्याए अनि मात्र सकियो ।
गाउँमा कसैको मृत्यु हुँदा पुरै गाउँ स्तब्ध हुन्थ्यो । गाउँभरि सुनसान र खैलाबैला हुन्थ्यो । त्यो दिन कसैले पनि खेतिपातीको कामसमेत गर्दैनथे । तर त्यहाँ त ठिक विपरित थियो । मानिसहरु लासकै अगाडी हाँस्दै र नाँच्दै हिंडीरहेका थिए । मृतकको आफन्त मात्र शोकमा थिए । बाँकी सबैलाई रमाइलो थियो । हेर्दा त यस्तो लाग्थ्यो, त्यहाँ केहि भएकै छैन । ती मानिसहरुको मृत्यु भएकै होइन, उनीहरु निदाएका हुन् । एकछिनपछि उठेर ठमठम हिंड्छन् । जात्रामा अरु मानिसजस्तै नाँच्छन्, रमाउँछन् ।
पशुपतिको मृत्यु सबैलाई सामान्य लाग्ने रहेछ । अथवा यस्तो पनि हुन् सक्छ कि मानिसलाई निकटका व्यक्ति गुमाउँदा मात्र दुख्छ । अरुको निकटता कसैलाई मतलब हुँदैन । पुलमा, बागमतीको वारी, पारि, मन्दिरको छेउछाउ सबै तिरबाट मानिसले मानिस जलाएको हेर्दै थिए ।
'मानिसको जिन्दगी पनि केहि रहेनछ', कसैले भन्दै थिए ।
'के हेरेको, हामी पनि एक दिन त्यसरी नै मरेर जानुपर्छ', अर्का मानिसले फ्याट मुख चलाए ।
उनले कति सजिलैसंग भने आफ्नै मृत्युको कुरा । अझ भनौं, उनले ठट्टा गरेरै भने आफ्नो मृत्युको कुरा ।
अरु बेला त मलाई पनि लास देख्दा धेरै डर लाग्थ्यो । त्यो दिन दन्किरहेको चिता देख्दा पनि सामान्य लाग्यो । सायद, घाटमा पुगेको मानिसलाई मृत्यु सामान्य लाग्दो हो । म पनि बेलाबेला ठट्टा गर्दै भनिदिन्थें, 'किन मरिमेटेको ? एकदिन मरेर जानु परिहाल्छ ।' यो शब्दलाई मैले कहिल्यै गहिराइमा गएर सोचिंन । सायद सोचेको भए त्यो बोल्ने थिइनँ । अहिले सोच्दा लाग्छ, 'मैले नबुझेरै बोलेको त्यो कुरा झुट होइन । ध्रुबसत्य हो । हामी ध्रुबसत्य कुरालाई स्वीकार गर्नका लागि ठट्टाको साहारा लिंदारहेछौं । मृत्यु स्वीकार गर्नै नसकिने सत्य हो । जुन स्वीकार गरिसकेपछि त्यो मानिसको अस्तित्व दुनियाँमा रहँदैन ।
हामी 'ब्याड जोक' गर्न सिपालु छौं । 'एक दिन म पनि मरेर जान्छु', 'म मर्न लागिसकें' या 'मर्छु कि क्या हो ?' यी सबै ब्याड जोक हुन् । यो जोक मरेर जानेहरु सबैले गर्छन् । मर्ने लाइनमा रहेकाहरुले पनि गर्छन् । तपाईं हामी सबैले गर्छौं । तर 'ब्याड जोक' गर्दै गर्दा हामीलाई हामी मर्छौं भन्ने चाहिं फिटिक्कै लाग्दैन ।
ज्यानको माया लाग्नु भनेको मृत्युसंग डर लाग्नु हो । मानिस खाना अड्किएर मर्छ, दैलोमा ठेस लागेर मर्छ, सुत्दा सुत्दै मर्छ, हिंड्दा हिंड्दै, बोल्दा बोल्दै पनि मर्छ, आत्महत्या गरेर झन् छिटो मर्छ । के मर्न कारण चाहिन्छ र ? मृत्यु छायाँजस्तै छ, मरिगए छाड्दैन ।
हामी पाइला पाइलामा मृत्युको जोखिम बोकेर हिंडिरहेका हुन्छौं । ओरालोमा बाइक चलाउँदै गर्दा पछाडीबाट ठुलो ट्रक आयो भने तपाईंको होसले ठाउँ छाड्छ । होसले ठाउँ छोड्नु भनेकै जीवन र मृत्युमध्ये केहि हुनेछ भनेर स्वीकार गर्नु हो । सवारीमा यात्रा गर्दा ठुलो खाल्डोमा बस घच्याक्क हुँदा पनि त्यस्तै लाग्न सक्छ । हवाई या स्थल दुवैमा यात्रा गर्दा हामीलाई कहीं कतै थोरै थोरै डर लाग्छ । ज्यानको माया लाग्छ । ज्यानको माया लाग्नु भनेको मृत्युसंग डर लाग्नु हो । मानिस खाना अड्किएर मर्छ, दैलोमा ठेस लागेर मर्छ, सुत्दा सुत्दै मर्छ, हिंड्दा हिंड्दै, बोल्दा बोल्दै पनि मर्छ, आत्महत्या गरेर झन् छिटो मर्छ । के मर्न कारण चाहिन्छ र ? मृत्यु छायाँजस्तै छ, मरिगए छाड्दैन ।
हामीले मृत्युलाई पछ्याउँदैनौं तर मृत्युले हामीलाई पछ्याइरहन्छ । हामी भागीरहन्छौं मृत्युले लखेटीरहन्छ । जिन्दगी केहि रहेनछ भनौं भने जिन्दगी सबै थोक हो । जिन्दगीलाई सबथोक मानौं भने जिन्दगी भन्दा पनि ठुलो पर्खाल मृत्युको छ । जसलाई आजसम्म कसैले नाघ्न सकेको छैन । मानिस र जनावरको मृत्यु एउटै रहेछ । बाँच्ने बाँचिरहन्छन्, मर्ने पनि मरिरहन्छन् । न बाँच्नेले मर्नेलाई रोक्न सक्छन्, न मर्नेले बाँच्नेलाई लैजान सक्छन् । मृत्युले जीवनको मूल्य बढाइदिएको छ । मृत्यु हुने थिएन भने मानिसहरु अझ बढी लापरवाह हुने थिए । मृत्यु आँखै अगाडी छ र त जीवन अझै सुन्दर छ ।
जीवन त्यहि ताँतीमा हिंडेको कमिलाजस्तै हो। जहाँ केहि कमिला बाटैमा मर्दा ताँती बिथोलिँदैन, रोकिंदैन । उनीहरुको लाइन तितरबितर हुँदैन । बरु मर्ने कमिलाकै माथि टेकेर अरु कमिला दौडिरहनछन् । दुनियाँ तितरबितर हुँदा पनि घडी चल्न छाड्दैन । सायद जीवनको घडी पनि त्यस्तै हो । त्यसैले नै ती कमिलाहरु चलिरहे निरन्तर ।
घाटको वरिपरि बसेपछि यस्तै सोंच आउने रहेछ । सायद म टोलाउँदै थिएँ । परैबाट आमाले इसारा गरेको देखें । म हराएकी रहेनछु । म भेट्टिएँ।