• शनिबार, १५ बैशाख, २०८१
  • ११:३२:१२

ट्रमा सेन्टर बनाउन किन ढिलाई ?

काठमाडौं । कैलालीको लम्कीमा निर्माण हुने भनिएको प्राथमिक ट्रमा सेन्टरको काम जग्गा प्राप्त हुन नसक्दा अघि बढ्न सकेको छैन । चालु आर्थिक वर्ष २०८०/८१ मा स्वास्थ्य पूर्वाधारअन्तर्गत ट्रमा सेन्टर स्थापनाका लागि बजेट विनियोजन गरिए पनि जग्गा प्राप्त हुन नसक्दा आवश्यक प्रक्रिया अघि बढ्न नसकेको सहरी विकास तथा भवन निर्माण कार्यालय कैलालीले जनाएको छ ।

ट्रमा सेन्टर निर्माणका लागि आर्थिक वर्ष २०७८/७९ मा सङ्घीय सरकारको वार्षिक स्वीकृत कार्यक्रमअनुसार रु ५ करोड विनियोजन गरिएको थियो । तर भवन बनाउनका लागि जग्गा प्राप्त हुन नसक्दा उक्त रकम ‘फ्रिज’ भएको थियो ।

सो कार्यालयका सूचना अधिकारी सौरभ कलौनीले लम्कीमा प्राथमिक ट्रमा सेन्टर निर्माणका लागि जग्गा प्राप्त हुन नसक्दा ठेक्का प्रक्रिया अघि बढ्न नसकेको जानकारी दिनुभयो । उहाँले लम्कीमा ५० श्ययाको ट्रमा सेन्टर निर्माणका लागि चालु आवमा ०८०/८१ मा बहुवर्षीय योजनाअन्तर्गत रु ५ करोड बजेट  विनियोजन गरिएको बताउनुभयो ।

उहाँले जग्गाको सुनिश्चितता गर्न स्वास्थ्य कार्यालय र सम्बन्धित पालिकालाई आग्र्रह गर्दै आएको पनि जानकारी दिनुभयो । पूर्व पश्चिम राजमार्गअन्तर्गत चिसापानी–लम्की खण्डमा अत्यधिक दुर्घटना हुने र घाइतेले समयमै उपचार नपाउँदा अकालमै मृत्यु हुने गरेको जनाइएको छ । ट्रमा सेन्टर नहुँदा सामान्य उपचारदेखि आकस्मिक उपचारका लागि यस क्षेत्रका नागरिक नेपालगञ्ज तथा भारत जानुपर्ने बाध्यता रहेको छ ।

यसैगरी सेती प्रादेशिक अस्पतालको आकस्मिक सेवा भवन निर्माणका लागि जग्गाको टुङ्गो लाग्न सकेको छैन् । भवन निर्माणका लागि बजेट विनियोजन भए पनि जग्गाको टुङ्गो नलाग्दा भवन निर्माणको ठेक्का प्रक्रिया अघि बढ्न नसकेको सहरी विकास तथा भवन निर्माण कार्यालयले जनाएको छ । रासस।