• शुक्रबार, १८ असोज, २०८१
  • ०४:२७:०१

काठमाडौंमा कोरियाली  सांस्कृतिक कार्यक्रमको रौनक 

 काठमाडौं ।नेपाल र गणतन्त्र कोरियावीच कुट्नितिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको अवसरमा यस वर्षलाई विभिन्न कार्यक्रमको आयोजना गरी  स्वर्णजयन्तीको रुपमा मनाइएको छ ।  यस वर्षको शुरुवातबाट नै नेपालमा रहेको कोरियाली दूतावासले  हरेका महिना कुनै न कुनै नयाँ कार्यक्रम आयोजना  गर्दै आएको छ । यहि शिलशिलामा अक्टोबर २ तारिखमा कोरियाबाट ख्याती प्राप्त कलाकारहरुले काठमाडौंमा सांस्कृतिक प्रस्तुती गरेका छन् । कलाकारहरुलाई  नेपालमा आमन्त्रण गरी  कोरियाका संस्कृती नेपालीमाझ प्रस्तुत गरिएको हो । दूतावास द्वारा आयोजित उक्त साँस्कृतिक कार्यक्रममा आफ्नो सांस्कृतिक प्रस्तुतीका लागि ३ वटा ख्याती प्राप्त टोलीको प्रस्तुती रहेको थियो। कार्यक्रममा कोरियाका विभिन्न संस्कृति र भौगोलिक प्रतिनिनित्व हुने गरी परम्परागत कोरियाली बाजाको प्रयोगका साथै नृत्यहरु प्रस्तुत गरिएको थियो।

 नेपाल आर्मी अफिसर्स क्लबमा आयोजित सांस्कृतिक कार्यक्रममा प्रतिनिधि सभाका  सभामुख देवराज घिमिरेले  प्रमुख अतिथिका रुपमा स्वागत मन्तव्य दिंदै  कुटनितिक सम्बन्ध स्थापनाको ५०औं स्वर्णजयन्तीको अवसरमा नेपाल र कोरियाली नागरिकलाई बधाई दिनु भयो। उहांले कोरियाको तर्फबाट विगत देखिनै नेपालका विभिन्न क्षेत्रहरुमा सहयोग रहंदै आएको प्रशंग जोड्दै उक्त सहयोगका लागि  कोरियाली सरकारलाई धन्यबाद दिनु भयो।

 उक्त कार्यक्रममा कूटनीतिक नियोगका पदाधिकारीहरु, सरकारी तथा विभिन्न संघ संस्थाका पदाधिकारीहरु र नेपालमा बसोवास गर्ने कोरियाली नागगिकहरुको उल्लेख्य उपस्थिती रहेको थियो। स्वागत मन्तब्यका क्रममा नेपालका लागि गणतन्त्र कोरियाका राजदुत पार्क थेयङले नेपालले हाल आर्थिक विकासलाई दिएको प्राथमिकताको प्रसंग जोड्दै यहाँ प्रसस्त पर्यटकीय संभावना रहेको र उक्त संभावना लगानीको अवसर समेत भएको धारणा राख्नुभएको थियो । 

 उहाँले कुटनितिक सम्बन्ध स्थापनाको ५०औं वर्षको यात्राको क्रममा भएका विभिन्न साझेदारी कार्यक्रमको बारेमा आफ्नो सकारात्मक धारण राख्नुभयो। 
नेपाल र गणतन्त्र कोरियाबीचमा १९७४ मे १५ तारिखमा कुटनितिक सम्बन्ध स्थापना भएको हो। विगतका ५० वर्ष दुई देशबीच सम्मान जनक आत्मिय सम्बन्ध तथा जनस्तरको सम्बन्ध पनि सकारात्मक रुपमा अगाडी बढेको छ।