नातिनीलाई चप्पल हिर्काउँदा हजुरआमालाई ४ वर्ष जेल सजाय!
-
नेटिजन संवाददाता
- शनिबार, ६ बैशाख, २०८२- ०७:५८:००/ Saturday 04-19-25

काठमाडौं । टर्कीकी एक ८० वर्षीया हजुरआमालाई आफ्नी नातिनीलाई चप्पलले हिर्काएको आरोपमा अदालतले ४ वर्ष २ महिनाको जेल सजाय सुनाएको छ। यो घटनाले टर्कीमा मात्र होइन, अन्तर्राष्ट्रिय समुदायको समेत ध्यान खिचेको छ।
घटना दक्षिणपूर्वी टर्कीको डेनिजली सहरको हो, जहाँ आसिये कायटान आफ्नी १८ वर्षीया नातिनी भुरालसँग बस्दै आएकी थिइन्। नातिनीका आमाबाबु छुट्टिएपछि उनको हेरचाह जिम्मा हजुरआमाले लिएकी थिइन्।
तर सन् २०२४ को अगस्त ९ मा यो सम्बन्धमा दरार आयो। कामबाट घर फर्केकी भुराल त्यस रात एक साथीको साथ बाहिर जान खोजिन्। तर सुरक्षाको चासो राख्दै हजुरआमा आसियेले उनलाई रोक्न खोजिन्। त्यसले दुईबीच भनाभन सुरु भयो। जब भुराल ढोका खोल्दै थिइन्, आसियेले उनलाई रोक्ने प्रयासमा चप्पलले हातमा हिर्काइन्।
यो झगडा यहीं थामिएन। आक्रोशित नातिनीले जवाफी प्रतिक्रिया दिँदै हजुरआमामाथि मोबाइल फ्यालिन्, जसले आसियेको टाउकोमा चोट लाग्यो र रगत बग्न थाल्यो। घटनाबाट अत्तालिएकी भुरालले तुरुन्तै एम्बुलेन्स बोलाइन् र हजुरआमालाई अस्पताल पुर्याइन्।
घरेलु झगडाजस्तो देखिएको यो घटनाले कानुनी मोड लियो, जब स्वास्थ्यकर्मीहरूले घटनाको विवरण प्रहरीलाई दिए। प्रहरीले प्रारम्भिक अनुसन्धानपछि मुद्दा अघि बढायो। यद्यपि आसिये र भुराल दुवैले मिलेमतोमा घटना टुंग्याउन चाहेका थिए, सरकारी वकिलले सार्वजनिक मुद्दा दर्ता गरे।
अदालतमा सरकारी वकिलले चप्पललाई 'हतियार' को रूपमा व्याख्या गर्दै आसियेले नातिनीको स्वतन्त्रता हनन गरेको दाबी गरे। नातिनीले आत्मरक्षाका लागि मोबाइल प्रयोग गरेको तर्क पनि पेश गरियो। सो मुद्दामा अधिकतम १४ वर्ष जेल सजायको प्रावधान रहेको छ।
गत फेब्रुअरी २५ मा अदालतले आसियेलाई दुईवटा अभियोगमा दोषी ठहर गर्यो– नातिनीको स्वतन्त्रता हनन गरेकोमा २ वर्ष ६ महिना र हतियारको प्रयोग गरेको आरोपमा थप २ वर्ष ६ महिना कैद सजाय सुनायो। पछि सजाय घटाएर कुल ४ वर्ष २ महिना कायम गरियो।
अहिले आसियेका वकिलले सो सजायविरुद्ध पुनरावेदन गरेका छन्। यदि अदालतले सजाय सदर गर्यो भने आसिये जेल जान बाध्य हुनेछिन्।
"८० वर्षको उमेरमा म जेल जाने? त्यो पनि घरकै चप्पलको कारण?" आसियेले एक अन्तरवार्तामा भनिन्, "मलाई थाहा थिएन, घरको चप्पल पनि कानुनी रूपमा हतियार हुन सक्छ भन्ने। म जेलमा कसरी बस्ला?"
यो घटना केवल कानुनी बहस मात्र नभई, सांस्कृतिक र पारिवारिक मूल्यबीचको द्वन्द्वका रूपमा पनि चर्चा भइरहेको छ। अब टर्कीको पुनरावेदन अदालतको फैसलाले यस घटनाको अन्तिम दिशा दिनेछ।