सुदुरपश्चिमको पर्यटन क्षेत्रको संभावना वार्षिक रु.४० अर्बको : एडीबीको रिपोर्ट
-
सन्तोष कुमार सुबेदी
- सोमबार, २६ जेठ, २०८२- ११:५०:००/ Monday 06-09-25

धनगढी । भौगोलिक विटकता र सामाजिक तथा आर्थिक बञ्चितिकरणमा रहेको सुदूरपश्मि प्रदेश समृद्ध पर्यटन अर्थतन्त्रमा रुपमान्तरण हुन सक्ने एशियाली विकास बैंक (एडीबी) को एक अध्ययन प्रतिवेदनले औल्याएको छ ।
नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसंगको सहकार्यमा एडीबीले तयार गरेको “सुदूरपश्चिम एकीकृत आर्थिक र पर्यटन विकास अध्ययन” प्रतिवेदन अनुसार, यो प्रदेशको प्राकृतिक सुन्दरता र सांस्कृतिक सम्पदा अत्यन्त अनुपम रहेको तर पर्यटनको सम्भावना अझैसम्म पूर्णरुपमा उपयोग गर्न नसकिएको अवस्थामा यातायात सञ्जाल,पर्यटकीय गन्तव्यहरु र जनशक्ति क्षमताको विकास लक्षित लगानीद्धारा सुदूरपश्तिमलाई समृद्ध पर्यटन अर्थतन्त्रमा रुपान्तरण गर्न सम्भव छ ।
एडीबीले सार्वजानिक गरेको अध्ययन प्रतिवेदनले पर्यटन विकासका लागि ६ वटा प्राथमिक परियोजनाहरू सिफारिस गरेको छ । तीमध्ये पूर्व–पश्चिम राजमार्ग, सेती राजमार्ग र खुटिया–डिपायल फास्ट ट्र्याकको स्तरोन्नति, खप्तड, शुक्लाफाँटा र रमारोशन ट्रेलको एकीकृत विकास, महाकाली नदी किनारलाई पर्यटकीय शहरको रूपमा विकास, होमस्टे, होटल र गाइड तालिम जस्ता सेवाको विस्तार, पर्यटकीय सूचना केन्द्र, साइनबोर्ड र ट्रेकिङ मार्गको निर्माण तथा महिला, युवा र सीमान्तकृत समुदायको क्षमता अभिवृद्धि प्रमुख छन् ।
अध्ययनले सुदूरपश्चिमको करिब ६० प्रतिशत भूभाग वनले ढाकिएको, विविध जैविक र सांस्कृतिक सम्पदाले भरिएको तथा धार्मिक, साहसिक र मनोरञ्जन पर्यटनको अपार सम्भावना रहेको क्षेत्रको रूपमा चित्रण गरेको छ । हाल सुदूरपश्चिममा वार्षिक रूपमा करिब ५ लाख पर्यटक पुग्ने गरेकोमा, यदि रणनीतिक योजना अनुसार पूर्वाधार, सेवा र गन्तव्यको विकास गर्न सकियो भने यो सङ्ख्या २० लाखसम्म पेर्याउन सकिने र प्रतिवर्ष रु.४० अर्ब सम्मको आम्दानी गर्न सकिने सम्भावना रहेको अध्ययन प्रतिवेदनले देखाएको छ ।
खप्तड राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, रामारोशन, गोडाघोडी ताल, बडीमालिका, सिद्धबाबा, त्रिपुरा सुन्दरी, सेती, कर्णाली, महाकाली नदी र मालाश हिल स्टेशनजस्ता गन्तव्यहरूले सुदूरपश्चिम प्रदेशलाई प्रकृति, संस्कृति र आध्यात्मिकताको संगमस्थलको रूपमा स्थापित गर्न सक्ने स्पष्ट सम्भावना बोकेको उक्त अध्ययनमा उल्लेख छ ।
धनगढीमा आयोजित पर्यटन परामर्श गोष्ठी तथा पूर्व–लगानी र विकास सम्मेलनमा सार्वजनिक गरिएको प्रतिवेदनमा सुदूरपश्चिमलाई समावेशी, दिगो र उच्च मूल्यमा आधारित पर्यटन गन्तव्यका रूपमा विकास गर्न चरणबद्ध योजना प्रस्तुत गरिएको छ । एडीबीका नेपालस्थित राष्ट्रिय निर्देशक आर्नो कोश्वाले उक्त प्रतिवेदन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहलाई हस्तान्तरण गर्दै भन्नुभयो, “यो अध्ययनले सुदूरपश्चिममा कनेक्टिभिटी सुधार, पर्यटकीय गन्तव्यको विस्तार र जनशक्ति विकास जस्ता क्षेत्रहरूमा लक्षित लगानीमार्फत समृद्ध पर्यटन अर्थतन्त्र निर्माण गर्न सकिने देखाएको छ ।”
एडीबीले सार्वजानिक गरेको अध्ययन प्रतिवेदनले पर्यटन विकासका लागि ६ वटा प्राथमिक परियोजनाहरू सिफारिस गरेको छ । तीमध्ये पूर्व–पश्चिम राजमार्ग, सेती राजमार्ग र खुटिया–डिपायल फास्ट ट्र्याकको स्तरोन्नति, खप्तड, शुक्लाफाँटा र रामारोशन ट्रेलको एकीकृत विकास, महाकाली नदी किनारलाई पर्यटकीय शहरको रूपमा विकास, होमस्टे, होटल र गाइड तालिम जस्ता सेवाको विस्तार, पर्यटकीय सूचना केन्द्र, साइनबोर्ड र ट्रेकिङ मार्गको निर्माण तथा महिला, युवा र सीमान्तकृत समुदायको क्षमता अभिवृद्धि प्रमुख छन् ।
प्रतिवेदनमा सुदूरपश्चिमको भारतसँगको सीमावर्ती अवस्थालाई समेत लाभदायक पक्षका रूपमा उल्लेख गरिएको छ । विशेषगरी उत्तराखण्ड र उत्तर प्रदेशजस्ता भारतीय राज्यहरूसँगको भौगोलिक निकटताले धार्मिक, साहसिक र मनोरञ्जन खोज्ने भारतीय पर्यटकलाई सजिलै सुदूरपश्चिम ल्याउन सक्ने अवसर प्रदान गर्छ । त्यसका लागि पूर्वाधार सुधार, सेवा गुणस्तरीकरण, निजी लगानी आकर्षण र प्रवद्र्धन नीति आवश्यक भएको प्रतिवेदनमा जोड दिइएको छ ।
एडीबीका निर्देशक कोश्वाले सुदूरपश्चिमको पर्यटन विकास गर्दा यसको प्राकृतिक सुन्दरता र वातावरणको संरक्षणलाई भविष्यका पुस्ताहरूका लागि कसरी सुनिश्चित गर्ने भन्ने सवाललाई पनि गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिनुभएको छ । उहाँले भन्नुभयो, “सुदूरपश्चिमको विकासमा पर्यावरणीय सन्तुलन र दिगोपन कायम गर्दै अघि बढ्न सके मात्र यो क्षेत्र समृद्धिको यात्रामा अग्रसर हुनेछ ।”
नेपालका अन्य प्रदेशहरूको तुलनामा यो क्षेत्र सामाजिक र आर्थिक रूपले निकै पछि परेको देखिन्छ । यो प्रदेशको प्रति व्यक्ति आय केवल १०६३ अमेरिकी डलरमा सीमित छ भने करिब ४५ प्रतिशत जनसंख्या अझै पनि गरिबीको रेखामुनि जीवन विताउन बाध्य छन् । यहाँको साक्षरता दर पनि राष्ट्रिय औसतभन्दा निकै कम, ६४ प्रतिशत मात्र छ ।
वित्तीय पहुँचको अवस्थामा समेत पछि रहेको यो प्रदेशमा देशभर रहेका बैंक तथा वित्तीय संस्थाका शाखामध्ये केवल ७ प्रतिशत मात्र रहेको तथ्यांकले देखाउँछ । निजी क्षेत्रको लगानी नगण्य छ भने समग्र विकास प्रक्रियामा स्थानीय जनताको सहभागिता अपेक्षित स्तरमा पुग्न सकेको छैन ।
यी बहुआयामिक चुनौतीहरूमाझ, एडीबीको अध्ययन प्रतिवेदनले सुदूरपश्चिमको समृद्धिको मूल आधार पर्यटन विकासमा रहेको औंल्याउदै यसका लागि स्पष्ट रूपमा रणनीतिक पूर्वाधार विकास, मानव स्रोतको अभिवृद्धि, सुशासन र अन्तरसरकारी तथा निजी क्षेत्रको सहकार्यमा आधारित योजना कार्यान्वयन गर्नसके अबको दशकमा नेपालकै नमुना पर्यटन प्रदेश बन्न सक्ने देखाएको हो ।