पोखरामा श्रवण–दृष्टिविहीन अन्तर्राष्ट्रिय क्षेत्रीय सम्मेलन शुरु, २२ राष्ट्रका ३ सय ५० बढिको सहभागिता
-
सन्तोष कुमार सुबेदी
- शनिबार, १७ फाल्गुण, २०८१- १९:४३:००/ Saturday 03-01-25

पोखरा । ‘नवप्रवर्तनशील श्रवण–दृष्टिविहीन समावेशीकरण ः शिक्षा, रोजगार र सामुदायिक सहभागिता’ भन्ने मुख्य विषयवस्तुमा आधारित रहेर दृष्टि र श्रवण दुवै क्षमतामा चुनौती भएका व्यक्तिहरूको प्रथम श्रवण–दृष्टिविहीन अन्तर्राष्ट्रिय क्षेत्रीय सम्मेलन पोखरामा सुरु भएको छ ।
उक्त सम्मेलनको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर शाह सुडीले उद्घाटन गर्दै अपांगता व्यक्तिहरुको पक्षमा नेपालको संविधिान, विभिन्न महासन्धी, कानूनी व्यवस्थालाई नेपाल सरकारले पूर्ण कार्यान्वयनमा ल्याउने प्रतिवद्धता व्यक्त गर्नु भयो । मन्त्री सुडीले भन्नु भयो ‘ सरकारले अपांगता भएका व्यक्तिहरुको अधिकार प्रत्याभूत गर्न तीन तहका सरकारबीच समन्वय र सहकार्यमाफर्त काम भैरहेको छ । र यो सम्मेलनले पनि अपांगता व्यक्तिहरुको अधिकार सुनिश्चित गर्न मद्दत पुर्याउने छ । ’
सम्मेलनमा गण्डकी प्रदेशकी सांसद सुनीता थापाले अपांगता भएका व्यक्तिहरुमध्ये पनि अत्यन्तै सिमान्तकृत श्रवणदृष्टि विहीन भएका व्यक्तिहरुको हकहित र अधिकार संरक्षण तथा सम्बद्र्धनका बारेमा संसदमा आवाज उठाउदै आएको बताउनु भयो । त्यसैगरी सेन्स इन्टरनेशनल इन्डियाकी निर्देशक कविता प्रसादले यो सम्मेलनले श्रवणदृष्टि विहीन भएका व्यक्तिहरुको अधिकारका लागि काम गर्न ऊर्जा थपेको र यो सम्मेलन एउटा इतिहास बन्ने बताउनु भयो ।
डेफब्लाइन्ड इन्टरनेशनलका अध्यक्ष मिर्काे बाउरले श्रवणदृष्टि विहीनहरुका लागि धेरै काम गर्न बाँकी रहेको र यो सम्मेलनमा विभिन्न देशका प्रतिनिधिहरुबीचको अनुभव, छलफलबाट आएको निष्र्कष, श्रवणदृष्टि विहीन व्यक्तिहरुको पूर्ण समावेशीकरण, अधिकार प्रवद्र्धन र जीवनस्तर समुन्नत गर्न महत्वपूर्ण हुने विश्वास व्यक्ति गर्नु भयो ।
पोखरामा ३ दिनसम्म संचालन हुने उक्त सम्मेलनको उद्घाटन कार्यक्रममा समावेशी शिक्षाका विज्ञ, अधिकारकर्मीहरुले सम्मेलनको उद्देश्यमाथि प्रकाश पार्दै सम्मेलन श्रवणदृष्टि विहीनहरुले भोग्दै आएका समस्या समाधानका लागि कोशेढुंंगा बन्ने विश्वास व्यक्ति गरे । उनीहरुले अन्य व्यक्ति र अपांगता भएका व्यक्तिबीचको खाडल पुर्न अब प्रविधियुक्त तवरले अगाडि बढ्न आवश्यक रहेको र यसमा सबैले हातेमालो गरेर अघि बढ्न पर्ने धारणा व्यक्त गरेका थिए ।
उद्घाटन सत्रमा नेपाललगायत अन्य राष्ट्रका श्रवणदृष्टि विहीन व्यक्तिहरुले आफ्नो जीवनमा भोगेका कठिनाइका बावजुद हासिल गर्न सकेका सफलताका अनुभवहरु सुनाएका थिए । उनीहरुले अवसर पाए श्रवणदृष्टि विहीन व्यक्तिहरुले असम्भव कार्य गर्न सक्ने बताए । सम्मेलनमा सहभागीहरुले अपांगतामैत्री प्रविधिको विकास, पुर्वाधार, समावेशी शिक्षासम्मको पहुँच र समाजले हेर्ने दृष्ट्रिकोण परिवर्तन गर्न सके श्रवणदृष्टि विहीन व्यक्तिहरुले उदाहरणीय कार्य गर्न सक्ने विचार राखेको थिए ।
सोही अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर शाह सुडीले राष्ट्रिय बहिरा महासंघ नेपालद्धारा प्रकाशित श्रवणदृष्टि विहीनको बारेमा लेखिएका पुस्तकहरुको विमोचन पनि गर्नु भएको थियो ।
नेपाल सहित २२ राष्ट्रका ३ सय ५० भन्दा बढि दृष्टि र श्रवण दुबै क्षमतामा चुनौती भएका श्रवणदृष्टि विहीन व्यक्ति, उनीहरुका परिवार, शिक्षक, अनुसन्धानकर्ता, विज्ञ, अधिकारकर्मी, नीति निर्माता, सरकारी अधिकारी सहभागिता रहेको सम्मेलनमा पहिलो लिन शिक्षा विषयमा २४ वटा कार्यपत्रमाथि छलफल भएको छ ।
डेफब्लाइन्ड इन्टरनेशनल, राष्ट्रिय बहिरा महासंघ नेपाल, नेपाल नेत्रहिन सघ, बहिरा दृष्टि विहीन अभिभावक सघ, श्रवण दृष्टि विहीन सघ नेपाल र सेन्स इन्टरनेशनल इन्डियाको सयूक्त आयोजनामा सुरु भएको यो सम्मेलनमा श्रवणदृष्टि विहीनहरुले भोग्नु परेका चुनौति र उनीहरुको अधिकारको सवालमा विभिन्न देशले गरेका कार्यहरुको अनुभव आदान प्रदान, नबीन विचार निर्माण र अवसरहरु सृजना गर्ने बारे कार्यशालाहरु र छलफल सत्रहरुमा समावेशी शिक्षा, रोजगारजस्ता विषयमा ६८ वटा कार्यपत्रमाथि छलफल गरिनेछ ।
सम्बन्धित् समाचार