एक बोटबाट ४० के जीसम्म ड्रागन फ्रुट फलाउँने दिलचन बुढाको कथा
- नेटिजन संवाददाता
- सोमबार, १४ श्रावण, २०८१- १४:४०:००/ Monday 07-29-24
काठमाडौं । रुकुम पूर्वका दिलचन बुढाले १६ वर्ष विदेशमा काम गर्नुभयो । विदेशबाट फर्केपछि हाल उहाँ घोराही उपमहानगरपालिका–१८ अकबरेमा ड्रागनफ्रुट खेती गर्दै आउनुभएको छ । बुढासहित ६ जना ड्रागनफ्रुट खेतीमा संलग्न हुनुहुन्छ ।
५६ वर्षीय बुढा १६ वर्ष वैदेशिक रोजगारका क्रममा कतारमा बस्नुभयो । ड्रागनफ्रुट खेतीबाट आफ्नै देशमा मनग्य आम्दानी गर्न पाउँदा उहाँ खुशी हुनुहुन्छ । ड्रागनफ्रुट खेतीबाट सोचेभन्दा बढी आम्दानी गर्न सफल भएको बुढाको भनाइ छ । बजारीकरणको समस्या नहुँदा खेतीतर्फ आकर्षण बढ्दै गएको उहाँले बताउनुभयो ।
‘ड्रागनफ्रुट रातो प्रतिकिलो ४ सय रुपैयाँ तथा सेतो ४ सय ५० रुपैयाँका दरले घरबाटै बिक्री हुने गरेको छ’, उहाँले भन्नुहुन्छ, ‘दैनिकजसो जिल्लाका धेरै ठाउँबाट माग आइरहन्छ, माग आए काठमाडौँ समेत पठाउने गरेको छु ।’
परम्परागत कृषि कर्मबाट उपलब्धी हासिल नभएपछि ड्रागनफ्रुट खेती रोजेको बुढाले बताउनुभयो । करिब ८० लाख रुपैयाँ खर्च गरेर ६ जनाको समूहले ‘दङ्गाली ड्रागनफ्रुट फर्म’ दर्ता गरेर विगत ६ वर्षदेखि २ विघा जमिनमा व्यवसायिक रुपमा खेती गर्दै आउनुभएको छ ।
‘वार्षिक २० लाखदेखि २५ लाख रुपैयाँसम्म कारोबार हुन्छ’, बुढाले भन्नुहुन्छ, ‘२ बिघामा करिब १ हजार ३ सयभन्दा बढी विरुवा रहेका छन्, प्रति विरुवा ३० देखि ४० किलोसम्म उत्पादन हुँन्छ ।’ वार्षिक बचत १५ लाख रुपैयाँसम्म हुने गरेको छ ।’
ड्रागनफ्रुट खेतीबाट पर्याप्त आम्दानी हुन थालेपछि पछिल्लो समय जिल्लामा धेरै किसान त्यसतर्फ आकर्षित भएका छन् । ३/४ वर्षअघिसम्म प्रतिकिलो आठ सय ५० रुपैयाँमा बिक्री हुने गरेको ड्रागनफ्रुटको वर्षेनि मूल्य घट्दै गएको बुढाले बताउनुभयो । उहाँ भन्नुहुन्छ ‘४ वर्षअघिको जस्तै ड्रागनफ्रुट बिक्री हुन्थ्यो भने कमाउन विदेश जानुपर्ने थिएन् । विगतको तुलनामा दोब्बरले मुल्यमा कमी आएको छ ।’
धेरै लगानी गरेर विदेश जाने र स्वदेशमा केही छैन भन्नेका लागि मेहनत गर्न सके ड्रागन खेतीबाट राम्रो आम्दानी लिन सकिन्छ भन्ने बुढा उदाहरण बन्नुभएको छ । अन्य तरकारी, पशुपालनलगायतका कृषि व्यवसायमा मेहनत अनुसारको लगानी हुन नसकेको गुनासो आउने गरेको छ । ड्रागनफ्रुट खेतीमा त्यो समस्या नरहेका अर्का व्यवसायी लालप्रकाश बुढा बताउँनुहुन्छ। उहाँ पनि लामो समय वैदेशिक रोजगारमा रहेका थिए । सधैँ विदेशमा बस्नुभन्दा स्वदेशमा केही गर्ने सोचका साथ सामूहिकरुपमा साथिहरुसँग यो व्यवसाय गरेको उहाँले बताउनुभयो ।
बुढाले भन्नुभयो, ‘दुःख नगरेर कृषिमा आम्दानी हुँदैन । आफैँ खटिएर काम गर्ने हो भने राम्रो आम्दानी लिन सकिन्छ ।’ फर्ममा उत्पादन पनि राम्रो भएको र बिक्रीका लागि घोराही बजारपनि नजिकै रहेकाले आफुलाई बिक्रीका लागि समस्या नभएको उहाँले बताउनुभयो । बुढाले भन्नुभयो, ‘अहिले जिल्लाका विभिन्न ठाउँमा धेरै उत्पान हुन थालेको छ ।’ एकै पटक रोपेपछि लामो समयम्म आम्दानी लिन सकिने र अन्य खेतीको तुलनामा मेहनत पनि कम लाग्ने भएपछि पछिल्लो समय जिल्लामा धेरै किसान ड्रागनफ्रुटको खेतीमा व्यवसायिक रुपमा लागेका छन् ।
सिँचाइका लागि धेरै पानी आवश्यक नपर्ने र पहाडी भिरालो ठाउँमा पनि राम्रो आम्दानी लिन सकिने भएका कारण धेरै किसान पछिल्लो समय ड्रागनखेतीमा लागेका छन् । २ बिघा जग्गाको भाडा वार्षिक ६० हजार रुपैयाँ तीर्ने गरेको उहाँले बताउनुभयो । रासस।