• शनिबार, १२ श्रावण, २०८१
  • १०:१९:३१

नेपाली राजनीतिमा भक्तिमार्ग र कृपामार्गको प्रभाव

  • Netizen Nepal
  • बिहीबार, ७ भदौ, २०८०- १७:४०:००/ Thursday 08-24-23

नेटिजन संवाददाता 

काठमाडौँ, ७ भदौ । १८औं सताब्दीबाट विभिन्न कालखण्डमा सामन्ती संस्कार र सामन्ती राज्यसत्ताबाट आक्रान्त हुँदै आएको नेपाल २००७ सालमा नेपाली कांग्रेस पार्टीका संस्थापक विश्वेश्वर प्रसाद कोइरालाको नेतृत्वमा चलेको प्रजातान्त्रिक आन्दोलनमार्फत स्वतन्त्र भयो । अर्थात १०४ वर्षे राना शासन अन्त्य भइ प्रजातन्त्र स्थापना भयो। यो राजनीतिक परिवर्तन नेपाली समाजलाई दासत्व मार्ग र कृपा मार्गबाट उन्मुक्ति दिई अधुनिक समाज निर्माणमा केन्द्रित हुने लक्ष्य रहेको थियो । यसैलाई पछ्याउँदै नेपाली कांग्रेस पार्टीले विक्रम संवत २०१५ सालको आम चुनावमा भाग लिई तत्कालिन संसदमा दुई तिहाई बहुमतबाट विपी कोइरालाको नेतृत्वमा सरकार बनायो । नेपाली समाजलाई दासत्वबाट मुक्त गराउने प्रयास गर्दा गर्दै तत्कालिन राजाशाहिले विक्रम संवत २०१७ पौषमा सत्ताच्युत गर्यो र तत्कालिन संसदमा रहेका पार्टिका नेता, कार्यकर्ता र तत्कालिन प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोईराला लगायत उनका मन्त्रीमण्डलमा रहेका सबै नेताहरूलाई जेलमा राख्यो ।

यो गैर संवैधानिक कदमको एउटै उदेश्य थियो दासत्व, कृपा मार्गी र देवत्वकरण गरि मुलुकको शासन गर्ने राजाको चाहना प्रतिबिम्वित हुन्छ । यो  नेतृत्वमा बस्नेहरूको देवत्व, भक्ती मार्गी, कृपा मार्गीहरूले शासन संचालन, खटन-पटन गर्ने गराउने अभ्यास रहेको थियो भन्दा अन्यथा हुने छैन । यहि २०१७ सालको परिघटना र अभ्यासको सेरोफेरोमा नेपालका नेताहरू पनि चलिरहेको होकी भन्ने शंका आम नेपालीमा रहेको छ । यस्तो प्रवृतिले अर्को दुर्घटना निम्त्याउँछ की भन्ने आम नेपालीमा चिन्ता छ । २०१७ बाट २०४७ सालमा आउँदा न आउँदा राजशाही सत्तालाई खोपामा राख्न नेपालीहरू सफल भए भने अर्को क्रान्ती र हलचलले वर्तमान नेताहरूलाई पनि खोपामा पुर्याउन वेर लाग्ने छैन ।

२१औं शताब्दीको वैश्विक, क्षेत्रीय र राष्ट्रिय नेताहरूको गुणवत्ताहरूको पहिचान-  उनीहरूमा दुरगामी सोच, रचनात्मकता, चारित्रिक स्वच्छता, समता भाव, समानता, समाजप्रति संवेदनशिलता, जनता र समाजको उत्तरदायित्वता वोध हुनेले नै नेतृत्व लिनुपर्ने ठम्माई नेपाली समाजमा थियो र अहिले पनि यथावत छ । राजनितिक नेतामा यो हरफमा उल्लेख गरेका गुणहरू मात्रमा सिमित हुँदैन । समय, परिस्थिती, राजनितीक चेतना र समाजको गतिशिलतामा पनि भर पर्दछ । अहिलेलाई माथि उदृत गरेका गुणवत्ताहरूलाई नै अगाडी सार्दै गर्दा यो पंक्तीकारलाई नेपालका चर्चित गायक शिशिर योगीले गाएको एउटा हरफ यहाँ उल्लेख गर्नु सान्दर्भिक नै होला - “छाडेर काम सारा एक काम रोजीरहेछु ! यो देशमा म एउटा मानिस खोजि रहेछु !!

यो गीतको भावलाई बुझ्ने हरेक नेपाली चाहे त्यो हिमालको होस्, पहाडको होस् चाहे त्यो मधेशको नै किन नहोस् । मुलुकको समृद्धि, समुन्ती र प्रतिष्ठा बढाउन सक्ने नेतृत्वको खोजीमा जनता अनवरत लागिरहेका छन् । त्रेता युगमा ‘भागवान राम’ को भक्ति मार्गमा लागेका भक्त हनुमानलाई सम्झंदै गर्दा हनुमान कली युगका देवता हुने वरदान पाएको कुरा धर्म ग्रन्थहरुमा पढ्न पाइन्छ । यसै उपक्रमलाई पछ्याउँदै नेपालका नेता तथा कार्यकर्ताहरू भक्ति मार्ग, कृपा मार्ग, आरती करण, देवत्वको मार्गमा लागेका त होईन भन्ने आम जनताको बुझाइ रहेको देखिन्छ । 

एसियाली देशका नेताहरूमा छिमेकी देश चीनमा महान कम्युनिष्ट माउसेत्युगले आफ्नो नेतृत्वलाई देवत्वकरण गरेको जस्तो अहिलेको समाजलाई लाग्ने गरेको छ । यसरी नै तत्कालिन सोभियत संघको कम्युनिष्ट सुप्रिमो लेनीनले पनि भक्ती मार्गमा लाग्ने आफ्ना समर्थकलाई आह्वान गरेको जस्तो देखिन्छ । लेनीनले अफ्नो भक्ति मार्गलाई बढाउन र बिस्तार गर्न आफ्नो करिस्मा पुर्वी युरोप, पश्चिमएसियाली देशहरूमा पनि भक्ती मार्गीहरूको जमात खडा गर्न सोभियत रूसको संपुर्ण सामरिक र आर्थिक शक्तीनै लगाएका थिए । दोस्रो विश्व युद्धका जर्मनका शक्तीशाली नेता अल्फ्रेड हिटलरले विश्व विजय गरि आफ्नो भक्ती मार्गीहरूको विस्तार गर्न युद्धको रचना नै गरेका थिए । यी भक्ती मार्गी र देवत्वकरण गर्ने नेताको लामै फेहिरस्त तयार गर्दै गर्दा नेपालका नेताहरूमा पनि आ आफना दल विशेसमा भक्ती मार्गी, भजन मंडली, देवत्वकरण , ठाउं कुठाउंमा आरती गर्ने गराउने कार्यकार्ताहरूको जमातलाईनै संरक्षण र संवर्धन गर्ने को होडनै लागेको छ ।

नेपाली कांग्रेसमा २०४७ को राजनितीक परिवर्तन पश्चात नेताहरू आ-आफ्ना भजन मण्डली, भक्ती मार्गीहरूलाई ठाउँ कुठाउँ क्षमता नै नभएकालाई पनि संरक्षण दिने अनि चुनावमा उम्मेदवार बनाउने र चुनाव जितेपछि तिनीहरूलाई पद दिन कन्दनी कसेर लाग्ने अनि  पैसा दोहनका लागी उद्धत गराउने आम अभ्यास भइरहेको पाईन्छ । यो कुराको छनक र भनक अहिले चर्चामा रहेको भुटानी शर्णार्थी बनाई अबैधरूपमा तेस्रो देश पठाउने प्रपन्चमा लागेका नेताहरूको लहरो तान्दा पहिरो गईरहेको देखिन्छ ।

यसरी नै ललिता निवासको सरकारी जग्गामा दखल गर्ने गराउने प्रपन्चमा लागेकाहरूलाई उन्मुक्ती दिन अनेक प्रकारको जालझेल गरि कृपा मार्गीहरू वचाउन कन्दनी फुकाई नेताहरू लागिरहेको देखिन्छ । त्यसरी नै १०० किलो सुन प्रकरणबाट तानिँदै गएका नेता र यीनका आसेपासेहरूलाई जोगाउन लोक लाजलाई एक छेउ राखेर दलका सुप्रिमोहरू आफैं लागिरहेको सबैको आँखा अगाडी नै छ ।
विक्रम संवत २०६२/०६३ को गणतान्त्रिक आन्दोलनपश्चात् नेपालका वामपन्थी दल विषेशमा भक्ति मार्गी, कृपा मार्गी, देवत्वकरण गरि आरती उतार्नेहरूको लामै फेहरिस्त तयार हुने देखिन्छ । नेपाल कम्युनिष्ट पार्टीमा कुनै पनि पद र पहिचान बनाउन पार्टीको सुप्रिमोलाई देवत्वकरण गर्ने गराउन सक्ने एक मात्र योग्यता भएकाहरूलाई तहगत हुने चुनावहरूमा प्रतिस्पर्धी हुन टिकट पाउने गरेको आम चर्चा रहेको छ । यस अर्थमा क्षमता, योग्यता र सामर्थ्यताको आधारमा होइन, उम्मेदवारको पहिचान र छनौट नेताको भक्तीमा लागेका केवल भक्ती मार्गी, कृपा मार्गी, दसत्व र नेत्रित्यको आरती गर्ने गराउन सक्ने उमेद्वारहरू मात्र सुप्रिमोको नजरमा पर्ने गर्दछ भन्ने आम चर्चा रहेको छ ।

नेपालमा गणतन्त्र र संविधान सभाबाट नेपालको संघिय गणतान्त्रिक संविधान बनाई मुलुकको उत्थान र संमृद्धिमा लागेको नेपाल कम्युनिष्ट पार्टि ( माओवादी केन्द्र)को पनि भक्ती मार्गी र कृपा मार्गीको खोजिमै पार्टिका सुप्रिमो पनि आफैंले अवलम्वन गरेको क्रान्ति मार्ग र सामाजिक दर्शनमार्गको बाटो देखाई आफुलाई देवत्वकरणतिर लैजानेतर्फ अगाडी बढ्दै छन् भन्ने बौद्धिक बुझाई रहेको छ । 

नेपालको संघिय गणतान्त्रिक संविधानमा पहिचानको मुद्दालाई अगाडी बढाउन सफल नेतृत्वदायी मधेशवादी दलमा पनि आफ्नो पहिचान र आफु मात्र नेतृत्वमा स्थापित हुन देवत्वकरणको स्थान पाउन संघर्षरत रहेको देखिन्छ । अतः नेपालका वर्तमानका राजनीतिक दलका नेताहरुमा भक्ति मार्गी, कृपा मार्गी, दासत्व मानसिकता र समय कुसमय नेतागणको आरती गर्न रूचाउनेहरूकै बोलवाला छ भन्नेमा सबै जनता र विद्वत्ववर्ग सहमत छन् भन्ने बुझिन्छ । नेपालका राजनीतिक दलहरूमा देश भक्त र अन्ध राष्ट्र भक्त खुट्याउन जरूरी छ । अन्ध राष्ट्रवादको  हवाले समय समयमा समाजलाई बहकाउने कुरामा नेपालका राजनीतिक दलका नेता कार्यकर्ताहरु तँछाड मछाड गरेकोपाइन्छ।

नेपालमा गणतन्त्रको प्रादुर्भावपश्चात देवत्वकरण र कृपा मार्गीहरूको सृजना पंचायतकालीन कुलिन राजतन्त्रलाई पनि उछिनी रहेको देखिन्छ । जब जब देशमा स्थानीय चुनाव वा संघिय चुनावमा आ-आफ्नो दलबाट प्रतिस्पर्धी उम्मेदवार बनाउन व्यक्ति व्यक्तिसंग पैसा लिने, आफ्नै नातामा परेका र भक्ति मार्गीहरूलाई नै चुनावमा प्रतिस्पर्धी बनाउने गरेको देखिएको छ । अझ आफ्नो दल विशेषमा नियन्त्रण र प्रभुत्व जमाउन पार्टीको विभिन्न पदमा भक्तिमार्गीहरूलाई नै सुप्रिमो र यीनका हुक्केहरूले अगाडी ल्याउन अनेकौं जालझेल प्रपंच गरेको देखिएको छ ।

नेपालका प्रख्यात गायक शिशिर योगीको गीतको पद - 'छोडेर काम सारा, एक काम रोजी रहेछु ! यो देशमा म एउटा मानिस खोजी रहेछु !!'

यो माथिको गीतको पंक्तिलाई पछ्याउने जिम्मा युवापुस्ताको भागमा परेको छ । २१ औं शताब्दीका नेतृत्वदायी भुमिका निर्वाह गर्ने नेताको गुणवत्ताको पहिचान गर्न सक्नु पर्छ । दलका नेताहरूले आफुलाई ‘मालिक ‘ हुँ भन्ने अहम त्याग गरि आफुलाई जन नेताको रूपमा परिवर्तन गर्न सक्नु पर्छ । समाजमा परिवर्तन ल्याउन रचनात्मक सोच, मुलुक र समाज परिवर्तन गर्ने दुरदृष्टि, चारित्रिक स्वच्छता, समाजप्रति समता र समानताको भाव, देश भक्ती र मुलुकको अग्रगमनतर्फ काम गर्न र जिम्मा लिन सक्ने प्रख्यात राज नेताको खोजी आज देखि नै गरौं  र गर्न लगाउनु नै युवाहरूलाई चुनौती छ । गणतन्त्रको संवर्द्धन र संरक्षण गर्ने सक्ने नेता खुट्याउने जिम्मा हाम्रै हो भन्ने भाव र भावनाबाट प्रेरित हुन आम नेपाली र सचेत जनताले आह्वान गरेका छन् ।