तेस्रो व्यक्तिको मस्तिष्कमा न्युरालिङ्क चिप प्रत्यारोपण, प्रविधिमा अर्को उपलब्धि
- नेटिजन संवाददाता
- मंगलबार, १ माघ, २०८१- १८:१९:००/ Tuesday 01-14-25
काठमाडौं । विश्वप्रसिद्ध उद्यमी एलन मस्कको ब्रेन-कम्प्युटर इन्टरफेस कम्पनी, न्युरालिङ्कले तेस्रो व्यक्तिको मस्तिष्कमा चिप प्रत्यारोपण गर्न सफल भएको छ। मस्कले लस भेगासमा आयोजित कार्यक्रमका क्रममा यस उपलब्धिको जानकारी दिएका हुन्।
मस्कले भने, "हामीसँग न्युरालिङ्क चिप प्रत्यारोपण भएका तीन जना बिरामी छन् र सबैले सकारात्मक परिणाम देखाइरहेका छन्।"
न्युरालिङ्कले मानिसको स्नायु प्रणालीलाई मेसिनसँग जोड्ने उद्देश्य राखेको छ। पहिलो चिप प्रत्यारोपणको एक वर्षपछि कम्पनीले इलेक्ट्रोडहरूको संख्या बढाउनुका साथै उच्च ब्यान्डविथ र लामो ब्याट्री आयु भएको डिभाइसको विकास गरेको छ। यो वर्ष मात्र २० देखि ३० जना मानिसमा थप परीक्षण गर्ने योजना रहेको मस्कले बताएका छन्।
तेस्रो बिरामीको बारेमा भने थप जानकारी सार्वजनिक गरिएको छैन। तर, अघिल्ला बिरामीका अनुभवहरू सार्वजनिक भएका छन्। दोस्रो बिरामी, जसलाई मेरुदण्डमा चोटका कारण पक्षघात भएको थियो, मस्तिष्कमा चिप प्रत्यारोपणपछि भिडियो गेम खेल्न र थ्रीडी डिजाइन सफ्टवेयर प्रयोग गर्न सक्षम भएका थिए। पहिलो बिरामीले चिपको सहयोगमा भिडियो गेम र चेस खेल्ने अनुभव पनि साझा गरेका थिए।
न्युरालिङ्कको यस प्रगतिले मानिसहरूलाई नयाँ सम्भावनाका ढोका खोल्ने अपेक्षा गरिएको छ। यसैबीच, अन्य धेरै कम्पनी र अनुसन्धान समूहहरूले पनि मस्तिष्क-कम्प्युटर इन्टरफेस प्रविधिमा काम गरिरहेका छन्।
न्यु इङ्ग्ल्यान्ड जर्नल अफ मेडिसिनमा प्रकाशित अध्ययनले मस्तिष्क-कम्प्युटर इन्टरफेसले एएलएस जस्ता गम्भीर रोग भएका बिरामीलाई राम्रोसँग संवाद गर्न मद्दत गरेको देखाएको छ।
अमेरिकी डेटाबेसअनुसार, मस्तिष्क-कम्प्युटर इन्टरफेससँग सम्बन्धित ४५ भन्दा बढी परीक्षणहरू हाल जारी छन्। यसले भविष्यमा मानव र प्रविधिबीचको सम्बन्धलाई अझ नजिक ल्याउने अपेक्षा गरिएको छ।