• शुक्रबार, २ कार्तिक, २०८१
  • ०७:५७:०७

प्रधानमन्त्रीको तलब कति हुन्छ ? 

काठमाडौं । सोमवार नेकपा एमालेका अध्यक्ष के पी शर्मा ओलीले  राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपालको ४५औँ प्रधानमन्त्रीका रुपमा शपथ लिनुभएको छ । भीमसेन थापालाई आधुनिक नेपालका प्रथम प्रधानमन्त्री मान्दा उहाको यो नियुक्ति ४५ औं प्रधानमन्त्रीको नियुक्ति हो । तर ब्यक्तिको हिसाबले भने नेपालमा अहिलेसम्म ३८ जना प्रधानमन्त्री भएका छन् । के. पी ओली  चौथो पटक प्रधानमन्त्री  बन्नुभएको हो । 

नेपालको संविधानले सरकारको कार्यकारिणी अधिकार मन्त्रिपरिषद्‌मा निहित रहने उल्लेख गरेको छ।  नेपाल सरकारको कार्यविभाजन नियमावली, २०७४ ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विभिन्न ४८ वटा अधिकार प्रदान गरेको छ। संविधानले प्रधानमन्त्री संसद्‍प्रति उत्तरदायी हुने व्यवस्था गरेको छ।

प्रधानमन्त्रीको तलब कति हुन्छ  भन्ने कुरा धेरैको चासो र सरोकारको विषय पनि हो । प्रधानमन्त्रीको तलब र अन्य सुविधाको बारेमा कानूनले व्यवस्था गरेको छ । कार्य सञ्चालन निर्देशिका, २०७७ (आठौँ संस्करण) ले  प्रधानमन्त्रीको मासिक पारिश्रमिक ७७ हजार २ सय ८० रुपैयाँ उल्लेख गरेको छ ।  त्यसमा थप २ हजार रुपैयाँ महँगी भत्ताको पनि व्यवस्था छ । 

प्रधानमन्त्रीले आफ्नो सचिवालयमा ६५ हजार १ सय ४० रुपैयाँ मासिक पारिश्रमिक दिने गरी १ जना प्रमुख स्वकीय सचिव राख्न  पाउँने व्यवस्था छ ।  त्यसबाहेक १ जना स्वकीय सचिव, ३ जना सहस्वकीय सचिव, ६ जना उपस्वकीय सचिव र ५ जना स्वकीय अधिकृत नियुक्त गर्न पाउँछन्। अन्य केही अधिकृत, चालक र कार्यालय सहयोगीसहित प्रधानमन्त्रीले आफ्नो सचिवालयमा बढीमा ३४ जना नियुक्त गर्न सक्छन्।

त्यसैगरी प्रधानमन्त्रीलाई मासिक ३ सय ६ लिटर पेट्रोल र वार्षिक ४० लिटर मोबिल सुविधा उपलब्ध हुन्छ।  सञ्चार सुविधाबापत ५ हजार  रुपैयाँ र मासिक मसलन्द तथा अतिथि सत्कारबापत १० हजार  रुपैयाँ सुविधा प्रधानमन्त्रीलाई मिल्छ । 

देशभित्र यात्राका क्रममा प्रधानमन्त्रीको दैनिक भ्रमण भत्ता ३ हजार रुपैयाँ तोकिएको छ। कानूनमा उल्लेख गरेका सुविधा यी भएता पनि अन्य तरिका र निर्णयबाट प्रधानमन्त्रीले अरु धेरै सुविधाहरु लिने गरेका छन् ।