• बिहीबार, १३ बैशाख, २०८१
  • ०७:२१:१८

नेपालमा जनगणनाको इतिहास

  • Netizen Nepal
  • शुक्रबार, १० चैत, २०७९- १५:३२:००/ Friday 03-24-23

नेटिजन संवाददाता 
काठमाडौँ, १० चैत। नेपालमा वि.सं. १९६८ (सन् १९११) सालदेखि जनगणना गर्ने काम शुरु भएको र त्यसपछि लगभग प्रत्येक १०÷१० वर्षको अन्तरमा जनगणना सञ्चालन हुँदै आएको छ । पहिलो र दोस्रो जनगणनाको मुख्य उद्देश्य मालिक, कमारा कमारी, बाँधाको सूची तयार गर्ने रहेको थियो ।

वि.सं. १९९८ सालसम्म सञ्चालन भएका जनगणना सामान्य मुड गन्तिका रूपमा मात्र सीमित थिए भने वि.सं. २००९÷११ (सन् १९५२÷५४) सालदेखि सञ्चालन भएका जनगणनाहरु अन्तर्राष्ट्रिय विधि र मापदण्डको प्रयोग गरि जनसंख्याका अन्य विशेषता समेत थपेर सञ्चालन गरिएका कारण आधुनिक (वैज्ञानिक) जनगणना मानिन्छन् । वि.सं. २०१५ सालमा केन्द्रीय तथ्याङ्क विभागको स्थापना भए पछिका सबै जनगणना यस विभागले सञ्चालन गर्दै आएको छ । यस क्रममा वि.सं. २०७८ सालको राष्ट्रिय जनगणना नेपालको बाह्रौं र वि.सं. २०७२ सालमा जारी भएको नेपालको संविधान बमोजिमको संघीय प्रणाली पश्चातको पहिलो जनगणना हो ।

जनगणना सञ्चालनको लागि ठूलो परिमाणमा आर्थिक स्रोत साधन तथा जनशक्ति प्रयोग हुने र तयारीको लागि समेत लामो समय लाग्ने भएकोले जनगणनालाई एक महत्वपूर्ण राष्ट्रव्यापी महाअभियानको रूपमा लिइन्छ ।

नेपालमा सञ्चालन भएका सबै जनगणनाहरुमा महिला पुरुष अनुसार विवरण संकलन गरिदै आएको भएता पनि महिलाहरुको सामाजिक तथा आर्थिक अवस्थालाई विशेष रुपमा सम्बोधन गर्ने गरी सर्वप्रथम वि.सं. २०५८ सालमा गरिएको दशौं राष्ट्रिय जनगणनामा महिलासँग सम्बन्धित थप विवरणहरु संकलन गरिएको थियो । उक्त जनगणनामा लैङ्गिक समानताको मूलप्रवाहीकरण अन्तर्गत महिलाका नाममा भएका सम्पत्ति, महिलाका काम, विस्तारित आर्थिक काम लगायतका प्रश्नहरु थप गरिएका थिए ।

वि.सं. २०६८ सालको एघारौं जनगणनामा लैङ्गिक समानता र सामाजिक समावेशीकरणलाई प्रमुख प्राथमिकता दिई तथ्याङ्क संकलनमा विशेष पहल गरिएको थियो । यस जनगणनामा अन्य लिङ्गी (लैङ्गिक तथा यौनिक समूदाय) हरुको समेत विवरण संकलन गरिएको थियो । यस बाह्रौं जनगणनालाई लैङ्गिक समानता तथा सामाजिक समावेशी बनाउन र दीगो विकास लक्ष्यका सूचकहरु मापन गर्न समेत थप ध्यान दिई वडा, गाउँपालिका, नगरपालिका तथा प्रदेशस्तरीय तथ्याङ्क उपलब्ध हुने गरी विवरण संकलन गरिएको छ । यस जनगणनामा संयुक्त राष्ट्रसंघ जनसंख्या कोषले सिफारिस गरेको अवधारणा अनुरुप नै देशका सबै व्यक्तिहरुको गणना सुनिश्चित गर्न मेरो गणना, मेरो सहभागिता भन्ने मूल नाराका साथ कोही नछुट्ने र कोही नदोहोरिने गरी जनगणना सञ्चालन गरिएको थियो ।