• बिहीबार, ६ असार, २०८१
  • ११:२८:१०

श्री ३ महाराजको दाहसंस्कार खर्च ५० पैसा ! 

नेटिजन संवाददाता 
काठमाडौँ, २ चैत । जंगबहादुरको मृत्यु हुँदा रणोद्वीप सिंहका उत्तराधिकारीको रोलक्रममा रहेका यिनका दुई भाइ बमबहादुर र कृष्णबहादुर पनि मरिसकेका थिए। यिनका तेस्रा भाइ बद्रीनरसिंह राज्यविरुद्ध षड्यन्त्र गरेकाले रोलक्रमबाट पहिले नै निष्काशित भएका थिए। त्यसैले जंगबहादुरले बनाएको रोलक्रममा रणोद्वीपसिंह नै पर्दथे। त्यसपछि यिनका भाइ जगतजंग र जितजंगको रोलक्रममा पर्थ्यो । 

रणोद्वीपसिंह राणाको जन्म वि सं १८८२ साल वैशाख २२ गते भएको थियो । उनि जंगबहादुरका ठाइंला भाई थिए। हरिप्रियासहित ३ जना पत्नीहरू भए पनि उनि नि:सन्तान थिए । वि सं १९०३ सालको कोतपर्वमा सेनाका कप्तान रहेका उनि वि सं १९०५ साल असोज १ गतेपछि कर्नेल भए । जंगबहादुरको बेलायत भ्रमणको समयमा उनि पूर्व- पश्चिम सबै जिल्लाका अख्तियारवाला भएका थिए । नेपाल र तिब्बतबीच युद्ध भएका बेला उनले क्वार्टर मास्टर जनरलमा नियुक्ति पाएका थिए । जंगबहादुरले कास्की र लमजुङको श्री ३ महाराजको उपाधि पाउँदा उनि पश्चिमतर्फको प्रधानसेनापतिको पदमा कार्यरत थिए । जंगबहादुरको निधनपछि उनि मुलुकको प्रधानमन्त्रीमा आसिन हुन् पुगे ।  

तत्कालिन युवराज त्रैलोक्य जंगबहादुरका जेठा छोरा जगतजंगलाई प्रधानमन्त्री बनाएर बिस्तारै सत्तामा हस्तक्षेप गर्ने योजनामा थिए । तर जंगबहादुरको पत्थरघट्टामा मृत्यु भईसकेपछि बिरामी मात्र भएको झुटो खबर दिएर निजहरुलाई उता पठाई असाध्यै धुर्त धीरसमशेरले कमजोर सुरेन्द्रलाई आफ्नो प्रभावमा लिएर रणोद्वीपलाई कास्की र लमजुङका श्री ३ महाराज र नेपालको प्रधानमन्त्री घोषणा गर्न लगाए । वास्तवमा १८५६ को सदनले श्री ३ को पदचाहिँ जंगबहादुरकै वंशमा जाने भने पनि धूर्त धीरसमशेरले त्यसो गर्न दिएनन् । यसले राणा परिवारमा नराम्रो फाटो ल्यायो । सन् १८६९ मा अचानक जगत्समशेरको मृत्यु भएकाले कान्छा धीरसमशेरको पालो आइहाल्यो । त्यसपछिको रोलक्रमअनुसार पद पश्चिम कमान्डिंग जनरलको पद जंगबहादुरका जेठा छोरा जगतजंगको हातमा आयो ।

उनलाई आफ्नै भतिजाहरुले टाउको र तिघ्रामा गोलि हानि भर्याङबाट खसालीदिएका थिए । उनको मृत्यु भएपछी भोलिपल्ट दाहसंस्कार जम्मा ५० पैसा खर्चमा गरिएको थियो ।

 

रणोद्वीप प्रधानमन्त्री भएको एघारौं महिनामा युवराज त्रैलोक्यको निधन भयो । धीरसमशेरले विष प्रयोग गरि त्रैलोक्यको मृत्यु गराएको भन्ने पनि छन् तर त्यसको कुनै प्रमाण भेटिएको छैन। यसको ३ वर्षपछि राजा सुरेन्द्रको पनि मृत्यु भयो । राजेन्द्र जीवित रहेकै अवस्थामा राजा सुरेन्द्रको स्थानमा ५ वर्षीय पृथ्वीवीरविक्रमलाई गद्धीमा बसालियो । यसले नै राणाहरुलाई एकछत्र राज गर्न मदत गरेको देखिन्छ ।

 रणोद्वीप सिंहको समयमा मुख्य दुई पर्वहरु भए । पहिलो पर्व ३८ सालको पर्वको नामले इतिहासमा अंकित छ भने दोस्रो ४२ सालको । वि सं १९३८ मा रणोद्वीप सिंह र उनका भाइलाई धीरसमशेरको तत्कालीन युवराज त्रैलोक्य र राजकुमार नरेन्द्रले हत्याको लागि गरेको विफल षड्यन्त्र र त्यसको दमनसम्बन्धि घटनालाई ३८ साले पर्व भनिन्छ । राणाहरुलाई सखाप पारी सत्तामा आफ्नो पकड जमाउन शाहहरुले रचना गरेको ३८ साले पर्वमा शाहहरुले आफैंले हार खानुपरेको थियो । 

यसैगरी ४२ सालको पर्वचाँहि रणोद्वीप सिंहको हत्याकाण्डसँग सम्बन्धित छ । वि सं १९४२ मा यो हत्याकाण्ड भएको हुनाले यसलाई ४२ सालको पर्व भनिएको हो । जंगबहादुरले स्थापना गरिदिएको श्री ३ र प्रधानमन्त्रीको पद धीरसमशेर आफ्नै १७ भाइ छोराहरुमा सीमित गराउन चाहन्थे । तर उनको सन् १८८४ अक्टुबर १४ मा ५७ वर्षको उमेरमा अचानक मृत्यु भयो। उनले आफ्नो सपना साकार पारी ओहोदा, समान र राज्य अवश्य नै भोग गर्नु भन्ने अर्ति छोराहरुलाई दिए । आफ्ना स्वर्गवासी पिताका यसै सपनालाई साकार पार्न धीरसमशेरका छोराहरुले यस ४२ साले पर्वको रचना गरेको पनि बताइन्छ । 

२२ नोभेम्बर १८८४ रातको ठिक ९:३० बजे गोडामा तेल लगाएर घोप्टिएर पिपलको पातमा रामनाम लेखिरहेको अवस्थामा धीरसमशेरका चारभाइ छोराहरु डम्बर,खड्ग, भीम र चन्द्रले 'पेटिकोटमुन्तिरबाट शासन गर्नेको यस्तै हुन्छ' भनि रणोद्वीप सिंहको टाउकोमा गोली प्रहार गरेका थिए। 'मार्यो पापीले' भन्दै रणोद्वीप सिंह पीपलपत्रमा घोप्टिन पुगे। त्यसपछि भीमसमशेरले यिनको तिघ्रामा गोली हने। धीरसमशेरका छोराहरुले रगतले मुछिएको यिनको शरीरलाई घिसार्दै भर्यांगबाट निर्ममतापुर्वक तल खसाले। भोलिपल्ट सुब्बा चन्द्रकान्त नामक एक ब्राह्मणद्वारा अति सामान्य ढंगबाट यिनको दाहसंस्कार गराइयो। दाहसंस्कारमा ५० पैसा खर्च भएको थियो। यसरी वीरसमशेर प्रधानमन्त्री रणोद्वीपसिंहसहित आफ्ना सम्पुर्ण विरोधीहरुको हत्या गरि प्रधानमन्त्रीको रोलक्रम सदाका लागि आफ्नो परिवारको घेरामा सुरक्षित गर्न सफल भए । 

वास्तवमा राणाहरु भित्र पनि जंगबहादुर र समशेरहरुबीच भएको शक्तिको झिनाझम्टी थियो। उदार र धार्मिक स्वभावका प्रधानमन्त्री रणोद्वीप सिंहलाई यसप्रकारको षड्यन्त्रको बारेमा धेरै पटक भनिएको पनि थियो तर आफ्ना भतिजाहरुलाई असाध्यै माया गर्ने रणोद्वीप सिंहले सदैव 'यस्तो हुनै सक्दैन' भन्ने जिद्धि लिए। आखिर जे नहोस भन्ने कामना थियो त्यो भएरै छाड्यो । 

यसरी जंगेले जबर्जस्त रुपमा आर्जन गरेको शासनाधिकार जंगेको खलकबाट धीरसमशेरका १७ भाइहरुको समशेर खलकमा गयो । अन्तत: धीरसमशेरका छोराहरुको नयाँ रोलक्रम बनाइयो। 

रणोद्वीप सिंहले आफ्नो शासनकालमा केहि सुधारका कामहरु पनि गरेका थिए। उनले अंग्रेजी र संस्कृत पाठशाला खुलाउनु, ठाउँ ठाउँमा भात पकाउन लगाई गरिबहरुलाई खुवाउने प्रचलन प्रारम्भ गर्नु, वि सं १९४१ मा बाचस्पति पन्तको प्रबन्धबाट पंचांग प्रकाशन गर्न लगाउनु, तेजारथको व्यवस्था गर्नु, पशुपति जाने बाटोमा नयाँ ढुंगा बिछ्याउन लगाउनु, घुसखोरी प्रथा बन्द गर्न प्रयास गर्नु आदि उनका केहि महत्वपूर्ण सुधारका कार्यहरु थिए ।  (यम चौलागाईंद्वारा लिखित 'नेपालका प्रधानमन्त्री' नामक पुस्तकबाट)