• शनिबार, १५ बैशाख, २०८१
  • ०२:४६:२९

नाक काट्नु र कपाल काट्नु उस्तै होइन नि !

साँझको बेला । काठमाडौंको व्यस्त शहर । सबै आ-आफनो गन्तब्य पछ्याउन हिंडाइको रफ्तार बढाउँदै थिए । काठमाडौंमा मान्छेहरु हिंड्दैनन्, दौडिन्छन् । झण्डै झण्डै मिनिम्याराथनको गतिमा । यसरी दौडिएर उनिहरु कहाँसम्म पुग्छन् मैले बुझ्न सकेको छैन । 

म पनि त्यहि हुलमा मिसिन पुगें । अब मैले पनि हिंडाईको गतिमा परिवर्तन ल्याउनुपर्ने भयो  । समाज मिल्दो त हुनै पर्यो । म भिड छिचोल्दै आफ्नै रफ्तारमा हिंड्दै थिएँ । एक्कासी एउटा मान्छे ठोक्किन पुग्यो । 
‘आँखा छैन?’, उ जोडले चिच्यायो ।
आँखा उसको थिएन । तर ममाथि प्रश्न तेर्साउँदै थियो । 
उसलाई दिने जबाफ मसंग थिएन । उ मुर्मुरिंदै बाटो लाग्यो ।
आजकालका मानिसहरु जति तनाब भयो त्यति कुदाकुद गर्छन् कि क्या हो ?, मनमनै प्रश्न गरें  । 
मेरो रफ्तार एउटा साँघुरो बाटोको सटरमा पुगेर रोकियो । सटर भित्र ब्युटी पार्लर थियो । मेकअपका सामग्री र गुडियाहरुले ब्युटी पार्लरका भित्ताहरु टनाटन देखिन्थे । राम्री बन्न आएका २-४ जना महिलाहरु मुसुमुसु हाँस्दै आफ्नो साजसज्जामा व्यस्त थिए । म पनि राम्री बन्नै भनेर पार्लर पुगेकी थिएँ । अझ भनौं,मलाई पनि राम्री बन्नु थियो ।  

पार्लरको दिदीसंग मेरो राम्रो चिनजान थियो । मन्द मुस्कान दिंदै उहाँले एकैछिन कुर्न इसारा गर्नुभयो ।  मैले 'हुन्छ'को संकेत गर्दै मुन्टो हल्लाएँ । २० मिनेट कुरेपछि मेरो पालो आयो । 
उही मुस्कानका साथ् दिदीले सोध्नुभयो, 'के गर्ने ?'
'कपाल काट्ने' मैले जवाफ दिएँ ।    
दिदीले एप्रोन लगाइदिंदै सोध्नुभयो, 'कस्तो स्टाइलमा काट्दिउँ  ?'
'थाइकट', मैले जवाफ दिएँ ।  
दिदीका चल्नै लागेको कैंची रोकियो । दिदी झस्किनुभयो ।  
'यति लामो कपाल सबै काट्ने ? उहाँले फेरि प्रश्न गर्नुभयो ।  
'अँ' मैले छोटो उत्तर फर्काएँ ।  
'यति लामो कपाल किन काट्न लागेको ? पछि पछुताउनुपर्ला नि !' उहाँले मलाई सचेत गराउँदै भन्नुभयो ।  
उहाँले त्यहाँ आफ्नो व्यापार हेर्नुभएन । उल्टै कपाल नकाट्न सुझाब पो दिनुभयो ।  
'होइन दिदी, मैले पुरै सोच बिचार गरेर कपाल काट्ने निर्णय गरेकी हुँ । काटिदिनु भए हुन्छ ।', मैले जवाफ दिएँ ।  
वरिपरी बस्ने महिलाहरु पनि कपाल नकाट्न सुझाब दिंदै थिए । उनीहरुको कुरा सुन्दा त के गरौँ के गरौं जस्तो पनि भयो । तर मलाई छोटो कपालमा आफ्नो लुक्स हेर्ने धोको धेरै अगाडीदेखि थियो । त्यसैले उनीहरुको कुरामा बहकिन सकिन ।    

यसभन्दा अगाडी पनि कपाल काट्न जाँदा अरुको कुरा सुनेर धेरै पटक त्यसै फर्किएकी थिएँ । कति पटक त पार्लरको दिदीले नै यति लामो कपाल छोटो हुने गरि काट्न नसक्ने भन्दै फर्काइदिनुहुन्थ्यो । 

'नानी एकपटक फेरी राम्रोसँग विचार गर है', कैची लगाउने बेला फेरि पनि दिदीले भन्नुभयो । 
सायद दिदीको सोचमा पनि हाम्रो समाज र समाजले लगाइदिएको लगामको जरो गाडिएको थियो । त्यसैले त उहाँलाई पनि आफ्नो व्यापार नै कापाल काटेर हुने कुरा थाहा हुँदा हुँदै पनि व्यापारभन्दा बढी त्यहि जरो समाइरहनुभएको थियो । कि, केटी मान्छेले कपाल पाल्नै पर्छ ।  कपाल पाल्नु नै छोरी मान्छे हुनु हो । उहाँले सानै देखि जे सुन्दै, देख्दै र भोग्दै आउनुभयो त्यहि त भन्नुभयो।  

'केहि हुन्न दिदी काटिदिनुस् । पलाउने कुरा न हो, फेरि पलाईहाल्छ,' मैले भने। 
यति भनिसकेपछि दिदीले कपाल काटिदिनुभयो। 
कपाल काटिएसँगै टाउकाको केहि बोझ पनि काटिएजस्तो लाग्यो । रहरसँगै मेरो मन पनि हलुका भयो। 

यसअघि अरु केटिहरूले  कपाल छोटो बनाएर हावामा उडाउँदै हिड्दा रहर नलागेको होइन । तर हिम्मत आएको थिएन । आओस पनि कसरी ? सानैदेखि हुर्काई, बढाई गरेर लामो जो बनाएकी थिएँ । यसरी कपाल काट्नुअघि जुनसुकै केटिहरुले पनि एकपटक त अवश्य नै सोच्छन । तर मैले हजार पटक भन्दा बढी सोचे होला । मैले कपाल काटेपछि दुनियाँले कुरा काट्छन् भन्ने कुरा पनि मनमा नभएको होइन ।  

कपाल काटेर निस्कँदै गर्दा बाटामा केहि चिनेजानेकाहरुले लामो लामो जिब्रो तान्न थाले । 'हेर, त्यति लामो कपाल किन काटेको ?' प्रश्न तेर्सिहाल्थ्यो ।  

कपाल काटेपछि हत्त न पत्त घरमा आमालाई फोन गरें । 
'मैले कपाल काटें नी', आमा छक्क पर्नुभयो ।  
'के भन्छे', आमाको प्रतिक्रिया निकै नै आक्रोशित थियो। 
'काट्दिएं, फेरी पलाईहाल्छ नि कपाल न हो', मैले भनें ।  
आमालाई मैले कपाल काटेकोमा कुनै बिस्मात थिएन समाजको समाजको डर थियो ।  
'समाजले के भन्ला ? शहर बसेर उत्ताउली भैछे भन्छ', उहाँको गनगन सुरु भयो।  
'मेरो टाउको , मेरो कपाल, मेरो मर्जी', मलाई यस्तै लाग्थ्यो ।  
समाजले मेरो कपालमा पनि ध्यान गाढेर बसेको हुन्छ भनेर आजसम्म थाहा थिएन ।  अचम्म लाग्यो ।  

आमाको कुरा सुनेर सोच्न थालें, 'के म साँच्चै उत्ताउली भएँ त ? हिजोसम्म लामो कपाल हुँदा सोझी म रातारात कसरी उत्ताउली भएँ ?' दौडिदै गएर ऐना हेरें ।  म त जस्ताको त्यस्तै थिएँ ।  कपाल मात्र छोटो थियो । फेरि गजक्क परेर एक्लै बोलें, जे होस् केटीलाई सुहाएको छ ।' 

कोठाभित्र बस्दा त आफ्नो छोटो कपालको मनमनै प्रशंसा गर्छु ।  तर आजभोली चिनेको मान्छे भेट्ने हुँदैन ।  प्रश्न गरिहाल्छन्, 'ओहो ! त्यति लामो कपाल काटेको ?'
मुख फोरेर नभन्नेहरुले जिब्रो टोक्छन ।  
प्रश्न गर्ने र जिब्रो टोक्ने सबैलाई त्यहि लाग्छ , कि केटी मान्छेको इज्जत कपालमा हुन्छ ।  जति कपाल काटियो, त्यति इज्जत काटियो ।  नाक काट्नु र कपाल काट्नु उस्तै उस्तै होइन नि । उनीहरुको प्रश्नको जवाफका लागि मैले मेरो काटिएको लामो कपाल झोलामा बोकेर हिंड्ने गरेकी छु । टाउकोमा लार्किने कपाल आजकाल झोलामा लार्किन्छ । कपालमा इज्जत देख्नेहरुलाई म अवश्य पनि त्यो झोला खोलेर देखाउनेछु ।