• बुधबार, १५ जेठ, २०८२
  • १२:१५:४०

नीलपत्र उत्पादन तथा प्रयोग विधि सम्बन्धीको  कार्यशाला सम्पन्न

ललितपुर । सम्पदा र संस्कृति को क्षेत्रमा सचेतना तथा क्षमता विकासका काम गर्दै आएको सम्पदा संस्थाले अक्षेश्वर ट्रेडिसनल बुद्धिस्ट आर्ट कलेज सँगको सहकार्यमा आयोजना गरेको नीलपत्र उत्पादन तथा प्रयोगको प्रक्रिया सम्बन्धीको दुई दिने तालिम कार्यशाला  ललितपुरमा सम्पन्न भएको छ । ललितपुरको अक्षेश्वर महाविहारमा यही जेठ १० र ११ गते संचालन भएको उक्त कार्यशालामा ६२ जना सहभागीले भाग लिएका थिए। 

सहभागिहरुलाई निलपत्रको परिचया, यसको उत्पदान प्रक्रिया र प्रयोगको महत्वको बारेमा जानकारी दिदै यसको ऐतिहासिक, धार्मिक तथा  सांस्कृतिक महत्वको बारेमा समेत जानकारी गराइएको थियो । सहभागिहरुलाई नीलपत्रको प्रक्रियागत जानकारी गराइसकेपछि दुई दिनसम्म निलपत्रको पूर्ण अभ्यास समेत गराइएको थियो।  सहभागि सबैले नीलपत्र तयारी र यसमा लेखनको अभ्यास समेत गरेका थिए ।

सहभागिमध्येबाट उत्कृष्ट १० जनालाई पुरस्कृत गरिएको थियो । नीलपत्र एउटा परम्परागत इतिहास बोकेको लेखन को एउटा भरपर्दो र दीर्घकालीन टिकाउ भएको  कागज हो । यसलाई  नेपाली कागजमा कपडासँग जोडेर विशेष खालको प्रविधि मार्फत लेख्न योग्य बनाइन्छ । 

नीलपत्र के हो ? 
नीलपत्र एक परम्परागत, धार्मिक रूपमा महत्त्वपूर्ण र लामो समयसम्म टिक्ने कागज हो । नीलपत्र शब्दको अर्थ ब्लूलिश पेपर हो र यसलाई नेपाल भाषामा “हाकु भो“ भनिन्छ । यो सामान्यतया पाण्डुलिपि बनाउन प्रयोग गरिन्छ । क्वाबहालमा लगभग ९०० वर्ष पुरानो अष्टसहर्षिका प्रज्ञापारमिता निलपत्रा भनिने विशेष लोक्ता÷डाफ्ने÷पाइपरस कागजमा लेखिएको छ ।  
नीलपत्र नेपाली लोक्ता कागज, तामा सल्फेट, र नरम कपडाहरूको मिश्रणबाट बनेको हुन्छ । यसको पहिलो, २ तहका नेपाली कागज  र त्यसपछि नरम कपडाहरू र फेरी नेपाली कागज। कागजलाइ जोडेर बनाइएको हुन्छ । 
कसरी बनाइन्छ 
कपल सल्फेट, अरिक र खयर मिसाएर कालो रंग तयार गरिन्छ । नेपाली कागज र पातलो कपडालाई चामलको पिठो मिसाएर बनाएको माडले जोडिन्छ । त्यसपछि केहि दिन घाम नपर्ने ठाउँमा सुकाइन्छ । यो कागज सुकिसकेपछि शंख वा चिल्लो सतह भएको शुद्ध वस्तुले करिब आधा घण्टा जति वा आवश्यकता अनुसार घोटेर चिल्लो बनाइन्छ । त्यसपछि उक्त कागजमा सुनको मसीले लेखिन्छ ।

यो परम्परादेखि अभ्यासमा रहेको चलन हो । सुनको मसी बनाउँने पनि अलग्गै विधि छ । यो विधिबाट पुराना बौद्ध ग्रन्थहरु लेख्ने गरिएको थियो । ती ग्रन्थहरु अहिले पनि विभिन्न विहार तथा बौद्ध धार्मिक स्थलहरुमा सुरक्षित छन् ।  यस किसिमको विशेष विधिबाट तयार पारिने निलपत्रको बारेमा जानकारी गराउँने र यसको उत्पादन विधि तथा सिप सिकाउने उदेश्यले यो दुई दिने कार्यक्रम आयोजना गरिएको सम्पदाका अध्यक्ष शोभानानी शाक्यले जानकारी दिनुभयो । 

कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै सम्पदाविज्ञ तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव डा. सुरेस सुरस श्रेष्ठले नीपत्रको बारेमा आयोजना गरिएको यो कार्यशाला निकै महत्वपूर्ण रहेको भन्दै निपत्रको अभौतिक सम्पदाको पाटोलाई सूचिकृत गर्ने प्रक्रिया थाल्न समेत आग्रह गर्नुभयो । उहाँले सहभागिहरुलाई यहाँ सिकेको सिपलाई जीवन्त राख्नका लागि अभ्यासमा ल्याँउन समेत आग्रह गर्नुभयो । 
कार्यशालामा भाग लिएका सहभागिहरुले  यो कार्यक्रम निकै उपयोगी भएका बताए । उनिहरुले यस किसिमका कार्यक्रमबाट सम्पदाको संरक्षण संगसंगै नयाँ किसिमको उद्यम समेत विकास गर्न सकिने धारणा राखेका थिए ।