• सोमबार, १९ फाल्गुण, २०८१
  • ०८:०१:१०

डेफब्लाइन्ड इन्टरनेशनल क्षेत्रीय सम्मेलन पहिलो पटक नेपालमा

 पोखरा।डेफब्लाइन्ड इन्टरनेशनल क्षेत्रीय सम्मेलन पहिलो पटक नेपालमा सुरु हुदैछ । फागुन १७ गतेबाट पोखरामा सुरु हुने यो सम्मेलनमा नेपाल सहित २० भन्दा बढि राष्ट्रका दृष्टि र श्रवण दुबै क्षमतामा चुनौती भएका श्रवणदृष्टि विहीन व्यक्ति, उनीहरुका परिवार, शिक्षक, अनुसन्धानकर्ता, विज्ञ, अधिकारकर्मी, नीति निर्माता, सरकारी अधिकारी गरी ३ सय जनाको सहभागिता रहने आयोजकले जनाएको छ ।

डेफब्लाइन्ड इन्टरनेशनल, राष्ट्रिय बहिरा महासंघ नेपाल, नेपाल नेत्रहिन संघ, बहिरा दृष्टि विहीन अभिभावक संघ, श्रवण दृष्टि विहीन संघ नेपाल र सेन्स इन्टरनेशनल इन्डियाको सयूक्त आयोजनामा सुरु हुने यो सम्मेलन ३ दिनसम्म चल्नेछ । 

नवप्रवर्तनशील श्रवणदृष्टि विहीन समावेशीकरण शिक्षा, रोजगार र सामुदायिक सहभागिता भन्ने मुख्य विषयबस्तुमा केन्द्रीत रहने सम्मेलनमा श्रवणदृष्टि विहीनहरुले भोग्नु परेका चुनौति र उनीहरुको अधिकारको सवालमा विभिन्न देशले गरेका कार्यहरुको अनुभव आदान प्रदान, नबीन विचार निर्माण र अवसरहरु सृजना गर्ने बारे व्यापक छलफल हुनेछ । 

सम्मेलनमा विश्व डेफब्लाइन्ड इन्टरनेशनल महासंघका अध्यक्ष डा सान्जा टार्चे, श्रवणदृष्टि विहीन सघ नेपालका प्रतिनिधि कृष्णमाया अधिकारी, सेन्स इन्टरनेशनल इन्डियाका संस्थापक निर्देशक लगायत  विश्वभरका प्रतिष्ठित व्यक्तिहरुले श्रवणदृष्टि विहीन अपांगताका सम्बन्धबारे आफ्ना अनुभवहरु बाड्नेछन् । 

सम्मेलनका कार्यशालाहरु र छलफल सत्रहरुमा समावेशी शिक्षा, रोजगारजस्ता विषयमा ६८ वटा कार्यपत्रमाथि छलफल गरिनेछ ।सम्मेलनबारे  जानकारी दिन पोखरामा आयोजना गरिएको पत्रकार सम्मेलनमा श्रवणदृष्टि विहीन संघ नेपालका अध्यक्ष पुष्पराज रिमालले श्रवणदृष्टि विहीनहरुले अझै पनि आधारभूत अधिकारबाट बन्चित रहनु परेको बताउदै यो सम्मलेनले उनीहरुको अधिकार स्थापित गर्न सरोकारवालाहरुको ध्यानकर्षण गर्न सहयोग पुग्ने बताउँनुभयो ।

त्यसैगरी राष्ट्रिय बहिरा महासंघ नेपालकी वरिष्ठ उपाध्यक्ष सत्यदेवी वाग्लेले यो सम्मेलनले श्रवणदृष्टि विहीनहरुको समावेशीता र अधिकारको पैरवीमा मद्दत मिल्ने धारणा राख्नुभयो ।       

सेन्स इन्टरनेशनल इन्डियाका संस्थापक निर्देशक अखिल पाँलले नेपालमा २२ वर्षअघि देखि श्रवणदृष्टि विहीनहरुलाई लक्षित कार्यक्रमको सुरुवात भएको जानकारी दिदै यो सम्मेलनमा नेपालले श्रोतसाधनको अभावको बावजुद पनि कसरी श्रवणदृष्टि विहीनहरुको समावेशी र अधिकारको क्षेत्रमा काम गरेको छ भन्ने कुरा सिक्न पाउने बताउनुभयो । उहाँले भन्नुभयो “यो सम्मेलनमा विकसित राष्ट्र र नेपाल लगायतका अल्पविकसित राष्ट्रले श्रवणदृष्टि विहीनका लागि एक अर्काको सिकाई अुनभव सिक्न र सिकाउन सहयोग हुनेछ ।“

पत्रकार सम्मेलनमा नेपाल नेत्रहिन संघका अध्यक्ष शिशिर खनालले धेरै प्रकारका अपांगतामध्ये पनि श्रवणदृष्टि विहीन व्यक्तिलाई समाज र घरपरिवारले असहयोग गर्ने गरेको बताउदै श्रवणदृष्टि विहीन व्यक्तिले अवसर पाए धेरै राम्रो गर्न सक्ने धारणा राख्नुभयो ।

डेफब्लाइन्ड इन्टरनेशनलका अध्यक्ष मिर्काे बाउरले श्रवणदृष्टि विहीनहरुका लागि धेरै काम गर्न बाँकी नै रहेकाले यो सम्मेलनमा विभिन्न देशका प्रतिनिधिहरुबीचको अनुभव, छलफलबाट आएको निष्कर्ष, श्रवणदृष्टि विहीन व्यक्तिहरुको पूर्ण समावेशीकरण, अधिकार प्रवद्र्धन र जीवनस्तर समुन्नत गर्न महत्वपूर्ण हुने विश्वास व्यक्ति गर्नुभयो ।