• शनिबार, ६ बैशाख, २०८२
  • ०९:५१:४६

विश्व सम्पदा दिवस मनाइयो 

काठमाडौं । सम्पदाको संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले अप्रिल १८ तारिखका दिन विश्व सम्पदा दिवस मनाइएको छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था ९युनेस्को० अन्तर्गत रहेका विश्व सम्पदा क्षेत्रको संरक्षण गर्ने उद्देश्यले सन् १९८३ देखि यो दिवस मनाउन थालिएको हो । विश्व सम्पदा सूचीमा हाल नेपालका काठमाडौँ उपत्यकाका सात वटा स्मारकहरु सूचिकृत छन् जस अन्तर्गत वसन्तपुर, पाटन र भक्तपुर दरबार क्षेत्र, चाँगुनारायण, पशुपतिनाथ, बौद्ध, स्वयम्भू पर्दछन् । त्यसैगरी  लुम्बिनी तथा चितवन र सगरमाथा राष्ट्रिय निकुञ्ज पनि उक्त सूचीमा सूचीकृत छन् । यस बाहेक अन्य सम्पदालार्य पनि विश्व सम्पदा सूचीमा राख्नका लागि प्रक्रिया अघि बढायएको छ । 

विश्वसम्पदा दिवसको अवसरमा राजधानीमा सम्पदा पदयात्रा गर्ने देखि अन्य विभिन्न सचेतनामूलक कार्यक्रम गरिएको छ । यस अन्तर्गत पुरातत्व विभाग, काठमाडौँ महानगरपालिका हनुमानढोका दरबार संरक्षण कार्यक्रम, हनुमानढोका दरबार हेरचाह अड्डा, श्री स्वयम्भू संरक्षण तथा व्यवस्थापन महासमिति, नेपाल सम्पदा सङ्घ तथा बागमती प्रदेश हस्तकला सङ्घको आयोजनामा पदयात्रा गर्न गरिएको छ । 

 सम्पदास्थल नजिकै पूर्वाधार निर्माणका काम गर्दा सम्पदा प्रभाव मूल्याङ्कन गर्नुपर्ने भएको छ । यसअघि ठूला आयोजना निर्माण गर्दा वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्ने व्यवस्था थियो । सम्पदा क्षेत्रमा पूर्वाधार निर्माण गर्दा भने सम्पदा प्रभाव मूल्याङ्कन गर्नुपर्ने व्यवस्था गरिएको हो । पूर्वाधार निर्माणले सम्पदास्थलमा क्षति पुग्न थालेपछि सरकारले यस्तो व्यवस्था गरेको हो । पुरातत्व विभागले दुई वर्षअघि सम्पदा प्रभाव मूल्याङ्कन कार्यविधि बनाएको  छ ।  यसैका आधारमा सम्पदा प्रभाव मूल्याङ्कन सुरु भएको भएको पुरातत्व विभागले जनाएको छ ।

 विभागले प्राचीन स्मारक संरक्षण ऐन, २०१३ मा गर्न लागेको संशोधनमा पनि सम्पदा प्रभाव मूल्याङ्कनको विषय पारेको छ । ऐन संशोधन गर्न समय लाग्ने भएकाले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्रीस्तरीय निर्णयबाट दुई वर्षअघि कार्यविधि स्वीकृत गराएर सम्पदा संरक्षणका लागि सम्पदा प्रभाव मूल्याङ्कन सुरु गरिएको हो । कार्यविधिले गरेको व्यवस्थाअनुसार सम्पदा क्षेत्रमा पूर्वाधार निर्माण गर्दा सम्पदा प्रभाव मूल्याङ्कनको प्रतिवेदन पेस गर्नुपर्ने व्यवस्था रहेको छ ।

नेपालमा सम्पदा क्षेत्र धेरै संभावना बोकेको वैभव भए पनि अझै पनि तिनिहरुको व्यवस्थित अभिलेख समेत राख्न सकिएको छैन । सम्पदाको क्षेत्रमा धेरै काम गर्न आवश्यक रहेको देखिए पनि सरकारले यसलाई बजेट तथा कार्यक्रममा प्राथमिकतामा राख्न नसक्दा यसमा उल्लेख्य काम हुन सकेको छैन ।