• आइतबार, १६ बैशाख, २०८१
  • १०:५५:४९

पार्टीको कार्यविभाजनमा प्रचण्डको परिवारवाद प्रति जनार्दन शर्माको आपत्ति

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले नेताहरुको कार्यविभाजन टुङ्ग्याएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज सम्पन्न स्थायी समिति बैठकले नेताहरुलाई प्रदेशको इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी तोकेको हो । कार्यविभाजनलाई लिएर माओवादीका उपमहासचिव जनार्दन शर्माले असहमति  प्रकट गर्नुभएको छ ।

माओवादीले गण्डकी प्रदेशको इन्चार्जमा सचिव दीनानाथ शर्मा, सहइन्चार्जमा केन्द्रीय सदस्य हरिराज अधिकारी, लुम्बिनीको इन्चार्जमा चक्रपाणि खनाल र सहइन्चार्जमा स्थायी समिति सदस्य कुलप्रसाद केसी, कर्णालीको इन्चार्जमा कालिबहादुर मल्ल तथा सुदूरपश्चिम प्रदेशको इन्चार्जमा उपमहासचिव गिरिराजमणि पोखरेल र सहइन्चार्जमा केन्द्रीय सदस्य बीना मगरलाई तोकिएको छ।  

कोशी प्रदेशको इन्चार्जमा हरिबोल गजुरेल र सहइन्चार्जमा साबित्रीकुमारी काफ्ले, मधेसको इन्चार्जमा सचिव लीलामणि पोखरेल र सहइन्चार्जमा स्थायी समिति सदस्य विश्वनाथ साह, बागमतीको इन्चार्जमा उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटालाई तोकेको छ ।

बैठकले प्रवास प्रदेश समिति मध्यपूर्व इन्चार्जमा उपाध्यक्ष पम्फा भुसाल, भारत इन्चार्जमा लक्ष्मण पन्त र सहइन्चार्जमा टिबी पाठक, युरोप–अमेरिका इन्चार्जमा सुरेन्द्रकुमार कार्की तथा विशेष प्रदेश समिति इन्चार्जमा हितमान शाक्य र सहइन्चार्जमा यशोदा सुवेदीलाई तोकेको छ । बैठकले सङ्घीय, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई आ–आफ्नो निर्वाचित जिम्मेवारीअनुसार कार्यरत रहने निर्णय गरेको छ ।

 विधान र एजेन्डाविपरीत पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'का भाइ र बुहारीलाई प्रदेशमा इन्चार्ज तोकिएको भन्दै नेकपा माओवादी केन्द्रका उप-महासचिव जनार्दन शर्माले भने आपत्ति जनाउनुभएको छ।  

बैठकले आगामी चैत १ गतेदेखि गर्ने भनिएको मधेस तराई राष्ट्रिय जागरण अभियान आगामी चैत १५ गतेदेखि गर्ने निर्णय गरेको छ भने   मिटरब्याजी, लघुवित्त समस्याका बारेमा वार्ता भइरहेकाले त्यसलाई सार्थक निष्कर्षमा पुर्याउन सरकारको ध्यानाकर्षण गराएको छ ।