• आइतबार, १६ बैशाख, २०८१
  • ०१:५२:४९

सरीताको छाया 

  • Netizen Nepal
  • सोमबार, ८ श्रावण, २०८०- १६:१०:००/ Monday 07-24-23

तारिणी प्रसाद कोइराला 

श्मशान !
नदीको एकोहोरो प्रवाह ।  डुब्न लागेको सुर्यको पहिलो घाम, मृतप्राय: रोगिको भावरहित अनुहारजस्तै निर्जीव छ, भावरहित छ । चारैतिर शान्ति छ, चकमन्न छ । कहिलेकाहीं विधवाको सुस्केरोजस्तो हावा सुस्केरो फेरेर एकान्त वातावरणमा सन्नाटा ल्याइदिन्छ ।  सिमलका विशाल रुखका नाङ्गा हाँगाहरु कालले डरलाग्दो हात पसारेर तान्न खोजेजस्तै फैलिएका छन् ।  त्यसमा दुई चारओटा गिद्ध एकरत्ति नहल्लिएर धुमधुम्ती बसेका छन्।  यस्तो लाग्दछ, मानौं काल सूर्तिमान भएर कसैको निम्ति पर्खिरहेको छ ।  एक एक गरि अरु पनि गिद्ध आउँछन र आफ्नो भद्धा पखेंटाबाट नराम्रो आवाज निकाल्दै भ्याद भ्याद गरेर सारा हाँगोलाई हल्लाएर बस्तछन ।  एकछिनमा फेरि शान्ति हुन्छ ।  हाँगा हल्लिन छाड्छन र चारैतिर चकमन्न ।  नदी किनारको बालुवाको सेतो फाँटबाट दुगुर्दै आएर एउटा स्याल टाढा बयरको झ्यांगभित्र पस्दछ ।  

सुकेको पातलाई कुल्चिएको स्वरको आवाज झ्यांगभित्रबाट आउँछ ।  बालुवालाई नै छुनेगरि एउटा हुट्टीट्याउँ उडेर कराउँदै नदी पार गरि एउटा ढिस्कोमा गएर बस्छ र फेरि कराउँदै उड्छ ।  फेरि दुईटा स्याल आउँछन र बालुवालाई सुँघ्दै बीच बीचमा रुकेर यता उता हेर्छन र बयरको  झ्यांगभित्रै पस्छन । टाढा कतै स्याल कराउँछ ।  

एकातिर जहाँसम्म आँखाले भेट्छ , बालुवाको फाँटै फाँट छ । कहीं कहीं मात्र बयरका साना साना झ्यांग छन् । आर्कोतिर हरिया साना साना रुख, झ्यांग र लहराको जंगल छ ।  गाउँबाट मुर्दा लिएर आउनेका निम्ति एउटा कच्ची सडक, जंगल किनारको सानो आँपको बगैंचामा आएर बिलीन हुन्छ । त्यो बगैंचा सायद कुनै मृत आत्माको अभिलाषा पुरा गर्न कुनै बाँचेको मानिसले बनाइदिएको होला । 

त्यहि एकान्त बाटोबाट स्मृतिशुन्य, आत्मा शुन्य, हृदयशुन्य अरुण सुस्तरी लक्ष्यरहित भएझैं अगाडी बढ्दैछ ।  उ आँपको बगैंचामा बास्नासाथ् दुई चारओटा ढुकुर आफ्ना सानसाना पखेटा फटफटाई डराएर भागे ।  

अरुण अगाडी बढ्यो र बालुवा हुँदै  सोझै श्मशानतिर लाग्यो ।  उसको हृदयलाई वेदनाको जालोले यति राम्ररी छोपीदिएको थियो कि हृदयमा न पिडा थियो, न जलन थियो ।  न कुनै किसिमको आकांक्षा नै ।  यो श्मशानमा उ किन आयो ? उसलाई नै थाहा छैन, के गर्छ, उ भन्न सक्दैन ।  एक महिनासम्मन लगातार मगजको कोलाहल सुन्दा सुन्दा अब उसको मगजलाई त्यो कोलाहल सुन्न सक्ने शक्ति रहेको छैन, मगज बहिरो भएको थियो ।  घरबाट निस्किंदा यो श्मशानमा आउने पनि उसको इरादा थिएन ।  गोडाले त्यतैतिर ल्यायो ।  उसले गोडालाई बाधा दिएन र घरले खान खोजेको हुनाले उ बाहिर निस्किएको थियो ।  घरमा बस्ता उसलाई सम्झना हुन लाग्छ- त्यो मधुर स्मृति उसका लागि डरलाग्दो भएर आउँछ ।  उ खप्न सक्दैन, अनि बाहिर निस्किन्छ । रुखसंग बेरिएको लताजस्तै, फुलसंग टाँसिएको सुगन्धजस्तै र आँखासंग मिसिएको ज्योतिजस्तै ।  अरुणको जीवनसंग पनि सरीता उनकी पत्नी बेरिएकी, टाँसिएकी र मिसिएकी थिइन ।  यो थिइन भन्ने बिचारले अरुणलाई लगार्छ, एक ठाउँमा बस्न दिंदैन, कुनै कुरा सोच्न दिंदैन ।  

वस्, तीन दिनकी बिरामी।  अनि सरीता छैनन् ।  अरुणलाई लाग्दछ कि त्यो सपना थियो ।  डाक्टर आए गए ।  वैद्य आए गए ।  अनि सरीतासमेत गइन् ।  अरुणले हतबुद्धि भएर उनलाई सुरुसुरु जान दियो ।  आँखाबाट आँशु खसाल्न पनि उसले बिर्सियो ।  मानिसहरु आए, छिमेकीहरु ।  सरितालाई उठाएर तल लागे ।  उ टुल्ल हेरिरह्यो । हरियो बाँसको अर्थि बनाउने काममा सबै लागे ।  आँगनको एक कुनामा सरीता चुपचाप सुतिरहेकी थिइन्- मुख छोपेर ।  एक दिन  राति उनले आफ्नो पतिलाई भनेकी थिइन्, म त मुख छोपेर सुत्नै सक्तिनं अरुण, उकुस मुकुस हुन्छ ।  अहिले पनि उकुस मुकुस बह्यो होला भनेर अरुण आफु बसेको ठाउँबाट उठ्यो र लासनेर गएर सरीताको मुख उघारिदियो । अनि फेरि आफ्नो ठाउँमा बसी तमासा हेर्न लाग्यो ।  यो बाँससंग यी ठुला मानिसहरु के खेल खेल्दै छन् ? उसले बुझ्न सकेन । एकछिनमा अर्थी तयार भयो । सरीतालाई बोकेर त्यसमा राखिदिए । रातो रेशमको लुगाले सारा शरीरलाई छोपेर अबीर, फुल, मालाले सिंगारी सरीतालाई बोकेर लगे । उसले रोकेन, लग्न दियो । जसरी बाँधेको गाईले आफ्नो बाछोलाई बोकेर लग्न लागेको हेरिरहन्छ, त्यसरी नै बाँधिएको अरुणले सरीतालाई लग्न दियो ।    

रोक्नुपर्छ भन्ने पनि उसलाई ज्ञान भएन ।  रोक्न हुन्न भन्ने पनि उसलाई ज्ञान भएन । धेरै बेरसम्म उ त्यहि ठाउँमा बसिरह्यो । अनि सरीतालाई लाग्ने मानिसहरु फर्के । सरीतालाई खान छोडी आयौ भनि उसले सोधेन । किन नफर्काएर ल्याएको भनि उसले सोधेन । उसले सबैलाई टुल्ल हेर्यो मात्रै । अनि उसलाई नुहाउन लगाए, उसले नुहाइदियो । कोठा सफा गरेको उसले हेरिरह्यो ।  एक दुईजना आएर उसलाई सम्झाए पनि । तर उसले बुझ्न सकेन कि उनीहरु किन सम्झाउँदैछन् । 

फेरि सरीता आइनन् । तर अरुणलाई लाग्दैन कि सरीता छैनन् । सरिताको मिठो बोली, जहिले पनि उ सुनिरहन्छ, सपनामा सुनेझैं । उनलाई जहिले पनि देखिरहन्छ- कहिले आँगनमा हिंडेजस्तै, कहिले कोठामा बसेजस्तो र कहिले अरुणनजिकै उभिएजस्तो ।  अरुण ? यो प्रिय परिचित बोलीले मानौं सरीता उसलाई पल्लो कोठाबाट बोलाइराखेकी छिन् । कहिले उ सुन्छ- यो सुहाएन अरुण ।  तिम्रो अनुहारमा कालो टोपी सुहाउँछ । ठीक त्यसैगरि उ सुन्छ, जसरी उसले खैरो टोपी लगाउँदा सरीता भन्दथिइन र लाग्दछ कि सरीता अरुणलाई कालो टोपी लगाइदिंदै छिन् ।  

घरभित्र उ यहि सब सुनिरहन्छ, यहि सब देखिरहन्छ । अनि घरमा बस्नै सक्तैन । आज उसको गोडा श्मशानतिर लाग्यो, उसले लाग्न दियो । उ एकान्त चाहान्थ्यो, एकान्त पायो । यो श्मशानको एकान्त । सुरुसुरु एउटा बालुवाको ढिस्कोमा आएर उ बस्यो । अगाडी नदी बग्दै छ, पारीपट्टि बालुवै बालुवाको फाँट देखिन्छ । सुर्यको पहेंलो किरण अब छैन । सुर्य डुब्यो तर दुनियाँ उज्यालै छ।  

अलि पर सुकेको एउटा बाँस फालिएको थियो र त्यो नजिकै पानी नै निर मुर्दा पोलेको एउटा कालो टाटो थियो । आधा बलेका एक दुइटा दाउराका ठुटाहरु यताउति छारिएका थिए । अरुणलाई लाग्यो यहि त्यो दाउरा हो, जसले उसकी पत्नीलाई खरानी पारिदियो ।  सायद त्यो कालो टाटो पनि त्यहि ठाउँ हो जहाँ सरीताको शरीरले आखिरी स्थान पायो ।   

घुँडालाई हातले बेरेर उ बसेको थियो, बसिरह्यो । ठाउँ ठाउँमा मानिसका हाड छरिएका थिए । कतै खप्पर, कतै पाखुराका हाड र कतै करंग । उसको ध्यान कतै थिएन । एकटकले उ नदी छेउको कालो टाटोलाई हेरिरहेको थियो ।  
अलि अलि गर्दै सन्ध्याको धमिलो चारैतिर फैलियो र एक छिनपछि अँध्यारोले ढाक्यो । आकाशमा छरिएका ताराहरुको प्रतिबिम्ब नदीमा तल्किना लाग्यो । जुन आँपको बगैंचा भएर अरुण आएको थियो, त्यो डरलाग्दो किसिमको कालो भएर धुमधुम्ती उभिएको थियो । अरुण नजिकैको सिमलको बिशाल वृक्षको टुप्पो कालो आकाशमा मिसिएकोले मानौं गगनचुम्बी राक्षसझैं देखियो । कुनै प्रेतात्माले सुसेलेझैं हावा सुसेल्न लाग्यो । एउटा एक्लो स्याल टाढा कतै रोयो ।  

अरुणको हृदयलाई बेरेको बेदनाको जालोले मानौं अचानक हृदयलाई फुक्का गरिदियो । हराएको अरुणले आफुलाई श्मशानमा पायो । त्यो श्मशानमा जहाँ उनकी पत्नीको आत्मा अझै घुम्दै होला, डुल्दै होला । अब पो उसले थाहा पायो कि उसकी पत्नी अब छैनन्- मरिन् । जसलाई उसले आफ्नो छायाजस्तै सधैंको साथि भन्ठानेको थियो । तीनलाई अब उ कहिल्यै भेट्न पाउन्न । उनको परिचित बोली अब उ कहिल्यै सुन्न पाउन्न । उनको शरीरको स्पर्श अब उ कहिल्यै गर्न पाउन्न।  

सपना त हैन ? हैन हैन । यो एकदम सफा बिपना हो । उसको शरीरलाई छोएर अगाडी बढेको हावाको झोका स्पर्श सपनाको जस्तो छैन । नदीको प्रवाहसंग नाचेका ताराहरु सपनाका हैनन् । यो एकोहोरो रोएको स्यालको आवाज बिपनाको हो । यो हुट्टीट्याउँ कराएको बिपनामा हो । अत्यन्त सत्य बिपनामा । र अरुण यो कठोर बिपनामा एक्लो छ ।  

के अब सरीतासंग भेट होला ? अचानक यो एकान्तमा, श्मशानमा, यो डरलाग्दो अँध्यारो रातमा एकपटक सरीतालाई भेट्नका निम्ति उ व्याकुल भयो । मरेको मानिससंग पनि भेट हुन सक्छ, उसले सुनेको थियो । जसरी नभएका देवता बराबर मानिसलाई दर्शन दिइरहन्छन भने सरीतालाई त उसले एक हप्ता पहिलेसम्म देखेको हो । उनको आत्मा ज्युँदै थियो । बोल्दै थियो । हिंड्दै थियो । शरीर पो मर्छ भन्छन, आत्मा त मर्दैन । कतिको मुखबाट उसले सुनेको थियो कि मरेको मानिसको आत्मा छायाको कलेवर लिएर त्यहाँ डुल्दछ जहाँ मर्नुभन्दा पहिले उ मन पराउँथियो । बरु सरीताको छायाको कलेवरसंग नै भेट्न पाए पनि उ सन्तोष हुन्छ ।  

'अरुण' कसैले उसलाई बोलायो । सिमलको रुखको फेदनिरबाट आएको यो चिर परिचित आवाज अरुणले प्रष्ट सुन्यो । जताबाट उसले यो आवाज आएको सुनेको थियो, त्यतै फर्केर हेर्यो । कतै केहि छैन । सिमलको मोटो फेद कालो डरलाग्दो भएर आकाशमा बिलाएको छ । उसले चारैतिर हेर्यो । कतै केहि छैन, कोहि छैन । चारैतिर अन्धकार र आकाशमा तारा । फेरि आवाजलाई कान थापेर उ पर्खियो तर केहि सुनेन । हावा उसको कानमा टकराएकोले एक किसिमको साँइँ साँइँ र भाँइँ भाँइँको आवाजबाहेक अरु केहि थिएन ।  

के उसलाई भ्रम त भएको होइन ? 
अरुण !
फेरि उही आवाज । अहिले अझ प्रष्ट छ । ठिक सरिताले नै बोलाएजस्तो । तर पहिले जहाँबाट आएको थियो, ऐले ठिक त्यसको अगाडी नदीको माझबाट आएको छ ।  
जुन सरीतालाई उसले जिन्दगीभर माया गरेर आयो, जसको निम्ति अहिले उ ब्याकुल छ । उचाहिं बोलाइरहोस् र अरुणचाहिं जवाफ नदियोस् ?
'म यहाँ छु सरीता'- अरुणले कराएर बोल्यो ।  
यो श्मशानको एकान्त अँध्यारोमा उसको आवाज उसैलाई डरलाग्दो लाग्यो । उसले बोलिसकेपछि पो चारैतिर पहिलेको भन्दा बढ्ता चकमन्न छायो । उ डरायो ।  
सिमलको वृक्षमा गिद्ध चटपाटाए । च्याँ गरेर एउटा चारो आकाशमा कराउँदै नदीको पारीतिर गयो ।  बयरको झ्यांगभित्र स्याल हिंडेको खस्याक खुसुकको आवाज आयो ।  आँपको बगैंचामा लाटोकोसेरो करायो ।  

अरुण !
फेरि उही आवाज । सरीताको बोलि सुनेर अरुण डरले काँप्यो । जसको बोली सुन्नलाई उ व्याकुल थियो, उसैको बोली सुनेर उ भयभित भयो ।  
जहाँ उसले उज्यालोमा कालो टाटो देखेको थियो । ऐले देख्यो कि त्यो नदेखिने कालो बिस्तारै सेतो हुँदैछ । आधा बलेका दाउराका ठुटाहरु पनि बिस्तार बिस्तार सेतो हुँदैछन् ।  
र एकछिनमा अरुणले देख्यो कि एउटा मनुष्यको धमिलो छाया त्यो सेतो टाटोमा उभिएको देख्यो । शनै शनै छाया प्रष्ट हुँदै गयो र त्यसले सरिताको रुप लिंदै गयो । अरुणले अब राम्ररी नै सरितालाई चिन्यो । भर्खरै नुहाई सुकिली भएर जसरी उनि सेतो पोशाक लगाएर नुहाउने कोठाबाट निस्किन्थिन, ठिक त्यस्तै सरिता अरुणले आफ्नो अगाडी देख्यो ।  

डराएर अरुण उभियो । सुस्तरी छाया अरुण नजिकै आउँदै थियो ।  
अरुण कालियो । उ दुगुर्दै सडकतिर भाग्यो । बीच बीचमा उ पछि फर्केर पनि हेर्दै थियो । त्यो सरिताको छाया सुस्तरी अगाडी बढ्दै थियो । भाग्नुपर्छ भन्ने बाहेक उसको मगजमा अरु केहि कुरा खेलेको थिएन । आफ्नो पुरा शक्ति लगाएर उ दुगुर्दै थियो । एउटा खप्परमा अल्झिएर उ लड्यो तर झटपट उठेर उ फेरि दुगुर्यो । अब उसले पछि फर्केरसम्म हेरेन । आँपको बगैंचामा पनि उ रुकेन । सडकै सडक उ गाउँतिर दुगुर्दै भाग्यो । स्वाँ स्वाँ भएर उसको मुटु फुट्न लाग्यो तर उ रुकेन ।  भागिरह्यो, दुगुरिरह्यो ।  
वृक्षसंग जोडिएको लताजस्तै, फुलसंग टाँसिएको सुगन्धजस्तै र आँखासंग मिसिएको ज्योतिजस्तै अरुणको जीवनसंग बेरिएकी, टाँसिएकी र मिसिएकी सरीतालाई देखेर अरुण भाग्दैछ, दौड्दै छ । फर्किएर हेर्नेसम्म उसलाई सहास छैन । ('रेडियो नेपालको मुखपत्र 'झन्कार'को विना १ कम्पन ८ मा संस्थापक निर्देशक तारिणीप्रसाद कोइरालाले २००८ सालमा छाप्नुभएको कथा)