• आइतबार, ३० असार, २०८१
  • ११:५१:१५

खार्पुबासिको तुइन यात्रा रहर कि बाध्यता ?

 

 काठमाडौं  । कर्णाली नदीमा हालसम्म नयाँ पक्की पुल बन्न नसक्दा स्थानीय बासिन्दा तुइन चढ्न  बाध्यछन् । पूर्वाधार विकास कार्यालय सिमकोटले लालीबगरमा कर्णाली नदीमाथि पक्की पुल निर्माणका लागि निर्माण कम्पनी छनोट गरेको भए पनि निर्माण कम्पनी पक्षले पुल नबनाउदा खार्पुनाथ गाउँपालिकाका ३ वटा वडाका बासिन्दालाई तुइनमा ओहोरदोहोर गर्न बाध्य छन् । 

खार्पुनाथ गाउँपालिका वडा नम्बर १ र २ लाली, प्युस, गोक्पा, देउखुरी, राया र थाली गाउँका सयौँ बासिन्दाले वारपार गर्ने ठाउँमा तुइन छ, न त पक्की पुल बन्न सकेको छ, न त झोलुङ्गे पुल बन्न सकेको छ ।  

स्थानीय वीरसिंह रावलले लालीबगरमा स्थानीयलाई नदी वारपार गर्न तुइन तर्नु पर्दा ज्यान जोखिममा पर्ने गरेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “तुइन नतरे ४ घण्टा लामो बाटो हिँड्नुपर्छ । तुइन चढौ, ज्यान कतिबेला कर्णाली नदीमा खस्ला भन्ने डर छ । हाल तुइन भएको क्षेत्रमा यसअघि झोलुङ्गे पुल भए पनि कर्णाली कोरिडोरको सडक निर्माण गर्ने क्रममा विस्फोट गर्दा सो पुल भत्किएको थियो । 

त्यसपछि गाउँपालिका लट्ठा र तुइन दिएर सो स्थानमा तुइन जडान गरिएको हो । उक्त वडाका वडाध्यक्ष चन्द्र रावलले २ वर्षअगाडि ठेक्का लागेको पक्की पुलको निर्माण कार्य हुन नसक्दा ३ वटा वडावासीले जोखिम मोलेर तुइन तर्नु परिरहेको बताउनुभयो । पक्की पुल निर्माण गर्न निर्माण कम्पनीले २ वर्षअगाडि सम्झौता गरेको भए पनि हालसम्म एक प्रतिशत काम सम्पन्न नभएको वडाध्यक्ष रावलले बताउनुभयो । गोरखापत्रबाट।