• शनिबार, ८ बैशाख, २०८१
  • ०४:५८:४७

ओडिआईमा नेपालको हालसम्मकै उच्च स्कोर

  • Netizen Nepal
  • शुक्रबार, ८ बैशाख, २०८०- १३:२५:००/ Friday 04-21-23

नेटिजन संवाददाता 
एसीसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपालले ओमन सामू जितका लागि ३११ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा ३१० रनको र्कीतिमानी योगफल बनाएको हो । एकदिवसीय खेलमा नेपालले यसअघि आइसिसी विश्वकप क्रिकेट लिग–२ मा पपुवा न्युगिनीविरुद्ध २९७ रन बनाएको थियो ।

र्कीतिमानी लक्ष्य बनाउनका लागि नेपालका लागि कुशल मल्लले पहिलो शतकीय पारी खेले । कूल ६४ बल खेलेका मल्लले १० छक्का र नौ चौकाको सहयोगमा १०८ रन बनाए । खेलको सुरुआत निकै खराब भए पनि मध्येक्रमका ब्याटरले राम्रो साझेदारी गरेपछि नेपाल बलियो स्थितिमा पुुगेको हो । 

दुवै ओपनर शून्य रनमा आउट भएपछि नेपालले खेलको २८औँ बलमा मात्रै खाता खोलेको थियो । तेस्रो विकेटका लागि कप्तान रोहितकुमार पौडेल र भीम सार्कीले ५४ रनको साझेदारी गरेका थिए । कप्तान रोहितले २३ रन बनाउँदा भीम ३३ रनमा आउट भए । 

पाचौं विकेटका लागि कुशल मल्ल र आरिफ शेखले ७५ रनको साझेदारी गरेका थिए । आरिफ २९ रन बनाउँदै आउट भएका थिए ।  

यसैगरी सोमपाल कामीले ४८ बलमा ६३ रनमा अविजित रहे । सोमपाल कामीले ४९ बलमा ७ चौका प्रहार गरे । त्यस्तै करण केसीले १५ बलमा २९ रन बनाउँदै अविजित रहे ।

बलिङतर्फ ओमानका लागि आयान खानले दुई विकेट लिए भने बिलाल खान, कलिमुल्लाह खान, जिशान मकशुद, फायाज बट र जतिन्दर सिंहले समान एक÷एक विकेट झारे । 

साथै समूह बी अन्तर्गत मूलपानीमा भइरहेको खेलमा हङकङले यूएईलाई २६४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।