• आइतबार, २३ मङ्सिर, २०८१
  • १०:०५:३१

कांग्रेसबाट कीर्तिपुर नगरप्रमुख उम्मेदवारमा डङ्गोल

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय समितिले कीर्तिपुर नगरपालिकाको रिक्त नगरप्रमुख पदमा कृष्णमान डङ्गोललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।


नेपाली कांग्रेस बागमती प्रदेश संसदीय समितिको  बैठकले डङ्गोललाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको पार्टी प्रदेश कार्यालयका मुख्यसचिव राजु नेपालले  जानकारी दिनुभयो । उहाँ कांग्रेसको कीर्तिपुर नगर कार्यसमिति सभापतिसमेत हुनुहुन्छ । उक्त पदका लागि यही मङ्सिर १६ गते उपनिर्वाचन हुँदैछ ।

पार्टीको विधानअनुसार उपमहानगरपालिका र नगरपालिकाको नगरप्रमुख र उपप्रमुखको टिकट दिने अधिकार प्रदेश संसदीय समितिलाई रहेको छ । समितिमा प्रदेश कार्यसमितिका पदाधिकारी, काठमाडौँबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र काठमाडौँ जिल्ला सभापति सदस्य रहने विधानमा व्यवस्था छ ।

कीर्तिपुर नगरपालिकामा २०७९ सालको निर्वाचनमा कांग्रेसबाट निर्वाचित नगरप्रमुख राजकुमार नकर्मीको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।