• बिहीबार, १ श्रावण, २०८२
  • ०२:२३:०४

मादीनदी पुलको काम अन्तिम चरणमा

काठमाडौं । मुग्लिन–पोखरा सडकअन्तर्गत तनहुँको दमौलीमा निर्माण हुँदै गरेको मादीनदीमाथिको पुल अन्तिम चरणमा पुगेको छ । व्यास नगरपालिका–४ र ५ जोड्ने मादीनदी पुलको काम तीव्र गतिमा भएसँगै हालसम्म ७१ प्रतिशत सम्पन्न भएको हो । 

पुल निर्माण तीव्र गतिमा प्रभावकारी रूपमा भइरहेको मुग्लिन(पोखरा सडक आयोजना (पूर्वी खण्ड) का इञ्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो । “उक्त पुलमा ६ वटा स्पान हुनेछ । ३ सय १५ मिटर लामो पुल ३ वर्षभित्र सम्पन्न गर्नेगरी निर्माण कम्पनीले सन् २०२२ अगष्ट ११ मा रु. १ अर्ब २१ करोडमा ठेक्का सम्झौता गरेको थियो”, उहाँले भन्नुभयो । 

पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क डिजाइनको उक्त पुल चार लेनको हुनेछ । हाल नदीमाथि रहेको २ लेनको पुल ३७० मिटर लम्बाइको छ । सोही पुलभन्दा करिब ५० मिटरको दूरीमा नयाँ पुल निर्माण भइरहेको इञ्जिनियर पाण्डेले बताउनुभयो ।

“मुग्लिन–पोखरा सडक आयोजनाको पूर्वी खण्डअन्तर्गत आँबुखैरेनीबाट जामुनेसम्म १३ वटा पुल निर्माण सम्पन्न भइसकेका छन् । पूर्वी खण्डअन्तर्गत सडकको काम ८६ प्रतिशत सकिएको छ । आँबुखैरेनी–जामुनेसम्मको ४१.४५ किलोमिटर कालोपत्र सकिएको छ”, उहाँले भन्नुभयो ।

पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । 

विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा सडक ४ लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु.६अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको छ ।

पूर्वी खण्डको ठेक्का म्याद असार २९ गते सकिएको छ । केही काम बाँकी रहेकाले म्याद थपका लागि भौतिक पूर्वाधार मन्त्रालयमा सिफारिस गरिएको पाण्डेले बताउनुभयो । रासस ।