एउटै नाकाबाट ७ महिनामा साढे ८ अर्बको धान–चामल भित्रियो
-
नेटिजन संवाददाता
- आइतबार, १८ फाल्गुण, २०८१- १२:०२:००/ Sunday 03-02-25

काठमाडौं। वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ७ महिनामा रु ८ अर्ब ६८ करोड मूल्य पर्ने २२ करोड ६४ लाख ८ हजार २ सय २९ किलोग्राम धान आयात भएको छ ।
गत आवको ७ महिनाको तुलनामा चालु आवको सोही अवधिमा धानको आयात ७२ प्रतिशतले वृद्धि भएको हो । गत आवको सोही अवधिमा यो नाका हुँदै रु ४ अर्ब ९१ करोड मूल्य पर्ने १३ करोड १८ लाख ५९ हजार ४ सय १६ किलोग्राम धान आयात भएको थियो ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले चालु आवको ७ महिनामा धान र चामलको आयातमा वृद्धि भएको बताउनुभयो । “गत आवको ७ महिनाको तुलनामा चालु आवको सोही अवधिमा धान–चामलको आयात बढेको देखिन्छ ।”
कृषिप्रधान मुलुक नेपालमा धान मात्र नभएर चामल पनि विदेशी मुलुकबाट आयात हुँदै आइरहेको छ । चालु आवको ७ महिनामा यो नाका हुँदै रु एक अर्ब ३५ करोड मूल्यको एक करोड ३३ लाख ७४ हजार ८ सय २६ किलोग्राम चामल आयात भएको छ ।
जबकि गत आवको सोही अवधिमा भने रु एक अर्ब ६ करोडको ८१ लाख १७ हजार एक सय ३० किलोग्राम चामल आयात भएको थियो । चालु आवको ७ महिनामा रु २ अर्ब ९६ करोड मूल्यको ५ करोड ७७ लाख १४ हजार ५ सय ८३ किलोग्राम मकै आयात भएको छ ।
जबकि गत आवको सोही अवधिमा भने रु २ अर्ब ९७ करोड मूल्य पर्ने ६ करोड ६० लाख ४९ हजार ९ सय ७२ किलोग्राम मकै आयात भएको थियो । गत आवको तुलनामा चालु आवको सोही अवधिमा मकैको आयातमा भने सामान्य गिरावट देखिएको छ ।रासस।