• मंगलबार, १८ बैशाख, २०८१
  • ०३:१६:५९

प्रभावकारी बन्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना 

 काठमाडौं । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालनमा आएपछि बाँकेको खजुरामा कृषि बाली तथा मत्स्य उत्पादन बढ्नुका साथै कृषकको जीवन स्तरमा सुधार आएको छ ।

उक्त कार्यक्रमबाट तरकारी खेती गरी खजुरामा किसान आत्मनिर्भर बन्न थालेका छन् । किसानहरू कृषि समूह बनाएर तरकारी पकेट क्षेत्रमा आबद्ध भएका छन् । उहाँहरूले उत्पादन गरेको तरकारी तथा फलफूलले उचित मूल्यसहितको बजार भने नपाएको र ढुवानीको समस्या भएको गुनासो गर्नुभयो  ।

बाँकेको खजुरा गाउँपालिका–३ बी गाउँका कृषक राजकुमार गुरुङले तरकारी बिक्री गर्न भाडाको सवारी साधन खोजेर नेपालगन्ज जानुपर्ने बाध्यता रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘तरकारी उत्पादन राम्रो गरेकाछौं, आम्दानी ठिकै छ तर उत्पादन भएको तरकारी बजारसम्म लैजान ढुवानीको समस्या छ ।’ 

गुरुङले भन्नुभयो,‘बल्लतल्ल ढुवानीको साधन जोहो गरेर तरकारी बजारमा पुर्‍याए पनि व्यापारीलाई कमिसन दिनुपर्ने बाध्यता छ ।’ नेपालगन्जका ठूला तरकारी व्यापारीले भारतबाट तरकारी ल्याउँदा कृषक मर्कामा परेको उहाँको भनाई छ ।

’हामीले उत्पादन गरेको तरकारी अर्ग्यानिक हुन्छन्, सस्तो पनि हुन्छ,’ कृषक गुरुङले भन्नुभयो, ’व्यापारीले भारतबाट ठूलो मात्रामा तरकारी ल्याउँदा स्थानीय  तरकारीले भाउ नपाउने र थोक व्यापारीले लिन नमान्दा किसानले बाध्यताले कमिसन दिनुपरेको उहाँले गुनासो गर्नुभयो ।

तरकारी बिक्री गर्दिन थोक व्यापारीलाई सयकडा  ८ प्रतिशतसम्म कमिसन दिनुपर्ने बाध्यता रहेको कृषकहरूको गुनासो छ । अर्का किसान पदमबहादुर रानाले पनि गुरुङ जस्तो समस्या भोगेको जानकारी दिनुभयो । विगत २७ वर्षदेखि कृषि पेसा गरेका रानाले कृषि फार्म मार्फत तरकारी, फलफूल तथा बेर्ना उत्पादन गर्दे आउनु भएकोछ । रानाले भन्नुभयो,‘तरकारी र फलफूलजन्य वस्तुको उत्पादन गर्छु, घरपरिवार सबै यही पेसामा छौँ आम्दानी राम्रो छ,।’ 

कृषि समूहलाई अन्य सङ्घसंस्थाले पनि प्राविधिक सहयोग गर्दै आएका छन् । पालिकाका विभिन्न वडामा तरकारी पकेट क्षेत्र सञ्चालन गरी अनुदान दिइएको र अझै तीन वर्षसम्म सहयोग गर्ने खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विकले बताउनुभयो ।

उहाँले भारतीय तरकारी आयात रोक्न सके खजुरा क्षेत्रले नेपालगन्जलाई आवश्यक तरकारीको माग पूरा गर्न सक्ने जिकिर गर्नुभयो । कृषि क्षेत्रको विकासका लागि पालिकाले विशेष रणनीतिअनुसार काम गर्दे आएको छ । पालिका अध्यक्ष विकले किसानलाई कृषि क्षेत्रमा आकर्षण गर्ने कार्यक्रम र योजनालाई प्राथमिकता दिएको जानकारी दिनुभयो । खजुरा क्षेत्र तरकारी र कृषि उत्पादन पकेट क्षेत्रका रूपमा विकास हुँदै गएको छ । रेडियो नेपाल।