बालाजु र नागार्जुन नगरपालिकामा मेलम्चीको पानी वितरणका प्रक्रिया सुरु
-
नेटिजन संवाददाता
- शनिबार, ४ जेठ, २०८२- १४:३१:००/ Saturday 05-17-25

काठमाडौं। काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) ले काठमाडौंको बालाजु र नागार्जुन नगरपालिकामा मेलम्चीको पानी वितरणका लागि प्रक्रिया सुरु गरेको छ।
आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) ले काठमाडौं महानगरपालिका-१६ अन्तरगत बालाजु, बसपार्क, चापाकोट, च्याङ्ली, लाजिमपाट, बेलकोटे, शिवपुरी, खोकन तथा नागार्जुन नगरपालिका अन्तरगतको वडा नम्बर १ र २ का कागेश्वरी मनोहरा, नागार्जुन वन, वृन्दावन महादेव लगायतका क्षेत्रमा मेलम्चीको पानी वितरणका लागि प्रक्रिया सुरु गरेको हो।
काठमाडौं उपत्यकामा पानीको आपूर्तिमा थप सुधार गर्न र नागरिकलाई सफा र प्रशोधन गरिएको पानी उपलब्ध गराउने उदेश्यले बालाजु र नागार्जुन नगरपालिकामा मेलम्चीको पानी वितरणका लागि प्रक्रिया सुरु गरिएको आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख टीकाबहादुर चौधरीले जानकारी दिनुभयो ।
‘काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण गर्ने अभियान र मन्त्रीको निर्देशन पश्चात उक्त कार्यका लागि बोलपत्र समेत आह्वान गरेका छौँ। नागरिकलाई सफा र प्रशोधन गरिएको पानी उपलब्ध गराउने हाम्रो उदेश्य हो’ प्रमुख चौधरीले भन्नुभयो ।
वितरण सञ्जाल सुधार कार्य, रिङरोड, बलाजुअन्तरग कुल पाइप लम्बाइ ३ हजार ८ सय ११ मिटर छ। बालाजु ट्यांकीबाट नागरिकलाई सफा र प्रशोधन गरिएको पानी आपूर्ति गरिने काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ।
उक्त सेवा सञ्चालन पश्चात मेलम्ची परियोजनाअन्तर्गत २७० मिलियन लिटर पानी प्रतिदिन काठमाडौंको विभिन्न भागमा आपूर्ति गर्न सकिने अनुमान गरिएको छ। पानी वितरणमा आएको ढिलाइलाई अन्त्य गर्दै आपूर्ति प्रक्रिया व्यवस्थित रूपमा अघि बढाइ उपत्यका भित्रको पानी संकटलाई एक हदसम्म समाधान गर्न मद्दत पुर्याउने खानेपानी मन्त्रालयले जनाएको छ।
उक्त प्रक्रिया सूचारुसँगै काठमाडौं महानगरपालिको बालाजु र नागार्जुन नगरपालिकाका नागरिकहरूले आगामी दिनहरूमा नियमित रूपमा मेलम्चीको प्रशोधित पानी प्राप्त गर्ने छन्।रासस ।