• बुधबार, २४ पौष, २०८१
  • ०३:२५:३९

माइक्रोसफ्ट वर्ड कि गुगल डक्स? कुन उपयुक्त ?

काठमाडौं। आजका दिनमा टाइपिङ गर्नका लागि सबैभन्दा लोकप्रिय टुलहरूमध्ये माइक्रोसफ्ट वर्ड र गुगल डक्स प्रमुख मानिन्छन्। यिनले वर्ड प्रोसेसिङमा उत्कृष्ट सुविधा दिएर प्रयोगकर्तालाई सहज बनाइदिएका छन्। तर, दुवै टुलमा के-कस्ता फिचर उपलब्ध छन्, र कुन टुल तपाईंका लागि उपयोगी हुन सक्छ? यसै विषयमा विस्तृत जानकारी प्रस्तुत गर्दैछौँ।


१. फिचर
माइक्रोसफ्ट वर्डलाई एक शक्तिशाली वर्ड प्रोसेसिङ टुल मानिन्छ। यसमा म्याक्रोज, मेल मर्ज, र फोकस मोड जस्ता उन्नत फिचर उपलब्ध छन्। यी फिचरहरूले पेशागत दस्तावेज तयार पार्न वर्डलाई उत्कृष्ट विकल्प बनाउँछन्।

उता, गुगल डक्स सरल र प्रयोगमैत्री टुल हो। यसमा बेसिक फर्म्याटिङदेखि स्पेल चेकिङसम्मका फिचरहरू पाइन्छन्। एड-अनको सुविधा उपलब्ध भएकाले थर्ड-पार्टी एपसँग सजिलै जोडेर थप कार्यक्षमता विस्तार गर्न सकिन्छ। यद्यपि, अत्याधुनिक फिचरको कुरा गर्दा माइक्रोसफ्ट वर्ड अगाडि देखिन्छ।

२. युजर इन्टरफेस
माइक्रोसफ्ट वर्डको इन्टरफेस धेरै फिचर भएको भए पनि केही प्रयोगकर्ताका लागि जटिल लाग्न सक्छ। लामो समयदेखि अफिस एप प्रयोग गर्दै आएकाहरूलाई भने यो इन्टरफेस निकै परिचित र उपयोगी देखिन्छ।

गुगल डक्सको इन्टरफेस भने सरल र सफा छ। सामान्य प्रयोगका लागि चाहिने सबै फिचर समावेश भएकाले नयाँ प्रयोगकर्ताले पनि सजिलै प्रयोग गर्न सक्छन्।

३. फाइल शेयरिङ
दुवै टुलले फाइल शेयरिङको सुविधा प्रदान गर्छन्। माइक्रोसफ्ट वर्डबाट ईमेल, वनड्राइभ वा शेयर पोइन्टमार्फत फाइल साझा गर्न सकिन्छ। ट्रयाक चेन्ज फिचरले फाइलमा भएका परिमार्जनलाई सजिलै थाहा पाउन मद्दत गर्छ।

गुगल डक्समा पनि लिङ्क शेयर गरेर सजिलै फाइल साझा गर्न सकिन्छ। अर्का व्यक्तिले फाइलमा गरेको परिवर्तन रियल टाइममा देख्न सकिने भएकाले कोलाबोरेसनका लागि यो उपयुक्त विकल्प हो।

४. अफलाइन प्रयोग
यदि इन्टरनेटको पहुँच कम छ भने माइक्रोसफ्ट वर्ड उत्तम हुन्छ। अफलाइन मोडमा पनि यसको प्रायः सबै फिचर उपलब्ध हुन्छन्।

गुगल डक्स भने क्लाउडमा आधारित भएकाले अनलाइनमै बढी सहज रूपमा चल्छ। अफलाइन मोडमा सीमित फिचर मात्र प्रयोग गर्न सकिने भएकाले ग्रामीण क्षेत्रमा यो अलि उपयोगी नहुन सक्छ।

५. फाइल फर्म्याट र कम्प्याटिबिलिटी
दुवै टुलमा DOCX, PDF, TXT जस्ता विभिन्न फाइल प्रकार क्रिएट गर्न सकिन्छ। तर, गुगल डक्समा फाइल फर्म्याट बिग्रिने सम्भावना रहन्छ, विशेष गरी जटिल फन्ट वा लेआउट भएका फाइलहरूमा।

यदि तपाईं नेपाली प्रीति फन्टमा टाइप गर्नुहुन्छ भने गुगल डक्समा समस्या आउन सक्छ। युनिकोडमा टाइप गर्न सहज भए पनि विशेष प्रकारका फन्टका लागि माइक्रोसफ्ट वर्ड नै उपयुक्त विकल्प हो।

६. मूल्य र उपलब्धता
माइक्रोसफ्ट वर्ड माइक्रोसफ्ट ३६५को सदस्यतामार्फत प्रयोग गर्न पाइन्छ। वार्षिक सदस्यताको लागि ६९.९९ डलर तिर्नुपर्छ, जसमा १ टीबी वनड्राइभ क्लाउड स्टोरेज पनि पाइन्छ। साथै, एकपटकको भुक्तानीमा लाइफ टाइम सब्स्क्रिप्सन लिने विकल्प पनि छ।

यता, गुगल डक्स व्यक्तिगत प्रयोगका लागि पूर्ण रूपमा निःशुल्क उपलब्ध छ। म्याक, विन्डोज, एन्ड्रोइड र आईओएस सबैमा यो सजिलै प्रयोग गर्न सकिन्छ।
यदि तपाईं अफलाइन मोडमा अत्याधुनिक फिचरहरूको आवश्यकता महसुस गर्नुहुन्छ भने माइक्रोसफ्ट वर्ड उपयुक्त हुनेछ। तर, सजिलो इन्टरफेस र निःशुल्क सेवाको खोजीमा हुनुहुन्छ भने गुगल डक्स रोज्न सक्नुहुन्छ।