• शनिबार, १३ बैशाख, २०८२
  • ११:२८:५१

१ वर्षमा ८ लाखले  लिए श्रम स्वीकृति

काठमाडौं ।पछिल्लो एक वर्षमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या करिब ८ लाख पुगेको छ ।वैदेशिक रोजगार विभागका अनुसार २०८१ को वैशाखदेखि चैतसम्म ७ लाख ९४ हजार ८४५ जना श्रम स्वीकृति लिएर विदेश गएका छन् ।

त्यसो त अघिल्लो वर्ष चैतदेखि वैशाखसम्म श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको सङ्ख्या ७ लाख ११ हजार ४ सय २३ जना थियो । जुन २०८० भन्दा २०८१ सालमा ८३ हजार ४ सय २२ जनाले बढी हो । 

विभागका अनुसार २०७९ चैतदेखि वैशाखसम्म श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको सङ्ख्या ७ लाख ७३ हजार २४२ हजार थियो । यो तथ्याङ्क हेर्दा पछिल्लो दुई वर्षमा रोजगारीका लागि बिदेशिनेको सङ्ख्या बढेको देखिएको छ । 

विभागका अनुसार यस वर्षको सो अवधिमा सबैभन्दा धेरै चैतमा ७३ हजार ४०३ जना र सबैभन्दा कम असोजमा ५३ हजार ५२५ जना बिदेशिएका छन् ।  २०८१ सालमा नेपाली श्रमिकको पहिलो श्रम गन्तव्य देश संयुक्त अरब इमिरेट्स युएई भएको छ । 

विभागका अनुसार सो अवधिमा ७ लाख ९४ हजार ८४५ जनाले श्रम स्वीकृति लिएकोमा युएईका लागि मात्र करिब २ लाख जनाले श्रम स्वीकृति लिएका छन् । चालु आर्थिक वर्षको ८ महिना फागुन महिनासम्म साढे १० खर्बभन्दा बढी विप्रेषण भित्रिएको छ ।