• बुधबार, २३ असोज, २०८१
  • ११:०८:०८

गणतन्त्र कोरिया द्वारा नेपालका बाढी प्रभावितका लागि सहयोग

काठमाडौं । गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छो थेयलले परराष्ट्रमन्त्री आरजु राना देउवालाई नेपालमा आएको भीषण बाढी र पहिरोले गराएको आर्थिक तथा मानविय क्षति प्रति गहिरो समवेदना सन्देश पठाउँनुभएको छ । परराष्ट्रमन्त्री छोले नेपालमा असोजको दोस्रो साता परेको अविरल वर्षा र बाढी पहिरोका कारण सयौं व्यक्तिहरुले ज्यान गुमाएको दुःखद घटनाको बारेमा थाहा पाउँदा आफू स्तब्ध र दुःखी भएको उल्लेख गर्नुभएको छ ।

उहाँले मृतकहरु प्रति गहिरो समवेदनाका साथै शोकसन्तप्त परिवार र घाइतेहरु प्रति कोरिया सरकारको तर्फबाट सहानुभुती प्रकट गर्नुभएको छ । बाढीपीडितका लागि आवश्यकतामा आधारित भएर कोरिया सरकार र कोरियाली जनताले आफ्नो क्षमता अनुसार सहयोग गर्न तयार रहेको उहाँले उल्लेख गर्नुभएको छ । 

गणतन्त्र कोरिया राष्ट्रिय रेडक्रसले नेपालमा हालै आएको बाढी र पहिरोबाट प्रभावितलाई सहयोग गर्न नेपाल रेडक्रस सोसाइटीमार्फत  एक करोड रुपैयाँ  उपलब्ध गराएको छ। रेडक्रसले २ अक्टोबरबाट राष्ट्रव्यापी सहयोग सङ्कलन अभियान पनि घोषणा गरेको छ। सङ्कलन भएको रकम नेपाल रेडक्रस सोसाइटीको माध्यमबाट विस्थापित व्यक्तिको आपत्कालीन राहत र प्रभावित क्षेत्रमा पुनःस्थापना कार्यमा खर्च गरिने उल्लेख गरेको छ।

नेपाल र गणतन्त्र कोरियाले दुई देशबीचको कूटनीतिक सम्बन्ध ५०औँ वर्षगाँठको अवसरमा यस वर्ष भरीनै विभिन्न कार्यक्रम आयोजना गर्नुका साथै दुई देशका उच्च तहबाट बधाई सन्देश आदान प्रदान गरेका छन्। गतहप्ता  राष्ट्रपति रामचन्द्र पौडेलले कोरियाका राष्ट्रपति युन सख्यल र कोरियाली जनतालाई हार्दिक बधाई ज्ञापन गर्नुभएको थियो । 

राष्ट्रपति पौडेलले दुई देशबीचको सौहार्दपूर्ण सम्बन्ध पारस्परिक सम्मान र एकअर्काप्रतिको असीम सद्भावमा आधारित घनिष्ट र मैत्रीपूर्ण रहेको उल्लेख गर्नुभएको छ । अर्ध शताब्दी पुरानो द्विपक्षीय सम्बन्धको यात्रामा सन्तोष व्यक्त गर्दै राष्ट्रपति पौडेलले ‘एभरेष्टिङ फ्रेन्डसिप’ भन्ने नाराले सार्थकता पाएको उल्लेख गर्नुभएको छ ।  गत हप्ता अक्टोबर ३ तारिखमा कोरियाली गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति पौडेलले राष्ट्रपति युन सख्यललाई शुभकामना सन्देश पठाएर दुई देशको सम्वन्ध थप प्रगाढ  बन्दै गएकोमा खुसी व्यक्त गर्नुभएको थियो ।