नारायणगढ–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्र
-
नेटिजन संवाददाता
- मंगलबार, १९ चैत, २०८१- १०:५२:००/ Tuesday 04-01-25

काठमाडौं । नारायणगढ–बुटवल सडक निर्माण योजनाको पूर्वी खण्डमा ५० किलोमिटर सडक कालोपत्र भएको छ । पूर्वी खण्डको गैँडाकोटबाट दाउन्नेसम्मको ६३ किलोमिटर खण्डमध्ये एकतर्फको ५० किलोमिटर सडक कालोपत्र सम्पन्न भएको योजनाका सूचना अधिकारी शिव खनालले बताउनुभयो।
आउँदो बर्खा अगाडि नै बाँकी १३ किलोमिटर सडकसमेत सम्पन्न गर्ने लक्ष्यअनुसार काम गरिरहेको उहाँले बताउनुभयो । दाउन्ने खण्डमा यात्रीले धेरै सास्ती खेप्नुपरेकाले सो क्षेत्रमा ४ किलोमिटर र घुमाउरो घुम्तीमा ४ किलोमिटर सडक वर्षाअघि नै ढलान गरिने उहाँको भनाइ छ । जसअनुसार ढलानको काम यसै साताबाट सुरु हुने उहाँले जानकारी दिनुभयो ।
एकतर्फी रूपमा पूर्वी खण्डको सबै काम सक्ने लक्ष्यअनुसार अघि बढिरहँदा दोस्रोतर्फको भागमा पनि नियमित काम भइरहेको उहाँको भनाइ छ । 'पहिलो चरणमा एकतर्फी रूपमा यातायात सहज होस् भन्ने हो, यसलाई प्राथमिकता दिएका छौँ, सँगै दोस्रो भागतर्फको काम पनि समानान्तर रूपमा अघि बढिरहेको छ', उहाँले भन्नुभयो ।
२०७५ माघ २४ गते सम्झौता भएर २०७९ साउन २२ गते सडक विस्तारको काम सम्पन्न गर्नेगरी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालि काम सुरु गरेको थियो । नारायणगढ–बुटवल सडकको कुल ११३ किलोमिटरलाई २ खण्डमा विभाजन गरी काम अघि बढाइएको थियो । निर्धारित समयमा काम सम्पन्न नभएपछि २०८१ साउन ८ गतेसम्मका लागि दोस्रोपटक म्याद थप भएको थियो । यस अवधिमा समेत काम सम्पन्न भएपछि गत साउनमा २०८२ साउन ८ गतेसम्मका लागि तेस्रोपटक म्याद थप गरिएको छ । यस अवधिमा पूर्ण रूपमा काम सम्पन्न हुनसक्ने अवस्था टर्दै गएको छ ।
एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा अघि बढेको सडक विस्तार योजनाको दुवै खण्ड गरेर कुल १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार लागत रहेको छ । एक सय १३ किलोमिटर सडकमध्ये ७० किलोमिटर ४ लेन, २९ किलोमिटरमा चार लेनसहित दुवैतर्फ ६-६ मिटरको सर्भिस लेन हुनेछ । दाउन्नेमा १४ किलोमिटर ३ लेनको सडक हुनेछ ।
राजमार्ग विस्तारको महत्त्वपूर्ण योजना समयमा सम्पन्न नहुँदा यात्रुले लामो समयसम्म सास्ती खेप्दै आएका छन् । अहिले कामले गति लिएको र यात्रामा केही सहजता मिल्न थालेको छ । तर अझै पनि दाउन्ने खण्डमा समस्या उस्तै रहेको छ । रासस ।