• शनिबार, ६ बैशाख, २०८२
  • ०७:१३:०९

हिलो र चिप्लोका कारण दाउन्नेमा यातायात सञ्चालनमा समस्या

काठमाडौं । दाउन्ने क्षेत्रको बाटो हिलो र चिप्लो भएका कारण नारायणगढ–बुटवल सडकखण्ड अवरूद्ध भएको छ । बिहिबारको वर्षाका कारण दाउन्ने क्षेत्रमा सवारीसाधन आवतजावत गर्न कठिनाइ भएपछि अहिले यो राजमार्गमा सवारी सञ्चालन गर्न समस्या भएको हो ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा वर्षाका कारणले सडक हिलो भएकाले गाडी उकालो र ओरालोमा चिप्लिएर सञ्चालनमा समस्या भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक यादव ढकालले बताउनुभयो ।

राति ११ देखि बिहान ५ बजेसम्म दाउन्ने सडक बन्द गरेर विस्तारको काम गर्ने गरिए पनि बिहिबार दिउँसोदेखिको जामले सयौँ सवारी बीच सडकमा रहेकाले विस्तारको कामसमेत रोकिने भएको छ ।

अहिले दाउन्ने खण्डमा पहाड काट्ने, पर्खाल लगाउने र कल्भर्ट निर्माणको काम भइरहेको अवस्थामा वर्षाले सडक अवरुद्ध बनाएको हो । दाउन्ने क्षेत्रमा गत वैशाख १ गतेदेखि १५ गतेसम्म राति ११ देखि बिहान ५ बजेसम्म आवागमन रोकेर विस्तारको काम भइरहेको छ । रासस ।