• शुक्रबार, १४ बैशाख, २०८१
  • ०३:२१:४८

भुत ! को भुत ?

'हामी यसै पनि आफुले भन्दा भिन्न काम गर्नेहरुलाई कि त पागल भन्छौं, कि भुत'

हामी भुतका कुरा गर्छौं र डराउँछौं । सायद भुतलाई पनि मानिस देख्दा भुत जस्तै लाग्छ होला । उ पनि डराउँदो हो । अनि उ पनि झाँक्री बाकहाँ जाँदो हो, सात्तो बोलाउन ।      

 

केहि दिन अघि मैले एउटा र्याप गीत सुनें ।  
'को हो भाइ भुत ?
यो हो भाइ भुत ? 
हान्दे न तन्कार थोप्डामा 
मरेको मान्छेलाई आएर तर्साउने ?
के खालको बिल्ला यो ?
भएन भाइ भुत'

गीत सुन्दा सुन्दै यस्तो लाग्छ, केटोको सातो उड्यो । तर सातो उडे पनि ऊ ज्याद्रो छ । हत्तपत्त गल्नेवाला भने छैन । हुन त मान्छे अन्तिम अवस्थासम्म पनि बाँच्ने सङ्घर्षमै हुन्छ । यो गीतको पात्र पनि कहिले भुतलाई थर्काउँछ, कहिले आफ्नो पावर देखाइटोपल्छ । उसको आँखा र होस दुवै ठेगानमा भने हुँदैन । हामी पनि त्यहि गर्छौं । सकेसम्म बाँच्नु त पर्यो । 

उसले त थर्कायो मात्र । केहि केहि मानिस त त्यसरी डर लाग्यो भने घरमा पुगेर सुकेको खुर्सानी डडाउँन थालिहाल्छन । पिरो बनाएर भुत भगाउन । भुतलाई असर गर्थ्यो गर्दैनथ्यो तर खुर्सानी डडाउनेलाई उल्टै खार लागेर आधि घण्टासम्म लहरे खोकी भने अवश्य पनि लाग्छ । यति गरेपछि मनमा शान्ति छाउँदो हो, अनि मनको भुत पनि भाग्दो हो ।  

सानोमा भुतको कथा खुबै सुनिन्थ्यो । गाउँका बुढापाकाहरुको कामै भुतको कथा सुनाउने हुन्थ्यो । हामी पनि चाख दिएर सुन्थ्यौं । कम से कम दुई चार दिनलाई डराउँन त हुन्थ्यो । उनीहरुले भुत देखे देखेनन्, दैव जानुन । या दैव बनिसकेका उनै बाजे बराजुले जानुन । तर उनिहरुले आफ्नो कथाको छाप भने गज्जबैसंग छाडेर गए । जुन हाम्रो मस्तिष्कबाट हटाउन खोजेर पनि हट्दैन । अझ वनजंगल र खोला खोल्सातिर साँझ बिहान एक्लै हुँदा त दिमागमा पहिलो झड्कामै आउने कुरा भनेकै 'भुत' हो । डाँडाको चिहान र खोला किनारको घाटमा पुग्दा पनि डर लागोस नलागोस आफ्नो ठाउँमा छ, मनमा भुतको एक टुक्रो खुसुक्क खसिहाल्छ । ओहो ! मैले तपाईंको मनमा त्यस्तो हुन्छ भनिनं, म अहिले मेरो मनको कुरो गर्दैछु । 

हामी डर र एन्जाइटीका कारण बिरामी भएका हुन सक्छौं । धामी झाँक्रीलाई पनि साइकोलोजीसम्बन्धी  अध्ययनहरुले 'ट्रेडिसनल हिलर'का रुपमा मान्ने गरेको छ ।

 

घरभन्दा तल एउटा खोंच थियो । सुर्यको प्रकाशले राम्ररी नभेट्ने त्यो ठाउँमा भुत आउँछ भन्ने विश्वास गरिन्थ्यो । महिला, बालबालिकाहरु त त्यो ठाउँमा हत्तपत्त जाँदैनथे । त्यो ठाउँको आसपासमा कहिलेकाहीं पुगीहाल्यौं भने म्याराथनको दौडमा भन्दा वेगले कुदेर घर जान्थ्यौं । एक्लै हुँदा त झन् सातो पुत्लो उड्थ्यो । पछाडीबाट भुत आएर च्याप समाएर घोक्र्याउँछ कि भन्ने पनि लाग्थ्यो । यस्तै डरै डरका कारण कहिलेकाहीं त त्यो ठाउँमा पुगेकै दिन हनहानी ज्वरो आइटोपल्थ्यो पनि ।

झाँक्री बाकोमा गएर धुप सल्काएर तन्तरमन्तर गरेपछि एक दुई दिनमा ठिक पनि हुन्थ्यो । झाँक्री बासंग त्यस्तो के अचुक मन्त्र छ होला ? मनमा सधैं यो प्रश्न आइरहन्थ्यो । सोध्ने आँट भने कहिल्यै आएन । अहिले सोच्दा लाग्छ, हामी डर र एन्जाइटीका कारण बिरामी भएका हुन सक्छौं । धामी झाँक्रीलाई पनि साइकोलोजीसम्बन्धी  अध्ययनहरुले 'ट्रेडिसनल हिलर'का रुपमा मान्ने गरेको छ ।   

उनीहरुका अनुसार त्यस ठाउँमा भुतले चुक्ति रातभरि नै डंगडंग नौमती बाजा बजाउँथ्यो र गीत गाउँथ्यो । भुतलाई गीत संगीत र नाचगाना औधी मन पर्ने रहेछ । हजुरबाहरु किन नाचेनन् होला सित्तैमा बाजा बज्दा पनि ? म भएको भए गएर छमका छम नाचीदिन्थें । पहिलाका बाजेहरु त्यति रवासिला रहेनछन् क्यारे ।  

त्यो गानाबजानामा मानिस पनि सहभागी हुन्थ्यो भने कति प्रदुषण गर्थे होला ?  दुर्गन्ध फैलाउँथे । या पार्टी हान्ने क्रममा जोशमा आएर ५/७ बाकस बियर घुटुक्कै पार्थे । त्यति भइसकेपछि नौमती बाजा घटेर एकमति पनि हुन्थ्यो हुँदैनथ्यो । भुतहरु त्यस्तो गर्दैनथे । बाजा बजाउँथे, नाचगान गर्थे।  बाटो लाग्थे । त्यति गर्दा त्यो ठाउँमा बनमाराको पात पनि भाँचीएको हुँदैनथ्यो । मान्छेले त्यति गर्थ्यो भने घरको ढोका र झ्यालका सिसा फुटाइसकेको हुन्थ्यो । भुतहरु मानिसभन्दा निकै सभ्य र प्रकृतिप्रेमी हुँदा रहेछन ।  

आजभोलि उबेला जस्तो भुतले बाजा बजाउँदैन । बजायो भने त अहिलेका युट्युबेले भुतलाई नै च्याप समाएर अन्तर्वार्ता दिन लगाउँथे होला । आजभोली राकस पनि आउँदैन । आइहाल्यो भने पनि मानिसहरुसम्म आइपुग्दैन । किनकी आजकाल मानिस आफैं राकस भइसकेका छन् ।

अहिले त मानिसले भुतको घर पनि मासेर आफ्नै घर बनाउँन थालेका छन् । आजकाल कुना काप्चामा भुतका लागि छुट्याइएको घर पनि अतिक्रमण हुन थालेको छ ।  

 

पछि मानिसले त्यहि 'भुत आउँछ' भनेकै ठाउँमा डोजर चलाए । त्यसपछि मान्छेले भुतका कुरा गर्न छाडे, डराउन पनि छाडे । वन र मन दुवैतिरको भुत भाग्यो । अहिले त मानिसले भुतको घर पनि मासेर आफ्नै घर बनाउँन थालेका छन् । आजकाल कुना काप्चामा भुतका लागि छुट्याइएको घर पनि अतिक्रमण हुन थालेको छ ।   

उतिबेला अहिलेजस्तो ध्वनि प्रदुषण हुँदैनथ्यो । बाजे बराजुकै कुरालाई मान्ने हो भने डाँडामाथि गएर कटुवालले कराएको आवाज सारा गाउँभरी सुनिने त्यो बेला भुतले बाजा बजाएको पनि सुनियो कि ? अहिले त कोलाहाल यति बढेको छ कि कानमै आएर चिच्यायो भने मात्र सुन्छन नत्र कसलाई के मतलब ? या सरु भक्तको 'पागल बस्ति' उपन्यासमा जस्तै मानिसले फरक बस्ति बसाएको ठाउँ र त्यहीं आफ्नो चलन र ढंगअनुसारको नाचगाना र रमाइलो गर्ने चलन पनि हुन सक्छ ।

हामी यसै पनि हामीले गरेको भन्दा भिन्न काम गर्नेहरुलाई कि त पागल भन्छौं, कि भुत । भुतहरुले 'पागल बस्ति'का पात्रहरुले जस्तै बस्ति छाडेर त गएनन् ? अथवा यो पनि हुन सक्छ की कुकुरले निलो र पहेंलो रंग मात्र देख्न सकेजस्तै, भुतको पनि कुनै रंग हुन सक्छ, जुन मानिसले पहिचान गर्न सक्दैन ।   

खयर जे होस्, भुतले आजसम्म कुनै बिराम गरेको छैन । नचाहिने काम गरेको छैन । प्रकृतिको संरचना नै खलबलिने खालका क्रियाकलाप गरेको छैन । जति गरेको छ, मानिसले नै गरेको छ । 

भुतले आजसम्म कुनै बिराम गरेको छैन । नचाहिने काम गरेको छैन । प्रकृतिको संरचना नै खलबलिने खालका क्रियाकलाप गरेको छैन । जति गरेको छ, मानिसले नै गरेको छ । 

 

पूर्वीय दर्शनअनुसार दुनियाँ पञ्चतत्वले बनेको छ । पृथ्वी, जल, वायु, आकाश, अग्नि । यीमध्ये एउटालाई मात्र अलग गराउने हो भने पनि पृथ्वीका जीवहरुको अस्तित्व समाप्त भएर जान्छ । फेरि मानिसको शरीरलाई पनि यहि पञ्चतत्वकै मिश्रणका रुपमा लिइन्छ । यद्द्यपि, सर्वश्रेष्ठ मानिएका हामी मानवले नै यी सबै तत्वहरुको दोहन गरि जतिसक्दो नष्ट गर्ने काम गरिरहेका छौं । प्रकृतिको विनास मानिस विनास हुने बाटो हो, तर हामी त्यो सोच्दैनौं । 

हाम्रै वरिपरिको पञ्चतत्वलाई हेरौं, न जल जलजस्तो छ, न हावा स्वच्छ छ, आकाशको सकस छुट्टै छ, इन्धनहरु उत्खनन् गरेर पृथ्वीलाई छियाछिया बनाउने काम भएको छ । प्रकृतिले त मानिसलाई बाँच्नका लागि सबै थोक नै दिएको छ ।  तर मानिसले दिएको चिजको पनि सदुपयोग गरेनन ।  बरु उल्टै बिगारे । 'बाँदर जस्तो' भनेर बाँदर जातिको नै बिल्ला गर्नुभन्दा पहिले यो पनि सोच्न जरुरी छ कि, बाँदर अलि सगसग गर्ने बानी भएको प्राणी हो । तर यसले कसैलाई केहि गर्दैन । जंगल मासेर सखाप पारेपछि किसाको बारीमा आहारा खोज्न जानु त उसको बिडम्बना नै हो । उसले जंगलको एउटा हाँगो पनि भाँचेको छैन ।  

आफुले आफैंलाई मात्र होइन, प्रकृतिका सबै प्राणीहरुलाई शान्तिसंग बाँच्न दिएका छैनौं । त्यहि हावाको माध्यामबाट आफ्नो प्राण बचाईरहेका हामीले हावालाई पनि शान्तिको सास फेर्न दिएका छैनौं । 

घरको फोहोर नदीमा फालेर घर आँगन सफा राखेको भ्रम हामी मानिसलाई नै हुन्छ । जसका कारण हाम्रो वरिपरि घातक दुर्गन्ध, फोहोर, महामारी हरेक कुराहरु फैलिरहेको भने देख्दैनौं । आफुले आफैंलाई मात्र होइन, प्रकृतिका सबै प्राणीहरुलाई शान्तिसंग बाँच्न दिएका छैनौं । त्यहि हावाको माध्यामबाट आफ्नो प्राण बचाईरहेका हामीले हावालाई पनि शान्तिको सास फेर्न दिएका छैनौं । 

'भित्ताको पनि कान हुन्छ' होइन, बरु 'हावाकोचाहिं कान हुन्छ ।' तर प्रदुषणकै कारण हावाको कानको जालीमा पनि समस्या आउन थालेको छ । हावाको जाली फोहोर हुनु भनेको मानिसको फोक्सो फोहोर हुनु हो ।  हामीले आफ्नो फोक्सो आफैंले फोहोर बनाएका हौँ । बाँदरको फोक्सो बिगार्ने पनि हामी मानिस नै हौँ ।  अनि बाँदरले आफ्नो घर पनि बनाउँदैन अरुको घर पनि बन्न दिंदैन रे ।  यो उखान मानिस पट्टि 'ट्रान्सफर' गर्दा हुन्छ बरु ।  'मानिस आफु पनि स्वस्थ भएर बाँच्दैन र प्रकृतिका जीवहरुलाई पनि ढुक्कले बाँच्न दिंदैन ।'   

गर्ने जति भुत काम मानिसले नै गरेर अझ भुतसंग डराउन हामीलाई लाज भन्ने कुरो इत्ति पनि लाग्दैन । भगवान पनि वन जंगल र स्वच्छ हावापानी भएको ठाउँमा बस्न रुचाउँछन् । भुतहरु पनि मानिसले प्रकृतिलाई कोतरेर छियाछिया पारेको ठाउँमा नबस्दा हुन् ।  शहरमा त झन् मान्छे र घरहरुको ठेलम ठेलमा भुत र देउता दुवैलाई उकुसमुकुस हुन्छ । अनि यहि शहरमा पनि भुत आउँछ भनेर मानिसहरु किन डराउँदा हुन् ? 

चोक, गल्लि र चिया पसलहरुमा गफ चुटेर दिन काट्नेहरु देशमा राजनीतिक विषय अलि सुस्ताएको बेला  मसलाका रुपमा विषय खोजिरहेका हुन्छन् । त्यहि बेला एउटाले एलियनको कुरा गर्छ, अर्काले भुत । कहिलेकाहीं त आफ्नै कर्तुतको कुरा पनि गरे हुने नि । फेरि अर्काले भन्छ, ' 'तैट केका भुत ?' त्यहि मान्छे हो, एक वर्षअघि कसैले आत्महत्या गरेको कोठा सित्तैमा दिन्छु भन्दा पनि तर्किएर हिंडेको ।  

हामी भुतका कुरा गर्छौं र डराउँछौं । सायद भुतलाई पनि मानिस देख्दा भुत जस्तै लाग्छ होला । उ पनि डराउँदो हो । अनि उ पनि झाँक्री बाकहाँ जाँदो हो, सात्तो बोलाउन ।