'सन्तोष पन्तले इसारा गरेको त्यो केटो'
'कलाकारिता लहैलहैमा गर्ने पेशा होइन'
-
पार्वती अधिकारी
- मंगलबार, २८ चैत, २०७९- १३:५०:००/ Tuesday 04-11-23

काठमाडौँ । त्यो दिन टेलिसिरियल ’हिजो आजका कुरा’मा नयाँ कलाकार छान्ने दिन थियो । सबै नवकलाकारहरु अवसरको खोजीमा त्यहाँ जम्मा भएका थिए । पहिलोचोटी आएका र हप्तौं धाएर पनि अवसर पाउन नसकेका अझ भनौं सिरियलको पात्रका रुपमा फिट नदेखिएका र खाली हात घर फर्किएकाहरु पनि कम थिएनन् त्यहाँ । त्यो भिडबाट कलाकार सन्तोष पन्तले एउटा केटोलाई हातको इसाराले बोलाए । सायद त्यो केटोको ’गेट अप’मा उनले खोजेको पात्र भेटेका थिए ।
कलाकारसंग कला भएर मात्र हुँदैन त्यसलाई प्रस्तुत गर्ने माध्यम चाहिन्छ । त्यति बेला अहिलेको जस्तो सामाजिक संजाल छ्यापछ्याप्ती कहाँ थिए र ? केहि टेलिसिरियलहरु थिए जसमार्फत नयाँ कलाकारहरुको जन्म हुन्थ्यो । उनीहरुका लागि अवसरको ढोका खोल्ने माध्याम पनि त्यहि थियो । त्यसैले नै नवकलाकार पन्तकोमा जुत्ता फाटुन्जेल धाइरहन्थे । त्यहि केटो हुन् सलाकार सन्तोष खनाल । जो धाइमात्र रहेनन् धैर्य गरे र सफल भए ।
खनाल कलाकारिताको पनि हास्यव्यंग्य विधामा आफ्नो पकड बलियो बनाउन सफल र कुशल कलाकार हुनुहुन्छ । आफ्नो प्रचारबाजी, चर्चा परिचर्चा भन्दा पनि कर्ममा विश्वास राख्ने उहाँको कलाकारिताप्रतिको झुकाव आजको होइन बच्चैदेखिको हो । विद्यालय पढ्दादेखि नै उहाँ आफ्ना साथीहरुलाई केहि न केहि भनेर हँसाई नै रहनुहुन्थ्यो ।
नवलपरासी जिल्लाको देवचुली नगरपालिका वडा नं १५ मा जन्मनुभएका खनालको औपचारिक शिक्षाको सुरुवात प्रगति प्राथमिक विद्यालयबाट भयो । उहाँले कक्षा ५ सम्म जनज्योति प्राथमिक विद्यालय, कक्षा ८ सम्म तुलसीमेहर इङ्लिस स्कुल, काठमाडौँ, कक्षा १० सम्म नवल इङ्ग्लिस स्कुल र कक्षा १२ सम्मको अध्ययन जनज्योति कलेज नवलपरासीबाट गर्नुभएको हो। विज्ञान विषयमा कक्षा १२ उतिर्ण गरिसकेपछि उहाँ काठमाडौँ आएर त्रिचन्द्र कलेजमा विएस्सीमा भर्ना हुनुभयो । पढ्दै गर्दा उहाँलाई कलाकारितातिर बढी रुचि जाग्न थाल्यो । त्यसैले विएस्सीको पढाई बीचमै छाडेर आरआर क्याम्पसमा राजनीति शास्त्रअन्तर्गत भर्ना हुनुभयो । त्यसपछि उहाँले पहिलो पटक राजनीति शास्त्रमा, दोस्रो पटक पत्रकारिता विषयमा डिग्री हाँसिल गर्नुभएको छ ।
खनालको बा पेशाले शिक्षक हुनुहुन्थ्यो । त्यसैले सामान्य ज्ञानदेखि राजनीतिसम्मका कुराहरु उहाँले बाबाटै सिक्ने मौका पाउनुभयो । ’बुबा शिक्षक भएको कारण फाइदै थियो । विद्यालयमा मात्र होइन घरमा पनि सिक्ने मौका पाउँथें’, उहाँले भन्नुभयो । भाषामा शुद्धता, शब्दोच्चारण, निबन्ध र कथा लेखनका कुराहरु पनि उहाँलाई बाले नै सिकाउनुभएको थियो ।
२०५१ पुषमा अभिभावक दिवसको दिन पारेर विद्यालयमा ’अंग्रेजी नाटक’ मन्चन गर्ने तयारी थियो । शिक्षकहरुले खनालको नाम पनि राखीदिएछन् । त्यसअघि नाटक गर्न मन त थियो तर गर्नुभएको थिएन । वाध्यतावश उक्त नाटक गरेपछि उहाँमा अभिनयप्रतिको झुकाव अझै बढ्न थाल्यो । त्यसपछि उहाँले हरेक वर्ष विद्यालयमा नाटक प्रस्तुत गर्न थाल्नुभयो ।
उहाँ कलाकारितामा औपचारिक रुपमा भने २०५९ सालबाट लाग्नु भएको हो । त्यतिबेला उहाँले ’कुसुम नाट्य समूहमा आवद्ध भएर धेरै नाटकहरु र एचआइभीसम्बन्धि एउटा टेलिसिरियलमा समेत काम गर्नुभएको थियो । २०६१ सालमा हिजो आजका कुरा, त्यसपछि जिरे खुर्सानी, तितो सत्य, मेरीबास्सै लगायतका टेलिसिरियलमा अभिनय गर्दै हाल विभिन्न रेडियो, टेलिभिजन, विज्ञापन, सडक नाटक र कलामार्फत जनचेतना तथा सन्देश प्रवाह गर्ने काम गर्दै आउनुभएको छ । साथै जिरे खुर्सानी, गोलमाललगायतका टेलिसिरियलहरुमा स्क्रिप्ट राइटिङको काम गर्नुभएको थियो । खनालले छ एकान छ, चङ्गाचेट, विर विक्रम २, आमा लगायतका चलचित्रहरुमासमेत अभिनय गर्नुभएको छ । यति मात्र होइन, अति भो, मालामाल, डन्ट माइन्ड लगायतका टेलिसिरियल निर्देशन गरि आफ्नो निर्देशनकला प्रस्तुत गरिसक्नुभएको छ ।
कलाकारिता लहैलहैमा गर्ने पेशा होइन । भित्रबाट रुचि जाग्नुपर्छ, अनि त्यो कामले उसलाई सन्तुष्टि दिनुपर्छ ।
कलाकारले आफ्नो पेशा मात्र निर्वाह गरिरहेको हुँदैन । उसले प्रस्तुत गरेका विषय हजारौंले देख्छन र सुन्छन् ।उसको काम काम मात्र नभई समाज परिवर्तनका लागि एउटा दरिलो माध्यम पनि बन्न सक्छ । त्यसैले कलाकारिता लहैलहैमा गर्ने काम होइन । भित्रबाट रुचि जाग्नुपर्छ, अनि त्यो कामले उसलाई सन्तुष्टि दिनुपर्छ । सुरुवाती दिनमा अप्ठ्याराहरु त थिए नै तर उहाँलाई त्यसको भन्दा आफ्नो खुशी र रुचि महत्वपुर्ण भयो । ‘मेहेनत अहिले पनि त गर्नुपर्छ । गाह्रो लागेको थियो भने त यो पेशा नै गर्ने थिइनं । मैले कलाकारिता गर्दा हरेक चुनौतीहरुसंग मजा लिएँ’, उहाँले भन्नुभयो ।
हरेक पेशाहरु समान हुन् । हरेक कामको महत्व हुन्छ । त्यसैले कलाकारितालाई मात्र महत्व दिएर कलाकारलाई ’राष्ट्रको गहना’भनिनु गलत भएको उहाँ बताउनुहुन्छ । ’दैनिकी चलाउँदै गर्दा र जीवन बाँच्दै गर्दा हरेक पेशामा आवद्ध मानिस हामीलाई आवश्यक पर्छ । ती सबै व्यक्तिहरु गहना भन्दा कम मूल्यका छन् र ?’, उहाँले प्रश्न गर्नुभयो । एउटै व्यक्तिलाई कसैले ढुंगा देख्न सक्छ कसैले गहना । तर राम्रो भन्दा फुर्किने र नराम्रो भन्दा आत्तिने बानि राम्रो होइन । कलाकार मात्र नभइ हरेक व्यक्तिले स्वमुल्यांकन गर्न जरुरी रहेको उहाँको तर्क छ ।
’सडक नाटक गर्दा काम मात्र होइन घुम्ने अवसर पनि पाइन्छ । हरेक ठाउँ र रहनसहनका बारेमा अनुभव आदानप्रदान हुन्छ । काम, दाम र घुमघामसमेत हुने भएकाले पनि सडक नाटक गर्दा निकै खुशी लाग्छ।'
खनाललाई काम गरेमध्ये सबैभन्दा आनन्द सडक नाटक गर्दा मिल्छ । सडक नाटक गर्दा प्रत्यक्ष दर्शकहरुसंग प्रतिक्रिया लिन सकिन्छ । सडक नाटककै सिलसिलामा उहाँले नेपालका धेरै जिल्लाहरु भ्रमण गर्ने अवसर पाउनु भएको छ । ’सडक नाटक गर्दा काम मात्र होइन घुम्ने अवसर पनि पाइन्छ । हरेक ठाउँ र रहनसहनका बारेमा अनुभव आदानप्रदान हुन्छ । काम, दाम र घुमघामसमेत हुने भएकाले पनि सडक नाटक गर्दा निकै खुशी लाग्छ’, उहाँले भन्नुभयो । रेडियो एचविसीबाट रेडियो यात्रा सुरु गर्नुभएका खनाल अहिले पनि रेडियो एनआरएनमा कार्यक्रम संयोजकका रुपमा काम गर्नुहुन्छ । हाल उहाँ प्राइम टेलिभिजनमा तीन पुस्ता, मुन्द्रेको कमेडी क्लबमा लेखन, सोह्र दुना आठ नामक कमेडी सिरियलको स्क्रिप्ट र निर्देशन र विज्ञापनहरुको काममा आवद्ध हुनुहुन्छ ।
अहिलेसम्म गरेका हरेक कामहरु उहाँलाई महत्वपुर्ण नै लाग्छ । तीमध्ये नेटिजन मिडियाद्वारा निर्मित ’स्फेयर मापदण्ड’का बारेमा बनाइएको नाटक विशेष लाग्ने बताउँदै उहाँ भन्नुहुन्छ, ’स्फेयर मापदण्डका बारेमा एउटा किताब नै नाटकमा उतार्नुपर्ने थियो । कतिपय शब्द र डाटालाई जस्ताको त्यस्तै उतार्नु त्यति सजिलो काम थिएन । मैले आँट गरें । सायद राम्रो पनि भयो ।’ त्यसैले कलाकारितालाई कलासंगै संदेश प्रवाहको माध्यम बनाउनुपर्ने उहाँको भनाई छ ।
सामाजिक संजालले विकृति मात्र होइन अवसरको ढोका पनि खोलिदिएको छ ।
हरेक कुराको सकारात्मक र नकारात्मक पाटो हुन्छ । त्यस्तै पछिल्लो समय सामाजिक संजालले धेरै विकृति मात्र होइन अवसरको ढोका पनि खोलिदिएको छ । ’नकारात्मक पाटोलाई वेवास्ता गर्ने हो भने यसका सकारात्मक पाटोहरु धेरै छन् । आफुमा भएको कला प्रस्तुत गर्न बाहिर भौंतारिनु पर्ने अवस्था छैन । घरभित्रै बसेर दुनियाँसामु कला प्रस्तुत गर्न सकिन्छ । जसका कारण धेरै कलाकारहरुको जन्म पनि भएको छ’, उहाँले भन्नुभयो । अझ उहाँले त देशमा भए गरेका कुराहरु तुरुन्तै पोख्ने माध्यमका रुपमा समेत सामाजिक संजालको प्रयोग गर्नुहुन्छ । टेलिसिरियलमा त्यहि कुरा भन्न एक हप्ता कुर्नुपर्थ्यो । सामाजिक संजालमा तुरुन्तै सार्वजनिक गरेपछि आफ्नो मन पनि हलुका हुने र त्यो विषयमा अरुका विचार पनि बुझ्न सकिने उहाँको भनाइ छ ।
हाँस्यव्यंग्य विधा नेपालमा मात्र नभई विश्वभर नै चर्चित् कलाको विधा हो । व्यंग्यात्मक तरिकाले जटिल भन्दा जटिल विषयलाई पनि प्रस्तुत गर्न सक्नु एउटा कुशल कलाकारको क्षमता पनि हो । कलाकार खनाल पनि आफुलाई चित्त नबुझेको कुरा व्यंगात्मक शैलीमा प्रस्तुत गर्दा मन हलुका हुने बताउनुहुन्छ । गलत कामको खबरदारी गर्ने काममा पनि हाँस्यव्यंग्यले विशेष अर्थ राख्ने उहाँको तर्क छ ।
’हरेक व्यक्तिलाई राजनीतिमा लाग्ने छुट छ । मानिस न्युट्रल भएर बस्न सक्दैन । म न्युट्रल छु, कुनै पार्टीमा आवद्ध छैन भन्छ भने उसले ढांटेको हो । काहीं न काहींबाट मान्छेको झुकाव हुन्छ नै । तर कलाकारितामा नै राजनीति मिसाउनु भने हुँदैन ।’
पछिल्लो समय कलाकारहरुको राजनीति मोह बढ्दो छ । अझ भनौं, कलाकारहरु पार्टी प्रवेश गर्ने, चुनाव लड्ने क्रम पनि बढेको छ । रहेक व्यक्तिको अन्तर मनमा एउटा न एउटा पार्टीप्रति झुकाव हुन्छ । केहिले सार्वजनिक रुपमा व्यक्त गर्छन भने केहिले गर्दैनन् । कलाकार पार्टीमा प्रवेश गर्नु उसको मौलिक हक भएको बताउँदै खनाल भन्नुहुन्छ, ’हरेक व्यक्तिलाई राजनीतिमा लाग्ने छुट छ । मानिस न्युट्रल भएर बस्न सक्दैन । म न्युट्रल छु, कुनै पार्टीमा आवद्ध छैन भन्छ भने उसले ढांटेको हो । काहीं न काहींबाट मान्छेको झुकाव हुन्छ नै । तर कलाकारितामा नै राजनीति मिसाउनु भने हुँदैन ।’
दक्षता नभएका व्यक्ति हरेक पेशाका लागि अयोग्य हुन्छन । त्यस्तै कलाकारितामा लाग्ने व्यक्तिले पनि सिकेर, बुझेर र अध्ययन गरेर मात्र आउन उहाँ सुझाव दिनुहुन्छ । ’संगीत, नृत्य, अभिनयदेखि एउटा बैंकको काम, ड्राइभिङ पेशा गर्ने व्यक्तिले पनि सिकेरै काम गर्नुपर्ने हुन्छ । नसिकी गाडी चलायो भने तुरुन्तै दुर्घटना हुन्छ । नसिकी कलाकारिता गर्यो भने पनि दुर्घटना हुन्छ । फरक यत्ति हो यसमा भएको क्षति भौतिक रुपमा देखिंदैन’, उहाँले भन्नुभयो ।