• शनिबार, १२ श्रावण, २०८१
  • ०१:०१:१८

बालेन टाइम म्यागेजिनको विश्वका १०० जनाको सूचीमा

  • Netizen Nepal
  • बिहीबार, २८ भदौ, २०८०- १६:३२:००/ Thursday 09-14-23

नेटिजन सम्बाददाता

काठमाडौं, २८ भदौ।  काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह विश्वप्रसिद्ध टाइम म्यागेजिनले प्रकाशन गरेको एक सय प्रभावशाली व्यक्तित्वको सूचीमा पर्नुभएको छ । वि.सं. २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित हुनुभएका उहाँलाई बुधबार सो पत्रिकाको अनलाइन संस्करणले एक सय उदीयमान नेतृत्वको सूचीमा समेटेको हो ।

स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका ३३ वर्षीय प्रमुख साहले यथास्थितिमा मतदाताको भावनालाई सामाजिक सञ्जाल टिकटक, ट्विटर र इन्स्टाग्राम प्रयोग गर्दै आफ्नो पक्षमा पार्न सफल भएको पत्रिकाले उल्लेख गरेको छ ।

गोरखा भूकम्पले तहसनहस गरेको काठमाडौँमा प्रमुख साहले फोहरको राम्रो विसर्जन र सरसफाइ, सुरक्षित पिउने पानीको व्यवस्था, सफा सडक र सहरी विकासका साथसाथै सांस्कृतिक सम्पदाको संरक्षणलगायत सरल प्रतिबद्धता र अभियान गरेर निर्वाचनमा सफल भएको पत्रिकामा जनाइएको छ ।

साथै फोहरको वर्गीकरण गर्न प्रारम्भ गरेको तथा फोहर व्यवस्थापनका लागि सम्झौतामा हस्ताक्षर गरेकोसमेत पत्रिकामा उल्लेख छ । प्रमुख साले सहरका गैरकानुनी भवन भत्काउँदा तथा व्यवस्थापन गर्दा सहरी गरिबमा प्रभाव परेको र आलोचना भएकोसमेत जनाइएको छ । पत्रिकाले विभिन्न क्षेत्रमा एक सय उदीयमान व्यक्तित्वको सूची प्रकाशन गरेको छ ।