• शुक्रबार, १४ बैशाख, २०८१
  • ११:५५:५४

एक लाख बाँदर बेच्ने तयारी

  • Netizen Nepal
  • बिहीबार, ३० चैत, २०७९- १०:५१:००/ Thursday 04-13-23

नेटिजन संवाददाता 
काठमाडौँ, ३० चैत । श्रीलङ्काले चीनलाई एक लाख बाँदर निर्यात गर्ने तयारी गरेकाे छ । श्रीलङ्काले लोपोन्मुख छोटो पुच्छर भएको बाँदर (टोक मकाक) चीनलाई बेच्ने तयारी गरेकाे अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन् । याे बाँदरलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आईयूसीएन) ले सङ्कटापन्न वन्यजन्तुको सूचीमा राखेकाे छ । 

श्रीलङ्काले प्राय सबै प्रकारका जीवित जनावरहरूको निर्यातमा प्रतिबन्ध लगाएको छ । पछिल्लाे समय खराब आर्थिक सङ्कटको सामना गरिरहेको श्रीलङ्काले बाँदर बिक्रीबाट अर्थतन्त्रमा केही योगदान पुग्ने आशा लिएकाे छ । बाँदर बिक्रीका लागि चीनबाट आएकाे प्रस्ताव सार्वजनिक गरिए पनि कति मूल्यमा बाँदर बेच्ने भन्नेबारे सार्वजनिक गरिएकाे छैन । श्रीलङ्काका कृषिमन्त्री महिन्दा अमरवीराले चीनमा चिडियाखानामा राख्नका लागि बाँदर लैजाने याेजना रहेकाे जनाउँदै यसबारे अध्ययनका लागि समिति गठन गरेकाे बताउनु भएकाे छ । 

अमरवीराले एएफपीसँग भन्नुभयो, 'चीनमा रहेका एक हजारभन्दा बढी चिडियाखानाका लागि बाँदर लैजाने तयारी रहेकाे छ । मैले यसबारे अध्ययन गर्न र हामी यो कसरी गर्न सक्छौँ भनेर हेर्न एक समिति गठन गरेको छु ।'

बाँदरले कृषिबालीलाई क्षति पुर्याउने भएकाले तथा यिनिहरूको सङ्ख्या अत्यधिक भएका कारण श्रीलङ्कामा बाँदरलाई कृषकको शत्रुका रूपमा लिने गरिन्छ । श्रीलङ्का सरकारको तथ्याङ्कमा ‘टोक मकाक’को सङ्ख्या २० लाखदेखि ३० लाखको बीचमा रहेकाे अनुमान गरिएको छ ।