• शनिबार, १५ बैशाख, २०८१
  • ०३:०७:५८

नाङ्गो खुकुरी

  • Netizen Nepal
  • शुक्रबार, १२ माघ, २०८०- १५:५५:००/ Friday 01-26-24

तारिणी प्रसाद कोइराला 
हातमा नाङ्गो खुकुरी लिएको एउटा मानिस सडकको बीचबाट अगाडी बढ्दै थियो । ऊ छिट्छिटो हिंड्दै थियो र उसका हरेक डेग राम्ररी भर परेर हिंड्दै थिए । पाइलाको प्रत्येक चालमा हातको चम्किलो सुकिलो खुकुरी सुर्यको प्रकाशले टलक्क टल्किन्थ्यो, ऊ एक सुरले अगाडि बढ्दै थियो, बढिरह्यो ।  

पेटीमा हिंडिरहेका दुई जना भलाद्मीले ठिङ्ग उभिएर उसलाई हेरे । दुवै जना आश्चर्यचकित भए ।  दुईमध्ये एउटाले भन्यो, “पक्कै पनि यस्ले कसैलाई काट्छ ।”

अर्कोले भन्यो, “आँखा देख्नुभएन ? कस्तो डरलाग्दो थियो । जोसुकै अगाडि परे पनि हानिहाल्लाजस्तो !”
दाजुभाईको झगडा होला”, पहिलोचाहिँ भलाद्मीले अड्कले —“नत्र जस्तुसुकै ठुलो से ठुलो शत्रुलाई पनि मानिस काटिहाल्न सक्दैन ।”
“हो नी हुन त”, समर्थन जनाउँदै दोश्रोले पनि शंका प्रकट गरे; “तर दाजुभाईको झगडा त घरभित्र पो हुन्छ । नछुट्टिंदैमा पो हुन्छ । यति टाढा आएर मार्ने आवश्यकता त पर्दैन । फेरि हत्या सोची बिचारीकन त हुँदैन । एउटा यस्तो क्षणमा मानिस हत्या गर्दछ, जब उसको मगज एक पलको निमित्त शुन्य हुन्छ ।  यत्रो लामो बाटो हिंडेपछि हत्या गर्ने प्रवृत्ति सेलाएर जान्छ, हत्या गर्न सक्तैन ।”
दुवै अगाडि बढे ।  

“त्यसोभए के होला त ?“, पहिलोले सोध्यो, —“अचेल झगडाको सानो बिउले एउटा राष्ट्रको अर्को राष्ट्रसंग लडाइँ हुन सक्छ भने एउटा व्यक्तिगत झगडालाई के को निहुँ चाहिन्छ र ?”, एकछिनपछि उसले फेरि थप्यो, “साहुसंग किन मेल नै गर्दा झगडा भयो होला ? अचेलका पसले पनि त उस्तै टिमुरिया हुन्छन नि ! भन्छन, “लिने भए ले, नभए जा ! तपाईं हामीजस्ता पो काँ झगडा गर्नु भनेर या खुरुक्क लिन्छौं अथवा सुरुक्क अगाडि हिंडिदिन्छौं । तर सबै त्यस्ता हुन्नन् । भन्छन, “यतिमा तैंले दिनैपर्छ । साहु त पानीमरुआ हुन्न भने किन्ने मानिस त किन भैरहन्थ्यो । बस्, के थियो, भनाबैरी हुन्छ, झगडा बढ्छ । आमा, दिदी, बहिनी र यहाँसम्म कि आफ्ना–आफ्ना स्वास्नी मानिस समेतलाई साक्षी राखेर फोहोर गाली गर्न लाग्दछन । यसले भन्यो होला, “हेर साहु धेरै बढेर बोलिस् भने झापड खालास् ।” उस्ले  भन्यो होला, “तँ जाबो लेफराई गरी छिंडीमा बस्ने सिपाही के गरिहल्लास् त !” सिपाहीको भावुकतालाई चोट लाग्यो होला र घरबाट खुकुरी लिएर आयो होला ।  

एकछिन दुवैजना चुप्प लागे ।  दुवै यही घटनाको विषयमा विचार्दै अगाडि बढे । दुवै सोचिरहेका थिए, “त्यो नाङ्गो खुकुरी लिने साहुको पसलमा पुग्यो होला । साहु ग्राहकलाई जिरा मरिच बेच्दै होला । उस्ले केही बेरअगि सिपाहीसंग भएको झगडालाई बिर्सिएको होला । अर्को ग्राहकलाई उत्साहपुर्वक चामल नाप्तै उ भन्ठान्दो होला, “आज त निकै बिक्रि भो । यत्तिकै बिक्रि भो भने खिचा साहु जति धनी हुन कति बेर लाग्छ ? त्यसैबेला ऊ अगाडि नाङ्गो खुकुरी लिएको मानिसलाई उभिएको देखेर तर्सियो होला ।  उस्ले भाग्ने प्रयत्न अवश्य गर्यो होला । तर भाग्नुभन्दा पहिले नै —दुवैजना हिंड्दा–हिंड्दै ट्याक्क रुके ।  दुवैले एक पटक भने, “हैन पुलिसलाई खबर गर्नुपर्छ ।” अनि दुवै पुलिस अड्डातिर लागे ।  
पानको पसलमा उभिएका दुईजना नवयुवकहरु नाङ्गो खुकुरी लिएर जाने मानिसलाई देखेर झस्किए ।  एउटा कहिलेकाहीं कविता बनाउने गर्दथ्यो, अलि भावुक थियो । उस्ले भन्यो, “त्यो कस्ती निर्दयी रहिछ, उस्ले त्यो प्रेमीको हृदयको कदर नगरी निर्मोही भएर चोट पु¥याइछ ।  
आर्को युवकले भन्यो, “यो सरासर अन्याय हो । मानिसले मानिसलाई मार्ने अधिकार छैन, यो हुन दिनु हुन्न ।

पान पसलेले पान लगाउँदै अलि लापरवाहीसाथ् भन्यो, “कहाँ हजुर, अचेलका आइमाई पनि त उस्तै हुन्छन् नि । एउटालाई जालमा पारेर आर्कोलाई फसाउने कोशिश गर्दछन् । त्यस्तालाई यस्तै गर्नुपर्छ, त्यस्ताले यस्तै भोग्नुपर्छ । कहीं आफ्नो स्वास्नीसंग फसेको नाठोलाई काट्न हिंड्या त होइन ?”   

दोस्रोचाहिँ युवकले भन्यो, “पक्का पनि त्यही हो । लोग्ने मानिस स्वास्नी मानिसलाई हत्तपत्त काटिहाल्न सक्दैनन् ।”
दुई बिरा पान कविलाई दिएर अरु पान लगाउँदै पसलेले भन्यो, “हाम्रो मुलुकमा जार काट्ने चलन अस्तिसम्म पनि त थियो । ऐन फेर्नासाथ् मान्छेको मन कहाँ फेरिन्छ र ?”

कवि यो दृश्य देखेर एक छिन भुलिएको थियो । उस्को मगजमा नानाथरी कुरा खेल्दै थियो । अचानक उस्ले बालकृष्ण शमशेरको ’मुटुको व्यथा’को एउटा पद गएर भन्यो, “—चाहिन्छ बदला खालि, चाहान्छु बदला लिन । यो अवश्य नै बदला लिन गएको हो ।“
“तर हामीले त्यस्तो हुन दिनुहुन्न”, कविको साथीले —जो न्याय र कानुनको भक्त थियो—, भन्यो, “––झलमल्ल घाम लागेका बेला नाङ्गो खुकुरी नचाउँदै एउटा अर्कोलाई काट्न जाओस् र हाम्रो ऐनचाहिँ वाल्ल परेर मुख बाएर तमाशा हेरिरहोस् ? यो कदापि हुन दिनुहुन्न । यस्तो स्वतन्त्रता दियो भने भोलि तिमी हामीलाई काट्न हिंड्छन् ।  

कविले सोच्यो, “त्यो प्रेमीको सुकुमार मुटुमा प्रेमिकाले धोका दिएर ठुलो चोट लगाइदिहोली । कोई चोट खप्न सक्छ, कोई सक्तैन । कोई पागल हुन्छ, कोई जिन्दगीभर रोएर बस्छ । कोई आत्महत्या गर्छ, कोई हत्या गरेर बदला लिन्छ । तेस्रो नजर खोलेर हेर्यौं भने ‘ऐनले या त सबैलाई दण्ड दिनुपर्ने या कसैलाई नदिनुपर्ने । तर हाम्रो ऐन पागललाई सजाय दिन सक्दैन, भन्छ,– बहुलाएछ । जिन्दगीभर रोएर बस्नेलाई सजाय दिन सक्तैन, भन्छ—अभागी रहेछ । आत्महत्या गर्नेलाई सजाय दिन सक्तैन, भन्छ—कठै बिचरा अपहत्ते गरेर मरेछ ! तर हत्या गरेर बदला लिनेलाई ऊ सजाय दिन्छ । पागल हुने, रुने, आत्महत्या गर्ने, सबैको कारण एउटै भए पनि सजायचाहिँ पाउँछ पहिल्लो ।  

उसले आफ्नो मित्रसित सोध्यो, ‘भन त, हाम्रो ऐनको कुन दफामा प्रेम नगर्नु भनेर लेखेको छ ? प्रेमको अन्त दुई किसिमको छ, —वियोगान्त र संयोगान्त । संयोगान्त भयो भने त बेसै भयो, तर वियोगान्त भयो भने या त ऊ पागल हुन्छ, या रोएर जिन्दगी काट्छ, या आत्महत्या गर्छ या हत्या गरेर बदला लिन्छ । सबैले त ऐनको नजरले एकैनासको दण्ड पाउनुपर्ने, यसले मात्रै किन दण्ड भोग्नु ? यसले हत्या गरेर बदला लिन सकेन भने पागल हुन्छ, अथवा रोएर जिन्दगी बिताउँछ, या आत्महत्या गर्छ । हत्या गरेर बदला लियो भन्दैमा यसले के बिगार गर्यो ? 

कविका मित्रलाई पसलेले अर्को दुई विडा पान दियो । उसको मुखमा पानको बुजो हुनाले अस्पष्ट आवाजले, हैन, हैन मात्रै भने । दुवै युवक मनमा नाना किसिमका कुरा खेलाउँदै अगाडि बढे ।  

दुवैले सोचे, ‘अब एक छिनमा ऊ आफ्नी प्रेमिकाको घरमा पुग्नेछ । प्रेमिका जवान होली, सुकुमार होली, राम्री होली । यसको आइपुग्ने समय नहुनाले ढुक्क परेर उस्ले आफ्नो छिमेकीलाई झ्यालबाट इसारा गरेर बोलाई कोठामा राखेकी होली । दुवै हाँसी हाँसी प्रेमका कुरा गर्द होलान् । त्यसैबेला यो पुग्छ ।’  

प्रेमिकाले गिजिएर भन्ली, “तिमी मेरो मुटु, तिमि मेरो प्राण !” 
ठुस्किएको अभिनय गर्दै ऊ भन्ला, “म भन्दा ऊ धेरै असल छ, राम्रो छ, धेरै बाठो छ ।” 
प्रेमीको काखमा टाउको राखेर प्रेमिका भन्ली, “उसलाई म माया गर्दिनँ । ऊ बदमासले मलाई साह्रै दुःख दियो, मलाई ठग्यो । ऊ खराब छ, नराम्रो छ, लाटो छ ।” बन्द ढोकामा उभिएर ऊ सुन्ला ।  क्रोधले लात हानेर ढोका खोल्लाः —हातको नाङ्गो खुकुरी...।
दुवै जना हिंड्दा–हिंड्दै ठिङ्ग उभिए ।  कविको मन फिर्यो । दुवैले एकै पटक भने, “हैन पुलिसलाई खबर गर्नुपर्छ ।” 
——र दुवै पुलिस अड्डातिर लागे ।  

चौरस्तामा उभिएको पुलिस, हातमा नाङ्गो खुकुरी लिएर एक सुरले हिंडिरहेको मानिसलाई देखेर अकमक्क पर्यो । एक्लो गएर उसलाई समाती पुलिस अड्डामा लाग्ने उसको हिम्मत भएन । उस्ले सोच्यो, ‘एक पलाको पनि विलम्ब ग¥यो भने एउटा निर्दोषीको प्राण जाने भो ।’ त्यस कारण मद्धत माग्न ऊ उत्तिनै खेर पुलिस अड्डातिर दगु¥यो । ऊ दगुर्दै थियो र सोच्दै थियो कि कस्लाई काट्न ऊ खुकुरी लिएर गएको होला । एक घण्टाअघि डेराबाट ड्युटीमा आउँदा मदनेको घरमा उस्ले झगडाको कोलाहल सुनेको थियो । हल्ला सुनेर सडकभरी पनि मानिस भेला भएका थिए ।  

ड्युटीलाई अबेर भएकाले उस्ले राम्ररी अडिएर कुरा बुझ्न पाएन । ‘फेरि पनि गाली गरिस् भने काट्नेछु बुझिस्, काट्नेछु’सम्म भित्रबाट आवाज आएको उस्ले सुनेको थियो । उस्ले भन्ठानेको थियो, ‘यस्ता यस्ता झगडा त बराबर भैरहन्छ । तर त्यो झगडाको परिणाम यतिसम्म पुग्ला भन्ने उस्ले सोचेको पनि थिएन । ‘अबेर भयो भने मदने काटिन्छ’, उस्ले सोच्यो । ऊ झन् दुगु¥यो ।   

\नून किन्न भनी आएका दुई जना ढाक्रे रित्तो डोको बोकेर घरको गरिबीको कुरा गर्दै लरलर आउँदै थिए । स्वास्नी, छोराछोरीलाई लुगाफाटा किनेर उब्रेको पैसाले पुग्छ पुग्दैन भनी हिसाब गर्दै थियो । एकदम सामुन्ने नाङ्गो खुकुरी लिएर लम्किएर हिंडेको मानिसलाई देखि तर्सिएर उनीहरु हत्तपत्त पेटीमा चढे ।  नाङ्गो खुकुरी लिएको मानिस लम्किंदै अगाडी बढ्यो । ढाक्रेहरुले पेटीबाट फर्किएर उस्लाई क्वारक्वार्ती हेरे ।  
“देखिस् लाटा”, एउटाले भन्यो, —“पक्का पनि यस्ले कसको गर्दन छिनाल्छ । ए रात्तै ! नेपालमा भलाद्मी छन् भन्या त याँ पनि हाम्रा पहाडका जस्ता हुँदा रैचन । जहाँका पनि मान्छे मान्छे नै त हुन् नि ।

अर्को ढाक्रेले भन्यो, “याँका त झन् सफेदी घरमा बस्ने मानिस ढुंगाभन्दा सारा मुटुका हुन्छन् । झन् गरिपलाई भनेपछी त जाँचेर छाड्छन् । देखिनस् हिजो ब्यान टुंडिखेलमा ओइला चढेर भाद्रयाक भुद्रुक्क कुदेको ? उस्का पछि कत्तिका घोडा, कत्तिका नाङ्गेल गाडी (माइकल) दुगुराउँदै थिए । ओइला चढ्नेले उसलाई सलाम बजाउन दुगुर्ने एउटा मानिसलाई; ...बिचराको खप्परबाट रगतको भल बग्यो । झन् उस्लाई नै ओइल चढ्नेले भन्नु नभन्नु भन्यो । त्यतिले पुगेन भनेर हातको सिर्कनुले पो त ठटाउन लाग्यो, ए !” 

एकछिन पछि उस्ले थप्तै भन्यो, “अनि तैं भन् न, त्यो खप्पर फुट्नेलाई झोक नउठोस् ? यस्लाई पनि त्यस्तै कुनै पिर प¥यो होला । यी दर्बारमा बस्ने बाहिर देख्ता मात्तै नौनीका डल्लाजस्ता हुन्छन् । भित्र त...” भन्दै दुवै ढाक्रे अगाडि बढे ।

अर्कोचाहिँ ढाक्रे साथीको कुरा सुनी अचम्म मानी मनमा कुरा गुन्दै हिंड्दै थियो । एकछिन पछि भन्यो, “दरबारभित्रै छिरेर काट्ला त ?”
“किन नकाटोस त ?”, जान्नेसुन्ने गरी अर्को ढाक्रेले भन्यो, “हामीजस्ता पानीमरुवा हुन् त, यी सदरिया हुन्, सदरिया । यहाँका मान्छे हामी तैंले जिमुवालको अगाडि लुत्रे कान लगाएर लात्रिया जस्तो लत्रिंदैनन् । निया भनेपछि जर्नेल होस् कि कर्नेल होस् । 

साथीलाई दोधार पारेर ऊ पनि त्यो खुकुरी लिएर जाने मानिसको बारेमा सोच्न लाग्यो । 

पुलिस अड्डा अगाडी तीनओटा रातो लहरीमा भित्रबाट हतारिंदै बन्दुक बोकेका पुलिसहरु हत्तपत्त चढे । एउटा लहरीमा चढ्ने इन्स्पेक्टरले कराएका अरु दुई लहरीका पुलिसहरुलाई अर्डर दियो; एउटा लहरी रानी पोखरी भएर दरबार स्कुलको पल्लापट्टिबाट भित्र पस्नु र अर्को दरबार स्कुल वल्लापट्टिबाट भित्र पस्नु, हामी सोझै जान्छौं ।  

तीनवटै मोटरले एकै पटक पेटोलको धुवाँ फ्याँक्यो अनि एकै पटक तीनवटै मोटर हुल गरेर चढेका पुलिसहरुलाई निकाल्दै आफ्नो–आफ्नो टुंगोतिर लाग्यो ।  

इन्स्पेक्टर चढेको लहरीमा खबर दिन आउने चौरस्ताको पुलिस मान्छे चिनाउन भनी चढेको थियो ।  लहरीको तेज गति र सडकको दशाले गर्दा चढेका सबै निफनिए र भए ता पनि सबैको नजर भर्खरै उम्किएको हरिण खोज्ने सिकारीका जस्तो टाढा सडकमा परेको थियो ।  
“ऊ त्यही हो”, चौरस्ताको पुलिसले टाढा जान लागेको नाङ्गो खुकुरी लिने मानिसतिर औंलाले देखाएर चिच्यायो । भित्री दृष्टिले इन्स्पेक्टरले लहरीको हुडबाट हेर्दै अर्डर दियो, “अटेन्सन !” सबै पुलिस सतर्क भए । इन्स्पेक्टरले फेरि भन्यो, “पैले टाढैबाट खुकुरी फ्याँक्नलाई भन्नुपर्छ । मानेन भने ब्ल्याक फायर गर्ने अर्डर दिन्छु; त्यसमा पनि मानेन भने जख्मी पारेर समात्नुपर्छ । अर्डर नपाइ फायर नगर्नु ।’

तबसम्म तीनओटै लहरी तीन कुनामा देखिए । नाङ्गो खुकुरी लिने हत्यारा बीचमा थियो । उ छिटछिटो हिंड्दै थियो र उसका हरेक डग राम्ररी भर परेर हिंड्दै थिए । हरेक पाइलाको चालमा उसको हातको चम्किलो सुकिलो खुकुरी सुर्यको प्रकाशले टलक्क तल्किन्थ्यो । ऊ एकसुरले अगाडि बढ्दै थियो, बढिरह्यो । एकछिनमा नै तीनओटै लहरी हत्याराभन्दा ५०÷५० गजको फायरका लागि तयारी अवस्थामा रहेको बन्दुक लहरीबाट फत्र्याक फुत्रुक पुलिसहरु उत्रिए र शहर जितेर कब्जा गर्न लागेका सिपाहीजस्ता ठाउँ–ठाउँमा उभिए ।  

हातमा नाङ्गो खुकुरी लिएको मानिस सरासर एउटा पसलभित्र पस्यो । उस्ले पसलेलाई भन्यो, “ए दाइ, यो खुकुरीलाई ठिक्क हुने एउटा सस्तो र बलियो दाप देखाउ त !” ‘खै हेरुँ’ भनेर पसलेले खुकुरी लिएर औंला नाप्यो । पसलभरि दापै दाप मात्र थिए । एउटा झुन्ड्याएको दापलाई निकालेर ग्राहकलाई दिंदै उसले भन्यो, “यसको दुई रुपियाँ । देशी छालाको हैन । विलायाती चमडाको हो ।”  

ऊ अक्मकायो । दाप त राम्रो छ तर दुई रुपियाँ ऊ हाल्न सक्तैन । एक रुपियाँ पर्ने दाप लिए पुगिहाल्यो नि ! एउटा खुकुरी राख्नसम्म त हो नि । दाप नभएको खुकुरी केटाकेटी चलाउँछन्, हात गोडा काट्लान कि भनेर दाप चाहिएको नि ! विलायाती चमडा के कामका लागि चाहियो र ? बरु एक रुपियाँ बच्यो भने स्वास्नीलाई एक गज छिंट लगिदिन्छु, एउटा चोलो हुन्छ ।  

बन्दुक लिएका पुलिसहरु हत्यारा उम्किन लाग्यो भनेर दुगुर्दै पसलतिर लागे ।  (झंकार पाक्षिक पत्रिकाको वीणा १ कम्पन २ बाट। )