• बिहीबार, १० जेठ, २०८१
  • १२:५४:४८

जुन ३: पृथ्वी सबैभन्दा तातो भएको दिन

  • Netizen Nepal
  • बुधबार, २० असार, २०८०- १४:४७:००/ Wednesday 07-05-23

नेटिजन संवाददाता 
काठमाडौँ, २० असार । गत सोमवार विश्वको सबैभन्दा गर्मी दिन भएको अमेरिकी मौसमविद्हरूले बताएका छन् । अमेरिकाका सरकारी वैज्ञानिकहरूले विश्वको औसत तापक्रम १७ डिग्री सेल्सियसभन्दा माथि पुगेको बताएका हुन् ।

उनीहरूले नयाँ कीर्तिमान १९औँ शताब्दीको अन्त्यसम्मको कुनै पनि उपकरणमा अभिलेख गरिएको सबैभन्दा उच्च रहेको बताएका छन् । सोमवारको तापमानले यसअघि सन् २०१६ मा कायम भएको सर्वाधिक तापमानको कीर्तिमान तोडेको छ ।

चीन, उत्तर अफ्रिका र दक्षिण अमेरिकामा हालै चलेको गर्मीको लहरबाट अवस्था प्रभावित भएको छ। अनुसन्धाताहरूले जलवायु परिवर्तन प्राकृतिक जलवायु अवस्था एल निन्योको सुरुवातसँग सम्बन्धित भएको ठानेका छन्।

कतिपयले उक्त जलवायु अवस्था र मानवजातिले निरन्तर गरिरहेको कार्बन डाइअक्साइड उत्सर्जनको संयोजनले तातो बढाएको बताएका छन् । इम्पेरियल कलेज लन्डनका एक जना वैज्ञानिक फ्रेड्रिक ओटोले विश्व तापमानको नयाँ अवस्थालाई मानिस र पारिस्थितिक प्रणालीका लागि मृत्युदण्डको सजाय रहेको बताए । गत महिना विश्वमा हालसम्मकै सबैभन्दा गर्मी जून महिना भएको पनि पुष्टि गरिएको छ।

तापमानको वृद्धि कति ?

जुलाई ३ तारिखमा विश्वको औसत तापक्रम १७.०१ डिग्री सेल्सियस पुगेको यूएस न्याश्नल सेन्टर्स फर इन्भाइरोमेन्टल प्रेडिक्सनका वैज्ञानिकहरूले बताएका छन्। यसले अगस्ट २०१६ मा १६.९२ डिग्री सेल्सियससहित विगतमा कायम कीर्तिमान तोडेको उनीहरूको भनाइ छ।

यस वर्षको सुरुवातदेखि नै अनुसन्धानकर्ताहरू जमिन र समुद्रमा बढ्दो तापक्रमलाई लिएर चिन्तित छन् । स्पेन र एशियाका धेरै देशहरूमा वसन्त ऋतुमा अधिक गर्मी बढेको घटनापछि उत्तरी सागरजस्ता स्थानहरूमा समुद्री उष्ण लहरको घटनाक्रम देखिएका छन् । उल्लिखित स्थानहरूमा सामान्यतया मौसम त्यस्तो हुँदैन थियो ।

यसै साता चीनमा ३५ डिग्री सेल्सियस भन्दा माथिको तापमानसहित उष्ण लहर चल्यो। त्यस्तै दक्षिणी अमेरिका पनि गर्मी चर्किएको छ ।सन् १९७९ मा भूउपग्रहमार्फत् अनुगमनको अभिलेख राख्न सुरु भएयता सोमवारको तापक्रम सबैभन्दा उच्च हो । धेरैले यसमा पूर्वी प्रशान्त महासागरको तापक्रममा निर्भर एल निन्योको असरतर्फ सङ्केत गरेका छन् ।

द एल निन्यो सदर्न असिलेशन वा ईएनएसओ भनिने जलवायु प्रणालीका तीन फरक चरणहरू छन्- तातो, चिसो वा तटस्थ। यो पृथ्वीको कुनै कुनाको जलवायु प्रणालीमा हुने सबैभन्दा शक्तिशाली उतारचढाव हो । "हामीसँग भरपर्दो अभिलेखहरू उपलब्ध भएयता पहिलो पटक विश्वव्यापी सतहको वायुको तापमान १७ डिग्री सेल्सियससम्म पुगेको छ। यो संसारका लागि एउटा महत्त्वपूर्ण प्रतीकात्मक कोशेढुङ्गा हो," जलवायु अनुसन्धाता लियोन सिमोन्सले भने, "अब एल निन्योको तातो चरण सुरु हुँदैछ। अबको एक डेढ वर्षमा तापमानको प्राय सबै दैनिक, मासिक र वार्षिक कीर्तिमानहरू तोडिने आशा गर्न सक्छौँ।"

सन् १८५० र १९०० बीचको अवधिमा पूरा पृथ्वीको तापमान औसत १.४६ डिग्री सेल्सियस थियो । यूकेमा पनि गत महिना सबैभन्दा गर्मी जून कायम भएको छ भने त्यहाँका मानिसले तापमान वृद्धिको प्रभावको चरम अवस्था भोगिरहेका छन् । युक्रेनको भेर्नाडस्की रिसर्च बेसमा लिइएको विवरणका अनुसार अन्टार्कटिकामा ८.७ डिग्री सेल्सियससहित जुलाईको तापमान कीर्तिमान तोडिएको छ ।

वैज्ञानिकहरूले गर्मी बढ्दै जाँदा र एल निन्योको प्रभाव थपिँदै जाँदा यसअघि कायम थप कीर्तिमानहरू तोडिने विश्वास गरेका छन् । एन निन्यो हाल पूर्ण रूपमा सक्रिय रहेकाले जुलाई र अगस्ट महिना थप न्यानो हुने वैज्ञानिकहरूले बताएका छन्। यद्यपि उनीहरूका अनुसार पृथ्वीको दक्षिणी गोलार्धको तापमान आगामी केही दिनमा अलिकति घट्ने सम्भावना छ ।

नेपालमा स्थिति कस्तो ?

नेपालमा मौसमसम्बन्धी पूर्वानुमान गर्ने जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष बर्खायामको चार महिनाको अवधिमा सरदर पानी कम पर्ने र गर्मी बढी हुने अनुमान गरिएको छ । विभागले मे ४ तारिखमा सार्वजनिक गरेको एक प्रतिवेदनका अनुसार जूनदेखि सेप्टेम्बरसम्मको चार महिनाको अवधिमा अधिकतम तापक्रम र न्यूनतम तापक्रम धेरैजसो भूभागमा सरदरभन्दा बढी नै हुनसक्ने देखिएको हो ।

नयाँ तथ्याङ्क अनुसार विवरण राख्न थालिएयता सन् २०२२ अति गर्मी भएको वर्षमा पाँचौँ स्थानमा पर्छ । ला निन्या भनिने अर्को जलवायु प्रणालीका कारण सन् २०२३ अझ बढी गर्मी हुनसक्ने भन्दै वैज्ञानिकहरूले चेतावनी दिएका थिए ।

विश्वव्यापी तापक्रम घटाउँदै आएको ला निन्या अवस्थाको अन्त्य हुन लागेका कारण चिन्ता बढेको हो । त्यही पूर्वानुमान नेपालको हकमा पनि गरिएका कारण हामी पनि सचेत हुनुपर्ने मौसमविद्हरू बताउँछन् ।

एल निन्यो र ला निन्याको अवस्था सामान्यतया दुईदेखि सात वर्षमा देखापर्छ र धेरैजसो ९ देखि १२ महिनासम्म रहन्छ । ला निन्याको अवस्था एल निन्योभन्दा कम देखापर्छ ।

एल निन्यो र ला निन्याले निम्त्याउने मौसमको चरम अवस्थाका कारण विश्वभरि नै भौतिक संरचना, खाद्यान्न र ऊर्जा प्रणालीमा असर गर्छ । संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठनका अनुसार एल निन्योका कारण क्यानडा र एशियामा सन् २०१४ देखि २०१६ सम्ममा भएको खडेरीका कारण ६ करोडभन्दा बढी मानिसको खाद्य सुरक्षामा असर गरेको थियो । विविसी ।