सन्दिप लामिछाने क्यानको कारवाहीमा
- नेटिजन संवाददाता
- मंगलबार, ८ माघ, २०८१- १४:४२:००/ Tuesday 01-21-25
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका लेगस्पिनर सन्दीप लामिछानेलाई कारबाही गर्ने निर्णय गरेको छ। क्यानले सामाजिक सञ्जालमा आचारसंहिताविपरीत गतिविधि गरेको ठहर गर्दै लामिछानेलाई तीन डिमेरिट अंक दिएको छ। यसको अर्थ उनले क्यानले आयोजना गर्ने प्रतियोगितामा एक खेल गुमाउनुपर्नेछ।
क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार, म्याच रेफ्री र प्राविधिक समितिको सिफारिसअनुसार लामिछानेलाई कारबाही गरिएको हो। “क्यानको आचारसंहिताको उल्लङ्घन भएको पाइएकाले उनलाई स्पष्टीकरण माग्दै कारबाही गरिएको हो,” प्रवक्ता लामाले जानकारी दिए।
सन्दीपले माघको पहिलो साता सम्पन्न जय ट्रफी एलिट कपमा अम्पायरको निर्णयप्रति असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका थिए। बागमती प्रदेशको कप्तानी गरिरहेका सन्दीपले जनकपुरमा त्रिभुवन आर्मी क्लबविरुद्धको खेलमा अम्पायरको निर्णयप्रति असहमति जनाएका थिए।
खेलको अन्त्यतिर शुभ कंसाकार आउट भएपछि दिनको खेल समाप्त घोषणा गरिएको विषयमा सन्दीपले आपत्ति जनाएका थिए। उनले अम्पायरहरूले गलत निर्णय गरेको र यसले खेलाडीहरूलाई पीडित बनाएको सामाजिक सञ्जालमा उल्लेख गरेका थिए।
म्याच रेफ्री र प्राविधिक समितिको निर्णयपछि सन्दीपलाई तीन डिमेरिट अंक दिँदै एक खेल प्रतिबन्ध लगाइएको हो। कारबाहीपछि सन्दीपले सामाजिक सञ्जालमार्फत आफ्ना समर्थकलाई धन्यवाद दिएका थिए। यद्यपि, कतिपयले सन्दीपले संन्यासको तयारी गरिरहेको अड्कल काटेका थिए। सन्दीपले सामाजिक सञ्जालमा भने, “म व्यक्तिगत कारणले आफ्नो मोबाइल नम्बर परिवर्तन गर्दैछु। केही दिनका लागि ह्वाट्सएप खुला रहनेछ।”
सन्दीपले पछिल्लो समय क्रिकेटमा आफ्नो प्रदर्शन सुधार्ने प्रयास गरिरहेका छन्। उच्च अदालत पाटनबाट बलात्कारको मुद्दामा सफाइ पाएपछि उनले पुरानो लय फर्काउने कोशिस गरेका थिए। तर, हालसम्म मैदानमा उल्लेखनीय प्रदर्शन देखाउन भने सकेका छैनन्। नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सको कप्तानी गरेका सन्दीपको लागि यो प्रतियोगिता अपेक्षाकृत नराम्रो सावित भएको थियो।
क्यानको यो निर्णयले नेपाली क्रिकेटमा नयाँ चर्चा सिर्जना गरेको छ। क्यानले अघि सारेको आचारसंहितालाई खेलाडीहरूले कसरी आत्मसात् गर्छन् भन्ने विषय अब चासोको केन्द्रमा छ।