• मंगलबार, १ असोज, २०८१
  • १२:४४:४६

तीजमा ३ लाख बढिले पशुपतिको दर्शन गरे

काठमाडौँ । नेपाली नारीको महान् पर्व हरितालिका (तीज) का अवसरमा पशुपतिनाथ मन्दिरमा करिब तीन लाख भक्तजनले दर्शन एवं पूजा आराधना गरेका छन् । तीन लाख भन्दा बढी भक्तजनले मूल मन्दिरभित्र प्रवेश गरी दर्शन गरेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो । पर्वका अवसरमा शुक्रबार बिहान तीन बजेदेखि नै पशुपतिनाथका चार वटै ढोका खोलिएको थियो ।

बिहान केही बेर झरीले भक्तजनलाई लाममा बस्न असहज भएको थियो । झरी रोकिएपछि धेरै भक्तजन पशुपति क्षेत्र प्रवेश गरी लाम लागेका थिए । तीजका लागि कोषले बाहिरबाट चार वटा लामको व्यवस्था गरेको थियो । पर्वका अवसरमा मूल मन्दिरभित्र करिब छ सय महिला प्रहरीमात्र खटाइएको थियो । कोषले तीजका अवसरमा वर्तालु महिलालाई मात्र प्रवेश गराएको छ ।

धेरैभन्दा धेरै महिला वर्तालुलाई पशुपतिनाथको दर्शन गराउने उद्देश्यले अन्य पुजा तथा विशेष पुजाको रसिद पनि नकाटिएको कोषले जनाएको छ । कोषले हरेक वर्ष पशुपतिको दर्शन तथा पुजालाई व्यवस्थित बनाउँदै गएको जनाइएको छ ।